• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

डिजेलसहित पक्राउ परेकाहरुको रिहाईका लागि प्रदर्शन

डिजेलसहित पक्राउ परेकाहरुको रिहाईका लागि प्रदर्शन

अशोक शर्मा
छिन्नमस्ता, २८ मंसिर ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पेट्रोलियम पदार्थको स्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनामाथि कानूनी प्रक्रिया अघि बढाइने बताए ।

नेपाल–भारत सीमा क्षेत्रमा डिजेलसहित पक्राउ परेकाहरुको समर्थनमा आइतबार दिनभरी सप्तरीको छिनमस्तामा प्रदर्शन भएको छ । पक्राउ परेकाहरुको अविलम्ब रिहाईको माग गर्दै प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय छिनमस्ता घेराउ समेत गरेका छन् ।

विहानैदेखि टायर बालेर प्रदर्शनमा उत्रिएकाहरुले पक्राउ परेकाहरुको रिहाईको पक्षमा चर्को नारावाजी गरेका छन् । प्रदर्शनकारीहरुले प्रहरीविरुद्ध समेत नारावाजी गरेको प्रत्यक्षदर्शीहरुले बताए । प्रहरीका अनुसार नेपाल–भारत अन्तरराष्ट्रिय सीमा क्षेत्रबाट आइतबारै सुरेन्द्र यादव, अरविन्द मण्डल र लालबाबु मण्डललाई डिजेलसहित पक्राउ गरेको थियो । पक्राउ परेका तीनै जना छिन्नमस्ता गाउँपालिकाका स्थानीय बासिन्दा हुन् ।

दुई वटा मोटरसाईकल र एक वटा साईकलमा गरी एक सय लिटर भन्दा बढी डिजल लिएर तीनै जना भारततर्फ गईरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दावी छ । यद्यपी स्थानीयहरु भने ती व्यक्तिहरु किसान रहेको तथा आफ्नो खेत जोत्नका लागि डिजेल लग्दै गरेको अवस्थामा जवरदस्ती पक्राउ गरेर प्रहरीले उनीहरुलाई तस्कर बनाउन खोजेको आरोप लगाएका छन् । तीनै जनाको रिहाई नभएसम्म प्रदर्शन जारी नै राख्ने स्थानीयहरुको अडान छ ।

यता, जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर साहले पेट्रोलियम पदार्थको तस्करी गरिरहेको अवस्थामा पक्राउ गरिएका तीनै जनामाथि कानूनी प्रक्रिया अघि बढाइने बताए । ‘सूचनाको आधारमा खटिएको टोलीले तीनै जनालाई दशगज्जा क्षेत्रबाटै नियन्त्रणमा लिइएको हो’ उनले भने, ‘नेपालबाट डिजल खरिद गरी भारततर्फ पु¥याइरहेको पाइएकोले पक्राउ परेकालाई रिहा गर्ने कुरा हुँदैन, कानून अनुसार नै हुन्छ ।’

यसैबीच यो समाचार तयार पार्दासम्म पक्राउ परेकाहरुलाई प्रहरीले छाडेका छैनन् । यता आन्दोलन पनि यथावतै रहेको छ । आइतबार अबेर साँझसम्म छिन्नमस्ता गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल, उपाध्यक्ष उषाकुमारी मण्डल, वडा अध्यक्ष दिपेन्द्र यादव(दिपु) लगायतको टोली र प्रहरी बीच लामो छलफल तथा वार्ता भएको छ ।