Top_Header_Right_Add

आरोप प्रत्यारोपमै बित्दै समय

आरोप प्रत्यारोपमै बित्दै समय

कोरोना कहरले गर्दा अहिले मुलुकको आर्थिक अवस्था निकै शिथिल बन्न पुगेको छ । व्यापार व्यवसाय साबिकको गतिमा चल्न सकेका छैनन् । कोरोनाका संक्रमित उपचार खर्च अभावका कारण छटपटाईरहेको कारुणिक दृष्य बग्रेल्ती देखिन थालेका छन् ।

अस्पतालमा विरामी लिएर जाँदा सहज रुपमा भर्ना लिन नमानेका कारणले अन्य अस्पताल चहार्दै विरामीको ज्यानै गएका घटना पनि देखिन थालेका छन् । मुलुकमा विकास र सुशासनका कुरा केवल कोरा नारामा मात्र सिमित भएको अवस्था छ । यसको पोख्त प्रमाणका लागि भ्रष्टाचारीले उन्मुक्ति पाईरहेका कारणले कुनै मिथ्या आरोप लगाएको नभई वास्तविकता नै बनेको छ ।

सरकारले भ्रष्टाचारीमाथि कारवाही गरेरै छाड्ने भने पनि नयाँ नयाँ भ्रष्टाचारका काण्ड बढ्न थालेको देखिँदै छ । सेटिंगमा गरिने भ्रष्टाचारको जालो पनि तोड्न सकिएको छैन । समग्रमा मुलुकमा जनअपेक्षा अनुसारका काम भए भनेर सन्तोष मान्ने अवस्था छैन । यस्तो विषम अवस्थामा सत्तारुढ दलका बीच आपसी किचलो बढेर गएको छ । जनताले बलियो बहुमत दिएर पठाएको भए पनि जनअपेक्षा अनुसारका काम हुन नसकेका कारण जनतामा उल्टै नैराश्यता बढेर गएको छ ।

सत्तारुढ पार्टीमा अहिले नेताहरुका बीच चलेको आरोप प्रत्यारोपका कारण सरकारको अधिकांश समय आफ्नो बँचाउमा बित्न थालेको छ । पार्टीमा चलेको गुट उपगुटको खेलका कारणले आफ्नो पक्षको बँचाउका लागि अर्को पक्षलाई संगीन आरोप लगाउने खेल सुरु भएको छ । यही खेलका कारणले मामिला प्रधानमन्त्री तथा पार्टी अध्यक्षमाथि अर्का अध्यक्षका तर्फबाट अनि अर्का अध्यक्ष माथि प्रधानमन्त्री तथा पार्टी अध्यक्षका तर्फबाट लिखितै आरोप लगाईएको छ । वहाँहरुमाथि लगाईएका यस्ता आरोपहरु वहाँहरुका बीचमा मात्र सिमित नभई अहिले जनजनका बीचमा चर्चा परिचर्चाका विषय बन्न थालेका छन् ।

यही चर्चा परिचर्चाका क्रममा सरकारको कार्यशैली तथा पार्टीका गुटबन्दीका विषयलाई नैराश्यता पनि उत्पन्न हुन थालेको छ । अहिले सरकार तथा सत्तारुढ पार्टीले जनताकालागि जेजति गर्नुपर्ने थियो त्यो भयो भनेर सन्तोष लिने ठाउँ देखिन्न । विकास निर्माण, सुशासन तथा सुरक्षाका सबालमा अहिले पनि असन्तुष्टी बढेकै अवस्था छ । सरकारको आधाभन्दा बढी समय बितिसकेका कारण अहिलेसम्म भएका कामले सन्तोष लिने अवस्था नरहेका कारणले नै यो असन्तुष्टी बढेको हो ।

कोरोना कहरका बीच अहिले जसरी युद्ध स्तरमा काम हुनुपर्ने थियो त्यो पनि नभएका कारणले समस्या झनै जटील बनेको अवस्था छ । अब पनि बाँकी रहेको समयमा यस्ता विषयमा ध्यान नजाने हो भने निराश बनेका जनताको चित्त कसरी भर्न सकिएला ?

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer