• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरी बीच हात हालाहाल

प्रत्यक्षदर्शी भन्छन्, ‘एक अर्का विरुद्ध बन्दुक नै तानिएको थियो’

राजविराज, २४ मंसिर ।
भारतसँग जोडिएको सप्तरीको मुख्य नाका तिलाठी–कुनौली सीमा क्षेत्रमा बुधबार दिउँसो सशस्त्र प्रहरी र नेपाल प्रहरीका जवानहरु बीच झडप भएको छ । प्रत्यक्षदर्शीहरुका अनुसार दुबै सुरक्षा निकायका जवानहरु बीच प्रारम्भ भएको विवाद गाली गलौज र हात हालहाल हुँदै एक अर्का विरुद्ध बन्दुक नै तानातान सम्मको अवस्था सृजना भएको थियो ।

बुधबार करिब ३ बजेर १५ मिनेट तिर सादा पोशाकमा पुगेका नेपाल प्रहरीले सशस्त्र प्रहरीको तिलाठी(खाँडो) पोष्टदेखि झण्डै सय मिटर दक्षिण दशगज्जा छेउमै पारी भारतीय बजार कुनौलीबाट समानसहित आउनेहरुलाई रोकेर चेक जाँच थालेपछि विवाद प्रारम्भ भएको हो । स्रोतका अनुसार बैधानिक रुपमा सप्तरीस्थित भारतसँग जोडिएका सीमा नाकाहरु ठप्प रहेको वेला समेत ती नाकाहरुबाट खुलेआम तस्करी भईरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट सादा पोशाकमा सीमा क्षेत्रहरुको अनुगमनका निम्ति टोली परिचालित गरिएको थियो । सोही टोलीले खाँडो खोला नजिक भारतबाट आउने गरेकाहरुलाई रोक्ने तथा उनीहरुले ल्याउने गरेको समानहरुको चेकजाँच थाल्दा नजिकै ड्यूटीमा रहेका सशस्त्र प्रहरीले सादा पोशाकमा रहेका नेपाल प्रहरीलाई रोक्न खोज्दा झडपको अवस्था सृजना भएको थियो ।

सादा पोशाकमा रहेका ती प्रहरीले आफ्नो परिचाय दिई राख्दा समेत ड्यूटीमा रहेका सशस्त्र प्रहरीले उनीहरुलाई हप्काउनु, धम्काउनुका साथै अपशब्द नै प्रयोग गरेपछि दुबै तर्फबाट प्रतिकार प्रारम्भ भएको थियो । सोही क्रममा धक्का, मुक्कि, घम्साघम्सी हुँदै हतियार तानातानको अवस्था सृजना भएको प्रत्यक्षदर्शीहरुले बताए । ‘हामी ड्यूटीमा हुँदाहुँदै तपाईहरुले समान किन समात्ने ?’ भन्दै सशस्त्र प्रहरी सादा पोशाममा रहेका नेपाल प्रहरीप्रति निकै आक्रोशित र आक्रमक देखिएको प्रत्यक्षदर्शीहरुको भनाई छ । पछि दुबै तिरका कमाण्डिङ्ग अफिसरहरुको निर्देशन र हस्तक्षेप पश्चात अवस्था साम्य भएको थियो ।

झडपको अवस्था समान्य भएपनि घण्टौंसम्म दुबै तर्फका जवानहरु बीच तनावको माहौल सहजै अनुमान गर्न सकिन्थ्यौं । घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्लास्थित अधिकारीहरु घटना स्थल पुगेका थिए । विवादलाई साम्य पार्न बुधबार अबेर साँझसम्म तिलाठी कोईलाडी गाउँपालिका–१ स्थित बेल्ही भन्सार परिसरमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा दुबै तिरका अधिकारीहरु बीच छलफल चलेको थियो । भन्सार कार्यालय परिसरमा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टसँगै नेपाल प्रहरीको चौकी पनि रहेको छ ।

