Top_Header_Right_Add

छानविनका लागि लगियो कोभिड खर्चको फायल

बोदेबरसाईनमा अख्तियारको छापा
छानविनका लागि लगियो कोभिड खर्चको फायल

राजविराज, ०८ मंसिर ।
कोभिड–१९को जोखिम न्यूनीकरण, महामारी नियन्त्रण तथा लकडनका वेला जनतालाई सहुलियत दिने नाममा ब्रह्मलुट गरेको आरोप खेप्दै आएका सप्तरीको बोदेबरसाईन नगरपालिकामा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले छापामारी गरेका छन् ।

विना पूर्व सूचना दिउँसो करिब अढाई बजे तिर आएको टोलीले कार्यालयबाट कोभिड–१९ नियन्त्रणको नाममा नगरपालिकाले हालसम्म गरेको खर्चको विवरण तथा बिल, भरपाईसहित महत्वपूर्ण कागजातहरु अख्तियारको टोलीले लगेको नगरपालिका कार्यालय स्रोतले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा स्थानीय प्रशासनले यसबारे आधिकारिक पुष्टि नगरेपनि बोदेबरसाईन नगरपालिकाका मेयर आतेशकुमार सिंह यादवले अख्तियारको टोली आएर कागजात लगेको स्विकारेका छन् । यद्यपी आफु व्यक्तिगत कामवस कार्यालय बाहिर रहेको हुनाले के कस्ता कागजातहरु लगेको भनेबारे तत्काल जानकारी गराउन सक्ने अवस्थामा नरहेको उनको प्रतिक्रिया छ ।

कोभिड–१९को नाममा नगरपालिकाबाट के कस्ता खर्चहरु भएको भनी खर्चको विवरणसहितको जानकारी स्थानीय यूवा अगुवाहरुले सूचनाको हक सम्बन्धि निवेदनमार्फत बोदेबरसाईन नगरपालिकासँग माग गरेको थियो । साथै केन्द्रबाट पनि कोभिड खर्च विवरण सार्वजनिक गर्न स्थानीय तहहरुलाई पटक–पटक ताकेदा गरिएको थियो । सोहि बमोजिम पछिल्लो पटक नगरपालिकाले निवेदकलाई दिएको जानकारी सार्वजनिक भएपछि कोभिड–१९ जस्तो महामारीका वेला पनि उक्त नगरपालिकाले मच्चाएको ब्रह्मलुट राष्ट्रिय स्तरमै चर्चाको विषय बन्न पुगेको छ ।

खर्च विवरणसहितको जानकारी मागेका निवेदकलाई नगरपालिकाले गराएको आधिकारी जानकारी अनुसार ३० रुपैयाँ पर्ने लाइफबोय साबुनलाई तीन हजार तिरेको खर्च विवरणबाट देखिन्छ । त्यस्तै, क्वारेन्टाईन व्यवस्थापनका नाममा किनिएका दर्जनांै सामग्रीमा स्थानीय जनप्रतिनिधि तथा कर्मचारीहरुले मचाएको लुट छर्लङ्ग हुन्छ ।

सार्वजनिक गरिएको खर्च विवरण अनुसार बोदेबरसाईन नगरपालिकाले कूल दुई करोड २१ लाख रुपैयाँको विवरण सार्वजनिक गरेको थियो । जसमा एउटा लाइफबोय साबुनको तीन हजार आठ सय ३१ रुपैयाँ खर्च भएको विवरण प्रस्तुत भएको थियो । विवरण अनुसार ९५ पिस साबुनमा नगरपालिकाले तीन लाख ६३ हजार नौ सय ८५ रुपैयाँ खर्च गरेको देखिन्छ ।

३८ सयको एक थान साबुन, ३६ हजारमा एक सेट पिपिई, ७ सयको पञ्जा, १५ सयको एक थान सिरानीको खोल । कोरोनाको नाममा बोदेबरसाईनले गरेको गोलमालको अनुसन्धान अब अख्तियारले गर्ने ।

यस विषयमा चौतर्फी आलोचना हुन थालेपछि बोदेबरसाइन नगरपालिकाका नगरप्रमुख आतेशकुमार सिंह यादवले भनेका थिए, ‘९५ थान होइन, ९५ कार्टुन साबुनको विवरण हो, यो प्रिन्ट मिस्टेक भएछ ।’ एक कार्रटुनमा एक सय ४४ थान साबुन हुन्छन्, नगरपालिकाले ९५ कार्टुन साबुन किनेको हो भने एक थान साबुनको २६ रुपैयाँ तिरेको ठहर्छ । तर, नगरपालिकाले २६ चैतमा फेरि १० कार्टुन (१,४४० थान) साबुन किन्दा चार लाख ३१ हजार नौ सय ५५ रुपैयाँ भुक्तान गरेको विवरण प्रस्तुत गरेको छ । यो हिसाबले नगरपालिकाले एक थान साबुनमा दुई सय ९९ रुपैयाँ खर्चेको देखिन्छ । यसैगरी नगरपालिकाले ३१ चैतमा ६ हजार नौ सय १२ थान साबुन खरीद गर्दा दुई लाख ३८ हजार ६ रुपैयाँको बिल बनाएको छ । यो हिसाबले भने एक थान साबुनको २९ रुपैयाँ परेको छ । यसरी हेर्दा नगर प्रमुख यादवले दिएको स्पष्टिकरण माथि पनि विश्वास गर्न सक्ने खासै आधार देखिदैन ।

यस्तै गोलमाल हिसाब बनाएर बोदेबरसाइन नगरपालिकाले कोरोना महामारी नियन्त्रणका नाममा दुई करोड २१ लाख ३४ हजार ३ रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ । स्यानिटाइजर, साबुन, झुल, म्याट्रेस, मास्क, पन्जालगायतका सामग्री खरीदमा हिसाब गोलमाल पारिएको खर्च विवरणवाटै प्रष्ट हुन्छ ।

नगरपालिकाले २८ वैशाखामा ७५ पिस पिपिई गाउन (सिम्पल) किनेको छ, जसको मूल्य २७ लाख ५२ हजार पाँच सय राखिएको छ । यस हिसाबले एक सेट पिपिईको मूल्य ३६ हजार सात सय रुपैयाँ परेको छ, जुन बजार मूल्यभन्दा १० गुणा महँगो हो । त्यस्तै, एक पिस सर्जिकल मास्कको मूल्य झन्डै ८० रुपैयाँ छ भने पन्जाको मूल्य सात सय राखिएको छ । त्यस्तै, १५ थान सिरानीको खोलका लागि २२ हजार पाँच सयको विवरण बनाइएको छ । यो हिसाबले सिरानीको एउटा खोलको मूल्य १५ सय रुपैयाँ परेको छ ।

नगरपालिकाको लेखा शाखाले बनाएको यो विवरणमा प्रशासकीय अधिकृतले छाप र हस्ताक्षरसहित प्रमाणित गरेका छन । तर, विवरणमाथि चौतर्फी आलोचना हुन थालेपछि नगरपालिकाले थानलाई कार्टुन भनेर संशोधन गरेको छ । कोरोना महामारी नियन्त्रणमा दुई करोड २१ लाख खर्च भएको भनेर विवरण प्रस्तुत गरेको नगरपालिकाले २४ घन्टा नबित्दै सबै सामानको मूल्य घटाएर कूल एक करोड २७ लाख २९ हजार खर्च भएको विवरण सार्वजनिक गरेको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer