Top_Header_Right_Add

नाका ठप्प राख्नुको कुनै औचित्य नै छैन ः जनप्रतिनिधि

सीमा नाका खोलाउने बारे सप्तरीमा बृहत छलफल
नाका ठप्प राख्नुको कुनै औचित्य नै छैन ः जनप्रतिनिधि

राजविराज, ०८ मंसिर ।
कोभिड–१९ नियन्त्रणका नाममा गत चैत्र महिनादेखि ठप्प रहेको भारतसँग जोडिएका अन्तरराष्ट्रिय सीमा नाकाहरु तत्काल खोल्नु पर्ने धारणा सोमबार राजविराजमा आयोजित एक कार्यक्रमका वक्ताहरुले राखेका छन् ।

जिल्ला समन्वय समिति सप्तरीको आयोजनामा आयोजित अन्तरक्रियामा बोल्दै बिभिन्न राजनीतिक दलका नेताहरु, स्थानीय तहका प्रमुखहरु, सप्तरीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदहरुले नाका ठप्प राख्नुको हाल कुनै औचित्य नै नरहेको भन्दै यसबारे प्रदेश तथा संघीय सरकारसँग आवश्यक समन्वय गरी नाका खोलाउन तर्फ पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । संघीय सरकारले यस मुद्दालाई तत्कालै सकारात्मक सम्बोधन नगरे सिमा खोलाउन आफुहरु संघर्ष गर्न समेत तयार रहेको प्रतिक्रिया जनाए ।

कार्यक्रममा बोल्दै तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष शतिसकुमार सिंहले सरकारी निर्णाय बमोजिम आधिकारिक रुपमा नाकाहरु ठप्प भएपनि यसको मौका छोपेर स्थानीय प्रहरी प्रशासन खुलेआम तस्करी गराउने गरेको, दैनिक उपभोग्यका लागि थोर बहुत समान ल्याउने सर्वसाधारण सँग प्रहरीले पैसा उठाउने गरेको तथा सिमा नाका बन्द रहेको त्रास देखाउँदै सिमा क्षेत्रका आम जनलाई प्रहरी प्रशासनले दुःख र तनाव मात्रै दिने गरेको आरोप लगाए ।

‘लकडनका वेला सीमा नाकाहरुमा तस्करहरु निकै हावी भएका छन् र उनीहरुलाई हावी हुने अबसर सीमा सुरक्षामा खटिएका प्रहरी प्रशासनले नै दिएका छन’, सिंहले भने, ‘पछिल्लो पटक मुसहरनियामा भएको प्रहरी र तस्करको झडप त्यसकै एक पाटो हुन्, समान समात्न वा तस्कर समात्न प्रहरीले फायर खोलेको होईन, तस्करसँग डिल भए बमोजिमको रकम तस्करले दिन नमान्दा गोली हानाहानको अवस्था आएको हो ।’ सेटिङ्गमा रहेका तस्करहरुका लागि सबै थोक खुला रहने गरेको बताउँदै गाउँपालिका अध्यक्ष सिंहले भने, ‘प्रहरीले सीमा क्षेत्रमा तस्करीको समान पक्राउ गर्दा घटना स्थल मुचुल्का बनाउनु पर्ने कानुन छ, उक्त मुचुलकामा स्थानीय जनप्रतिनिधिको हस्ताक्षर गराउने कानुनी व्यवस्था छ तर कतै त्यस्तो गरिएको पाईदैन, प्रहरीको मुचुल्का अध्ययन गरौ अधिकांश मुचुल्का नै फर्जी साबित हुन्छ ।’

जिल्लाको अर्को सिमावर्ती स्थानीय तह छिन्नमस्ता गाउँपालिकाका प्रमुख सूर्यनारायण यादव(कुरुर)ले लकडन आएदेखि सीमा नाकाहरु सरकारले स्थानीय प्रहरी प्रशासनलाई ठेक्कामा दिएको जस्तो अनुभव आफुलाई भएको सुनाए । ‘स्थानीय सरकारहरुले बिभिन्न हाट बजार ठेक्कामा लगाए जस्तै सिमानाकाहरुलाई संघीय सरकारले प्रहरी प्रशासनलाई ठेक्कामा दिएका रहेछन्’, उनले भने, ‘प्रहरी प्रशासनले ठेक्कामा पाएको नाका हाल प्रहरीकै संरक्षणमा तस्करहरु चलाउने गर्दछन र उनीहरुबाट प्राप्त आमदानी स्थानीय प्रहरी प्रशासनदेखि जिल्ला हुँदै केन्द्रसम्म बाँडफाँड भईरहेको अवस्था छ ।’

तस्कर र व्यापारीहरुका लागि नाका पूर्ण रुपमा खुला भएपनि आम सर्वसाधारणलाई भने पीडा मात्रै भईरहेको बलानविहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोईतले बताए । हाल सिमानाकाहरुमा हुने गरेको प्रहरी र तस्करको नाँगो नाचका कारण सीमा क्षेत्रको सुरक्षा व्यवस्था पनि चिन्ताको विषय बन्न पुगेको गोईतको टिप्पणी थियो । नेपाल भारत बीच पारिवारिक र धार्मिक सांस्कृतिक सम्बन्ध समेत भएको हुँदा लामो समयदेखि रहेको नाका ठप्पका कारण आम सर्वसाधारण तथा विद्यार्थीहरुलाई निकै पीडा खेप्नु परिरहेको उनको भनाई थियो ।

जिल्ला समन्व्य समितिका सभापति प्रभाकर यादवको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य ताराकान्त चौधरीको प्रमुख आतिथ्यमा भएको विचार गोष्ठिमा राष्ट्रिय सभा सदस्य शेखरकुमार सिंह, प्रतिनिधि सभा सदस्य दुलारी देवी खंग, प्रदेश सभा सदस्य नेत्रविक्रम साह, प्राध्यापक डा. पिताम्बरलाल यादव, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अबधेशकुमार झा, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष जितेन्द्र खडगा, गैर सरकारी संस्था महासंघ सप्तरीका अध्यक्ष शम्भुनन्द चौधरी, जसपाका केन्द्रीय सदस्य गजेन्द्र मण्डल, जिल्ला अध्यक्ष सुनिलकुमार झा, राजगढ गाउँपालिकाका अध्यक्ष परमानन्द यादव, राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादव लगायतका वक्ताहरुले नाका खोल्नुपर्ने अपरिहार्यता माथि जोड दिदै यसका लागि आवश्यक पहल र संघर्षका निम्ति आफुहरु तयार रहेको भनी प्रतिवद्धता जनाएका थिए ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer