• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जाडोसँग जोगिन संघर्ष गर्दै विपन्न डोमहरु

कोरोना र लकडाउन पछि शिलतहरको मार
जाडोसँग जोगिन संघर्ष गर्दै विपन्न डोमहरु

जितेन्द्र ‘जितु’
राजविराज, २८ मंसिर ।

‘हाम्रो घर, लत्ताकपडा सबै उस्तै हो, पैसाको अभावमा हामि राम्रो लुगा किन्न सक्दैनौं, उपयुक्त घर बनाउन सक्दैनांै, यस्तो अवस्थामा अति जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्ने बाध्यता रहेको छ ।’

सात वर्ष अघि आजकै दिन (मंसिर २८) सप्तरीको तात्कालिन नेंगडा गाविस–७ (हाल बोदेबरसाईन नगरपालिका–२) बैरिया टोलकी ४५ वर्षीय मालती देवि मरिकको चिसोकै कारण ज्यान गएको थियो । मालतीसँगै उक्त परिवारका चार जनाले चिसो र शितलहरकै कारण ज्यान गुमाएको पीडादायी अनुभव यहाँका स्थानीयहरु विपन्न डोमहरुसँग अझै ताजा नै छ ।

२०६७ सालमा मालतीकी सासु सेबकी, २०६८ मा जेठाजुका छोरी र २०६९ मा मालतीका देवरका छोराको चिसो र शिलतहरकै कारण ज्यान गएको स्थानीयहरु बताउँछन् । ‘चिसो र शिलतहर प्रत्येक वर्ष नै आउने हो तर हामि गरिब विपन्न डोमहरुका लागि यो अभिशाप भएरै आउने गर्दछन्’, स्थानीय रामा मरिकले भने, ‘मंसिरदेखि माघसम्मको तीन महिना जोगियौ भने एक वर्ष अझै बाँचेको अनुभूति हुन्छ ।’

‘लत्ता कपडा छैनन्, घर पनि उस्तै, परालको भरमा जाडो काट्नु पर्ने बाध्यता, त्यसमाथि बढ्दो शितलहर तथा चिसोले कठ्याङ्ग्रिएर मर्छौ जस्तो लाग्छ ।’ तिलाठी कोईलाडी–२ लौनियाँस्थित डोम वस्तीका बासिन्दाहरुको साझा पीडा हो यो । आइतबार विहान त्यहाँ पुगेका न्यूज टुडेका प्रतिनिधिसँग समस्या पोख्दै डोमहरुले बढ्दो शितलहर तथा चिसोका बीच आफुहरुको जनजीवन झन् कष्टकर बन्न पुगेको बताए । पछिल्लो एक साता यता एक्कसी बढेको चिसोले सप्तरीसँगै मध्य तराईका जिल्लाहरुको जनजीवन कष्टकर हुँदा त्यसको सभन्दा ठुलो मार विपन्न दलितहरुमाथि परेको छ ।

यस वर्ष झन् कोरोना तथा कोरोनाका कारण गरिएको लकडनले गरिब विपन्नहरुको आर्थिक अवस्था त्यसै भयावह जस्तै बनेको छ । त्यसमाथि झन् चिसो र शिलतहरको पीडा आफुहरुका लागि असहाय जस्तै भएको स्थानीय राजकुमार मरिक बताउँछन् । ‘आफु मरेपनि केहि छैन्, अबोध बालबच्चाहरुको चिन्ताले पिरोलिएको छु’, राजकुमारले भने, ‘पैसा नहुँदा बालबच्चाहरुका लागि न्यानो लुगा समेत किन्न अपठ्यारो छ, डोम भनेको त्यसै गरिब मान्छे, दुई छाक खान पनि समस्या परिरहेको वेला लुगाफाँटा कहाँबाट किन्नु ?’

‘गिरहतहरु(मालिक) कहिले काँहि केहि लुगाफाँटा दिई हाल्छन तर त्यसको भरमा कसरी यस्तो शितलहर खेप्नु ?’, प्रश्न गर्दै अर्का डोम कजरी मरिकले भनिन्, ‘टुटेको घरमा ५ जना बालबालिकाहरुलाई राख्नुपर्ने बाध्यता छ, घर पनि हावा छेक्ने खालको छैन्, चिसोबाट जोगिन अरुको खेतबाट मागेर ल्याएको पराल ओछाएर सुत्ने गरेका छौ ।’

६० बर्षीय बृद्धा स्थानीय मंगली मरिकले शितलहर तथा चिसो आफुहरुका लागि अभिषाप भएको बताईन् । गुनासो पोख्दै उनले भनिन्, ‘हाम्रो घर, लत्ताकपडा सबै उस्तै हो, पैसाको अभावमा हामी राम्रो लुगा किन्न सक्दैनौं, उपयुक्त घर बनाउन सक्दैनौ, यस्तो अवस्थामा अति जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्ने बाध्यता रहेको छ ।’ आफुहरु जस्ता विपन्न दलितहरुका लागि यस्तो विपदाको घडिमा राज्यबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने मंगलीको भनाई छ ।

चिसोले डोमहरुको जनजीवन कष्टकर बनिरहँदा समेत कुनै पनि निकायबाट हालसम्म खासै पहल नभएको डोम अगुवा युक्तिलाल मरिक को भनाई छ । ‘चुनावका वेलामा थुप्रै नेताहरु आएर आश्वासन बाँडेर गएका थिए’, उनले भने, ‘तर, चुनावपछि हामी जस्ताहरुको अवस्था बुझ्न कोहि आउँदैन, जाडोले कठ्याङ्ग्रीएर मर्नुपर्ने अवस्थामा पनि कसैको ध्यान हामी तिर पुग्न सकेको छैन ।’ जिल्ला भरी करिब १ हजार २ सयको हराहरीमा रहेको डोमहरुको जनजीवन शितलहरका कारण बर्षेनी कष्टकर बन्ने गरेको छ । यद्यपी यसतर्फ राज्यका कुनै पनि निकायले प्रभावकारी कदम चाल्न सकेको छैन ।