बृजमान तामाङ्ग
बिरेन्द्र बजार, २४ मंसिर ।
सप्तरीको अग्निसाईर कृष्णासवरन गाउँपालिका २ चाँदानी चौकबाट मंगलबार राती एक मोटरसाइकल चोरी भएको छ । स्थानीय जितेन्द्र साहको ज.३प ४६६४ नम्बरको मोटरसाइकल घरबाटै चोरी भएको हो ।
राती ९ बजे काम सकेर घरको बरण्डामा राखेको मोटरसाइकल चोरी भएको साहले जानकारी दिए । राती दूध ल्याएर सधै जसो मोटरसाइकल घरको बरण्डामा राखेको थिए, साहले भने, बिहान हेर्दा पो चोरी भएको थाहा भयो । मोटरसाइकल चोरी भएको थाहा पाउनसाथ प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । मोटरसाइकलको खोजतलास गरी संलग्न चोरलाई कानुनी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय महुलीमा निबेदन पेश गरेको उनले जानकारी गराए ।
यसैगरी गत मंसिर १३ गते सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ स्थित चर्चित धार्मिक पर्यटकीय क्षेत्र शनि देवबाट समेत प्र. नं. १–०२–०४१प ३६४९ नम्बरको मोटरसाइकल दिउँसै चोरी भएको थियो । पार्किङ गरेर राखेको मोटरसाइकल हालसम्म पत्ता लागेको छैन । यस्तै अग्निसाईर कृष्णासवरन गाउँपालिका वडा नम्बर ६ महुली बजारबाट समेत मंसिर ११ गते मोटरसाइकल चोरी भएको थियो । स्थानीय सुरेश चौधरीको स५प ७८७४ नम्बरको मोटरसाइकल घरबाटै रातरात चोरी भएको थियो । चोरी भएको मोटरसाइकल अहिलेसम्म पत्ता नलागेको चौधरीले जानकारी दिए ।
यस क्षेत्रमा पटक–पटक मोटरसाइकल, साईकल लगायतका सवारी साधान चोरी हुँदा समेत चोरी भएको साधन र चोर भने पत्ता लाग्न सकेको छैन । चोरीको घटनाले जनजीवन त्रसित हुँदा समेत सम्बन्धित निकाय मौन देखिएको छ ।