स्थानीयहरुका अनुसार लकडन प्रारम्भ भएयता सीमानाका औपचारिक रुपमा ठप्प भएपनि पोके तस्करदेखि लिएर ठुला तस्कर सम्मका लागि तिलाठी–कुनौली नाका अत्यन्तै सहज पारिएको थियो । सीमा सुरक्षा तथा तस्करी नियन्त्रणको जिम्मा लिएका सुरक्षा निकायहरुकै मिलोमतोमा तस्करहरुका लागि आवत जावत सहज पारिएको स्थानीयहरुको गुनासो छ ।

स्थानीयहरुका अनुसार सप्तरीको बोदेबर्साइन, कल्याणपुर, दौलतपुर, फत्तेपुर, कञ्चनपुर, बरमझिया, महुली हुँदै उदयपुर सम्मका पोके तस्करहरु यति खेर तिलाठी–कुनौली नाकामा सक्रिय भएका छन् । लकडन अबधिभर तरकारीदेखि लिएर लत्ताकपडा, खैनी, गुटखा र खाद्यान तस्करीका लागि यो नाका निकै सहज बन्न पुगेको स्थानीयहरुको गुनासो छ ।

‘४ बजे बिहानैदेखि हुलका हुल मानिसहरु लकडनका वेला पनि आउँथ्यो, अहिले पनि आउँछन्’, स्थानीय विवेक झाले भने, ‘हामी सीमा छेउका मानिसलाई ५ किलो दाल, चिनी ल्याउनु परे नानाथरिका प्रश्नहरुको उत्तर दिनुपर्ने हुन्छ तर तस्करहरुलाई निकै सहज हुन्छ किन भने उनीहरुसँग सशस्त्र प्रहरीको आन्तरिक सेटिङ्ग रहेका हुन्छन् ।’

उक्त नाकामा सशस्त्र प्रहरीको कमाण्ड इन्सपेक्टर तथा डिएसपीले गर्दै आएका छन् । यद्यपी नेपाल प्रहरीको कमाण्ड साहायक निरीक्षक(सई)ले गर्ने गरेको छ । खुल्लम खुल्ला तस्करी थालिएपछि सशस्त्र प्रहरी विस्तारै नेपाल प्रहरीमाथि हावी हुँदै गए । एकातिर सीमा क्षेत्रको पहिलो कमाण्ड सशस्त्रसँग रहने गरेको तथा पदीय मर्यादामा पनि सशस्त्रका इन्सपेक्टर तथा डिएसपीहरुले नेपाल प्रहरीका सईलाई खासै महत्व नदिने गरेपछि दुबै सुरक्षा निकाय बीच विस्तारै मनमुटाव बढ्दै गएको थियो । सोही आधारमा स्थानीय प्रहरीले जिल्लामा गरेको रिर्पोटिङ्गको आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरीले सादा पोशाकमा प्रहरी खटाएको हुन सक्ने जानकारहरुको भनाई छ ।

यता बोर्डर आउट पोष्ट तिलाठीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक सुशिल केसीले दुबै सुरक्षा निकाय बीच ‘मिस–अण्डर स्ट्याण्डिङ्ग’का कारण समान सोधपुछ वाहेक केही पनि नभएको प्रतिक्रिया जनाए । ‘उहाँहरु(नेपाल प्रहरी) सादा पोशाकमा पारीबाट आउने मान्छेहरुलाई रोकि राख्दा स्थानीय सर्वसाधारणहरुले नै आएर हाम्रो चेक पोष्टमा गुनासो गरेका थिए’, उनले भने, ‘त्यस पश्चात ड्युटीमा रहेका हाम्रा जवानहरुलाई उहाँहरु(नेपाल प्रहरी)लाई सोध्नुभो उहाँहरु पनि प्रहरी नै रहेको थाहा भएपछि तत्कालै समस्या समाधान भएको हो ।’

यता नेपाल प्रहरीको तर्फबाट यस विषयमा कुनै प्रतिक्रिया आउन सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता समेत रहेका डिएपी भुवनेश्वरप्रसाद साहसँग पटक–पटक सम्पर्क गर्ने कोसीस गर्दा समेत उनको फोन उठेन । आफु मिटिङ्गमा रहेको र त्यस पश्चात कुरा गर्ने भनी उनले एसएमएस पठाएका छन् । यो समाचार तयार पार्दासम्म उनको प्रतिक्रिया आउन सकेको छैन ।