• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

स्थानीय तहसम्बन्धि कानूनी प्राबधान मुताबिक असार गाउँसभा सम्पन्न गर्नै पने व्यवस्था छ । तर, सप्तरीको छिन्नमस्ता गाउँपालिकामा भने अहिलेसम्म त्यो काम नभएको अवस्था छ । जनप्रतिनिधिहरु बीचको राजनीतिक खिचातानीका साथै अन्य विभिन्न कारणले गाउँसभा नभएको बताईन्छ ।

जनप्रतिनिधि भनेका स्थानीय तहमा जनताकालागि विकास निर्माण तथा अन्य जिम्मेवारी पूरा गर्ने दायित्वका साथ निर्वाचित भएका हुन् । उनीहरुले जनताले भोग्दै आएका समस्यालाई विकास निर्माणमा माध्यमबाट हल गर्नु पर्ने गुरुत्तर जिम्मेवारी छ । नयाँ संबिधानले स्थानीय तहहरुलाई निकै अधिकारका साथसाथै जिम्मेवारी पनि दिएको छ । गणतन्त्र आएपछि पहिलो पटक निर्वाचित भएर जिम्मेवारीमा पुगेका स्थानीय तहका वर्तमान जनप्रतिनिधिहरुले परिवर्तित सन्दर्भमा विकासका के कस्ता उदाहरण प्रस्तुत गरेर देखाउँछन् भन्ने विषयमा जनताको शुक्ष्म दृष्टि रही आएको छ ।

बढी अधिकार पाएका कारण राम्रो काम गरेर देखाउने अवसर पनि अहिले नै हो । तर, आर्थिक चलखेल, राजनीतिक खिचातानी तथा अन्य अनपेक्षित विवादमा फँसेर स्थानीय तहको विकास नै सिर्जना हुने अवसर आउँछ यदि भने यसले ती जनप्रतिनिधिको कार्यकाललाई कदापि सफल हुन दिँदैन भन्ने वास्तविकतालाई मनन गर्न जरुरी छ ।

स्थानीय सरकार सञ्चालन ऐनमा गाउँसभा नगरिकन स्थानीय तहले कुनै पनि आर्थिक कामकाज गर्न नसक्ने व्यवस्था रहेका कारण अहिले छिन्नमस्ता गाउँपालिकामा त्यही अवस्था आएको छ । लामो समयदेखि चलेको विवादलाई समाधान निकालेर पहिला समयमा गाउँसभा गर्ने अनि विकासका काममा गति दिने विषयमा सबै जनप्रतिनिधिहरुले सोच्न जरुरी छ । आपसकै विवादका कारण विकासीय काम प्रभावित हुने अवस्था आउँछ यदि भने त्यो सरासर तिनै जनप्रतिधिको कमजोरीका कारण भएको हो भन्ने भविष्यमा आरोप लाग्ने निश्चित छ ।

जनताकालागि गरिनुपर्ने विकासका कामका समयमा विवाद झिकेर काम अड्काउने गरियो भने उक्त स्थानीय तहका सबै जनप्रतिनिधि भोलिका दिनमा जनताका नजरमा दोषी बन्न सक्दछन् । एउटालाई दोषी बनाएर आफू उम्कनेतिर लाग्नु भन्दा पनि खेर गईरहेको समयको कसरी सदुपयोग गर्न सकिन्छ भन्नेतिर लाग्नु नै बुध्दिमानी पनि हो । अतः यस प्रकारका विवाद र खिचातानीबाट मुक्त रही निर्वाचनका समयमा जनताका समक्ष गरेको प्रतिबद्धतालाई अहिले स्मरण गरी अघि बढ्न जरुरी छ । विवाद झिकेर आफ्नो गाउँ ठाउँको विकासमा तगारो हाल्ने काम कदापि उचित हुन नसक्ने भएका कारण अहिलेको असहजतालाई चिरेर अघि बढ्न जरुरी छ ।