• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

समय अगावै शितलहर, कष्ठकर बन्दै जनजीवन

समय अगावै शितलहर, कष्ठकर बन्दै जनजीवन

राजविराज, २६ मंसिर ।
समान्यतया पुसको दोश्रो साताबाट शुरु हुने शितलहर मंसिरको अन्तिम साताबाटै प्रारम्भ भएको छ । पछिल्लो १० दिन यता एक्कासी बढेको चिसो तथा शितलहरका कारण यतिखेर सप्तरीको जनजीवन अस्तव्यस्त भएको छ ।

‘पहिला पहिला अंग्रेजी नयाँ वर्ष अर्थात फस्ट जनवरीसँगै सप्तरी लगायत मध्य मधेसका जिल्लाहरुमा शितलहर शुरु हुने गथ्र्यौ’, विपद् प्रभावित समुदाय संजाल आबद्ध देवनारायण यादव भन्छन्, ‘यस वर्ष समान्य भन्दा १५ दिन अगावै शितलहर आईपुगेको हो, शितलहरका कारण जनजिवन अस्तव्यस्त छन् तर तीन वटै तहका सरकार र राज्यका अन्य संयन्त्रहरु भने अझै पनि जागेको अवस्था छैन ।’

पछिल्लो दुई साता यता चिसो हावासँगै परिरहेको शितलहरले सप्तरी, सिरहा, सुनसरी, धनुषा, उदयपुरसहितका जिल्लाहरुको जनजीवन प्रभावित हुन पुगेको छ । अहिले शितलहर आएको नौलो होईन । पछिल्लो केहि बर्षयताको तथ्यांकलाई हेर्ने हो भन्ने मध्य मधेसका सप्तरीमा मात्रै शितलहर बाट वर्षेनी दुई दर्जन ब्यक्तिको न्यानो लुगाको अभावमा कठयांग्रिएर मृत्यु हुने गर्दछन् ।

एक जिल्ला सप्तरीको मात्रै यस्तो भयाबह तथ्यांक हुँदाहुँदै पनि राज्यले शितलहरबाट पीडित हुने वर्गका लागि कुनै किसिमको सहयोगको प्याकेज ल्याउन सकेको छैन, न त कुनै तयारी तथा योजना नै देखिन्छ । मध्य मधेसका डोम, मुसहर, बाँतर, दुषाधसहितका जाती र जुनसुकै जातका ब्यक्ति भएपनि आर्थिक स्थिती कमजोर भएकाहरुलाई नै शितलहरले बढी सताउने गरेको हो । खासगरी उनीहरुसँग शितलहर थेग्ने पक्की घर र न्यानो लुगाको अभाव हुने गरेको हुन्छ ।

‘दिनभरिको मिहिनेत मजदुरी गरेर दुई छाक टार्न समस्या भईरहेको अवस्थामा कहाँबाट न्यानो लुगा खरीद गर्नु ?’, डोम जातीका अगुवा युक्ति मरिकले भन्छन्, ‘सप्तरीमा मात्रै हामी जस्ता हजारौं नेपालीलाई न्यानो लुगाको खाँचो छ, हावा छेक्ने घर छैन ।’ शितलहरकै कारण आफू जस्ता कमजोरी आर्थिक श्रोतका नेपालीहरुलाई अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनको भनाई छ ।

शितलहरको समस्या वर्षेनी हुने भएकाले यसबाट जनतालाई जोगाउन प्रधानमन्त्रीस्तरबाटै विशेष प्याकेज नै मुलुकमा ल्याउनुपर्ने स्थानीय अगुवाहरुको भनाई छ । ‘शितलहरले हजारौं मानिस प्रभावित भईरहेको छ, लुगा नभएकाहरुलाई बढी समस्या खेप्नुपरेको छ’, स्थानीय बौद्धिक अगुवा एवं राजनीतिकर्मी खुशीलाल मण्डलले भने, ‘राज्यले अनदेखा नगर्नुपर्ने विषय शितलहर हो, त्यसैले यसतर्फ सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीज्यूको ध्यान पुग्नु जरुरी छ ।’ राज्य सरकारले पनि आफ्नो स्तरवाट यस्ता समस्या माथि गम्भीर चासो र चिन्ता व्यक्त गर्नुपर्ने उनको सुझाव छ ।

विपन्नको विजोग
शितलहरले सबै भन्दा बढी विपिन्न गरिब दलितहरुको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर लगायतका बस्तीहरुमा शितलहरले बृद्ध, बालबालिका तथा महिलाहरुको विचल्ली भएको छ ।

‘लत्ता कपडा छैनन्, घर पनि उस्तै, परालको भरमा जाडो काट्नु पर्ने बाध्यता, त्यस माथि बढ्दो शितलहर तथा चिसोले कठ्याङ्ग्रिएर मर्छौं जस्तो लाग्छ’, चिसोकै कारण करिब ८ वर्ष अघि पति गुमाएकी लौनियाँ की कजरी मरिकले भनिन्, ‘आफु मरेपनि केहि छैन्, अबोध बालबच्चाहरुको चिन्ताले पिरोलिएकी छु ।’

यस्तै समस्या सुनाए अर्का डोम राजकुमार मरिकले पनि । तीन वर्ष अघि जाडोकै कारण ५५ बर्षिय हजुरआमा धनवन्ती मरिकको निधन भएको जानकारी गराउँदै उनले भने, ‘खासै मर्ने उमेर नभएपनि शितलहर तथा चिसो खेप्न नसकेर उनको मृत्यु भएको हो ।’ प्रत्येक वर्ष जासो दुईरचार जना वुढापाकाहरु चिसोकै मौसममा वित्ने गरेको राजकुमारको भनाई छ ।

६० बर्षीय बृद्धा स्थानीय सावित्री मरिकले शितलहर तथा चिसो आफुहरुका लागि अभिसाप भएको बताईन् । न्यूज टुडेसँग गुनासो पोख्दै उनले भनिन्, ‘हाम्रो घर, लत्ताकपडा सबै उस्तै हो, पैसाको अभावमा हामी राम्रो लुगा किन्न सक्दैनौ, उपयुक्त घर बनाउन सक्दैनौं, यस्तो अवस्थामा अति जाडोले कठ्याङ्ग्रिएर मर्नुपर्ने बाध्यता रहेको छ ।’ आफुहरु जस्ता विपन्न दलितहरुका लागि यस्तो विपदाको घडीमा राज्यबाट आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने सावित्रीको भनाई छ ।