राजविराज, २५ मंसिर ।
सप्तरीको छिन्नमस्ता गाँउपालिकाको सहयोगमा छिन्नमस्ता स्पोर्टस क्लब बरही बिरपुले आयोजना गरेको वडा स्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधी आयोजक क्लवले हात पारेको छ । बिहीबार भएको फाईनल खेलमा वडा नम्बर ७ लाई पराजित गर्दै आयोजक कल्बले उपाधी हात पारेको हो ।
टँस जितेर पहिलो ब्याटिङ्ग गरेको वडा नं.–७ ले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ५० रन बनाउन सफल भएका थिए । प्रतिउत्तरमा छिन्नमस्ता स्पोर्ट्स क्लबले २०औ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गरेका थिए । उक्त खेलको म्यान अफ दी म्याच, म्यान अफ दि सिरिज, बेस्ट ब्यट्सम्यान, बेस्ट बलर छिन्नमस्ता स्पोर्ट्स क्लबका उपेन्द्र राय घोषित भएका थिए भने बेस्ट फिल्डर राजु राय, उदयमान खेलाडीको रुपमा वडा नं.–७ का अनिल शर्मा र स्पोर्ट्स क्लबका इन्द्रजित राय घोषित भएका थिए ।
आयोजक कल्बका अध्यक्ष रवि रायको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख अतिथी प्रदेश–२ का भूमि व्यवस्था, कृषि एवम् सहकारी मन्त्री शैलेन्द्र प्रसाद साह लगायतका अतिथीहरुले विजयी टिम तथा खेलाडीहरुलाई पुरस्कार, प्रमाण–पत्र तथा ट्रफि प्रदान गरेका थिए ।