राजविराज, २५ मंसिर ।
कोसी टप्पु वन्य जन्तु आरक्षबाट आएको जंगली हात्तीहरुको एक समुहले सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित मानव वस्तीमा उत्पात मच्चाएको छ । स्थानीयहरुले गराएको जानकारी अनुसार बिहीबार विहान ४ बजे तिर आएको हात्तीहरुको एक समुहले स्थानीय वस्तीमा झण्डै आधा दर्जन घरहरुमा तोडफोड गर्नुका साथै घरमा रहेको अन्नपातलगायतका सामग्रीहरु नष्ट गरेको छ ।
हात्तीहरुको समुहले स्थानीय जीवन चौधरी, देवीलाल चौधरी र वसन्त यादवलगायतका घरहरुको घरमा तोडफोड गरेर क्षति पुर्याएको पीडित मध्येका जीवन चौधरीले जानकारी गराए । ‘रातिको समयमा हुलका हुल जंगली हात्तीहरु आउने गर्दछन्, घर खेतमा क्षति पु¥याउनुका साथै जोखिम मोलेर बस्नुपर्ने बाध्यता हुन्छ’, उनले भने, ‘हामी साह्रै समस्यामा छौं, त्रास र जोखिमको बीच कहिले सम्म बस्नु ?’
जिल्लाको उत्तरी–पूर्वी भेगका अधिकांश स्थानीय तहको अवस्था उस्तै छ । डिभिजन वन कार्यालय तथा जिल्ला प्रशासन कार्यालय सप्तरीको तथ्यांक अनुसार जिल्लाको उत्तरी–पूर्वी भेगको सप्तकोसी नगरपालिका, कञ्चनरुप नगरपालिका, अग्नीसाईर कृष्णा सवरण, रुपनी गाउँपालिका, शम्भुनाथ, खडग र सुरुङ्गा नगरपालिकासम्म जंगली हात्तीको आतंक सर्वसाधारण माझ सहजै देख्न सकिन्छ । त्यस्तै जिल्लाको हनुमाननगर कंकलनी नगरपालिकाको भारदह, पोर्ताहा, भलुवा क्षेत्रमा पनि जंगली हात्तीहरुले सर्वसाधारणलाई आतंकित पारेको स्थानीयहरु बताउँछन् ।
यसभेगका गाउँलेहरु रातिको समयमा अचेल जाग्राम बस्ने गरेका छन् । दिनभरी मिहनेत मजुरी गरेर थाकेका यी गाउँलेहरु हात्तीहरुको आतंकका कारण राति पनि आराम गर्नुको साटो आफ्नो जिऊधनको रक्षाका लागि समुहमै जाग्राम बस्ने गरेका हुन् । गाउँले पूरुषहरु टोली बनेरा गाउँ बाहिर गस्ति गर्ने गर्दछन भने बालबालिकाहरुको सुरक्षाको जिम्मेवारी महिलाहरु माथि रहेको हुन्छ । ‘जंगली हात्तीहरु कति खेर गाउँ छिर्ने हो र जनधनको क्षति गर्ने हो भन्ने भयले २४ घण्टै भयभित तुल्याएको छ’, कंचनरुपका स्थानीय पत्रकार राजकुमार पासवान भन्छन्, ‘हात्ती आतंकका कारण पछिल्लो दुई महिना यता हामी चैनले सुत्न समेत सकेका छैनौं ।’
गत दुई महिनादेखि टप्पुका हात्तीहरुले जिल्लाको पूर्वी–उत्तरी भेगका गाउँ÷वस्तीमा आतंक मच्चाएपनि नियन्त्रण गर्नका लागि स्थानीय प्रशासनले कुनै पहल नगरेकोमा उनीहरुले आक्रोश ब्यक्त गरेका छन् । ‘पहिला पहिला २÷३ वटा जति आउँथ्यौ’, पासवानले भने, ‘यसपाली त झन् ६ वटा सम्म हात्तीहरु आईराखेका छन् ।’ खासगरी पूर्वोत्तर भेगका कमलपुर, घोघनपुर, जगतपुर, कञ्चनपुर, बैरवा, पोर्ताहा, भारदह, मधवापुर, जोगिनियाँ, पिप्रापुर्व लगायतका गाविसहरुमा घर तोडफोड गर्नुका साथै गहुँ, तरकारी तथा केरा खेती नष्ट गर्दै आएको छ ।
सप्तरी, उदयपुर र सुनसरीका एकसय ७५ बर्ग किलोमिटर क्षेत्रमा कोसी टप्पु बन्यजन्तु आरक्ष फैलिएको छ । तर बढ्दो अतिक्रमण र वन विनासका कारण बन क्षेत्र मात्र ४ प्रतिसत बाँकी रहेको अवस्थामा जंगली हात्तीहरु मानव वस्तीतर्फ खाना खोज्दै निस्कने गरेको जानकारहरुको भनाई छ ।
हात्तीको आक्रमणवाट पछिल्लो ६ वर्षमा मात्र सप्तरी, सुनसरी र उदयपुरमा गरि १७ जनाको मृत्यु भईसकेको छ । हात्तीको आक्रमणबाट २०६९ साल यता सुनसरी पश्चिम कुसहाका लालु मण्डल, उतिमलाल मण्डल, कोशी गाउँपालिकाका बेचनीदेबी सरदार, सेबियादेबी सरदार, सप्तरी कंचनपुरकी फुलवादेबी यादब, दुर्गीदेबी मुखिया, मन्जुदेबी साह, भारदहका रोगनाथ खंग तथा हनुमाननगर सप्तरीका रोसनकुमार झा र संजय साफी र दुर्गीदेबी यादबको मृत्यु भएको छ भने त्यस्तै सप्तरी कमलपुरकी संगिता यादब, सुनसरी हरिपुरका प्रमेवहादुर मगर, भोलबीदेबी मुखिया, सप्तरी घोघनपुरका बिन्देश्वर चौधरी, तपेश्वरी उदयपुरका कोकिला श्रेष्ठ, बैरबा सप्तरीका अलाउद्दिन खानको मृत्यु भएको तथ्यांकले देखाउँछन् ।