• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

मोटरसाईकल चोरीको आरोपमा एक भारतीय पक्राउ

राजविराज, २५ मंसिर ।
राजविराज नगरपालिका–४ गजेन्द्र चौक छेउमै रहेको एक घरबाट राति बाईक चोरी गरेर गईरहेको अवस्थामा बाईक धनीले एक जना भारतीय नागरिकलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । चोरीमा संलग्न अन्य दुई जना भने अझै फरार नै रहेका छन् ।

चोरीको आरोपमा पक्राउ पर्नेमा भारतको विहार राज्यअन्तर्गत मधुवनी जिल्लाको बेनीपट्टी घर भएका शिवमकुमार साह रहेका छन् । बुधबार राति करिब साढे १० बजे तिर स३प ३७७३ नम्बरको डिसकभर मोटर साईकल हातले गुडाएर लगि रहेको अवस्थामा विष्णुपुर गाउँपालिका–१ घर भई हाल राजविराज बस्दै आएका रमेश प्रसाद यादवले चोरलाई समातेर प्रहरीमा बुझाएको हो ।

आरोपीले चोरेर लग्दै गरेको उक्त गाडी राजविराजस्थित साझा पुस्तक भण्डार एवम् साझा अफसेट प्रेसका संचालक शिवनारायण साहको नाममा रहेको छ । यद्यपी साहले आफ्नो प्रतिष्ठानमा काम गर्ने कर्मचारी रमेश प्रसाद यादवलाई उक्त गाडी चढ्न दिएका थिए । यसैबीच बिहीबार रमेशले जिल्ला प्रहरी कार्यालयमा आरोपी विरुद्ध उजुरी दर्ता गराउनुका साथै चोरीमा संलग्न रहेका अन्यहरुलाई समेत पक्राउ गरी कारवाहीको माग गरेका छन् । यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पछिल्लो समय सप्तरी सदरमुकाम राजविराजसहित जिल्ला भरी नै बाईक चोरीको घटनामा ह्वातै बृद्धि भएको छ । यस्तो चोरीमा गिरोह नै सक्रिय रहेको स्थानीयहरुको गुनासो छ । यद्यपी प्रहरीको तर्फबाट हालसम्म चोर समात्न खासै तदारुकता नदेखाईएको पीडितहरु आरोप लगाउँछन् ।