• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कक्षा ११ को परीक्षा मंगलबारदेखि सञ्चालन हुँदैछ । गत बैशाखमै हुनुपर्ने परीक्षा कोरोना महामारीका कारणले रोकिएपछि मंगलबारदेखि सञ्चालन हुने भएको हो । त्यति बेलादेखि रोकिएको परीक्षा मंसीर ९ गतेदेखि हुने व्यवस्था मिलाईएको र ढुक्क भएर परीक्षा दिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले आग्रह गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षाका आवश्यक सबै तयारी पूरा भएको तथा कोरोना संक्रमितकालागि पछि परीक्षा दिन सकिने व्यवस्था पनि रहेको मन्त्री पोखरेलले जानकारी दिएका छन् । कक्षा १२ को परीक्षाका बारेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा प्रश्न नउठोस् भनि कोरोना महामारीका बीच पनि परीक्षा लिएको उनको कथन छ । यसपालिको परीक्षामा कूल पूर्णांकको ४० प्रतिशत मात्र लिखित परीक्षा लिईने तथा बाँकी विद्यालयले आन्तरिक मूल्यांकन गरी राष्ट्रिय परीक्षा बोर्डमा अंक पठाउने व्यवस्था छ ।

विद्यार्थीले पढेको कुरालाई अभिव्यक्त गरी आफ्नो योग्यता तथा क्षमतालाई प्रस्तुत गर्ने माध्यम नै परीक्षा भएका कारण यसलाई अलग्याउन सकिँदैन । कोरोना कहरका कारण यसपालि लामो समयदेखि शिक्षण संस्थाहरु बन्द रहेका कारणले यसको प्रभाव विद्यार्थीको पठनपाठनमा परेकै छ । सात महिनाा ढिलो गरी असहज अवस्थामा पनि परीक्षा लिँदा पनि विद्यार्थीको लामो समय त्यसै खेर गएको छ । तथापि पढेको कुरालाई परीक्षाकै माध्यमबाट जाँच्न सकिने भएका कारण यसको अपरिहार्यतालाई नकार्न सकिँदैन ।

यसपालिको जस्तो असहजता विगतमा विद्यार्थीले भोग्नु नपरेका कारण यसलाई नयाँ अनुभवका रुपमा पनि लिन सकिन्छ । कठिन परिस्थितिमा पनि परीक्षा दिएर राम्रो गर्न सकियो भने निश्चय पनि त्यो अझै ठूलो सफलता हुनेछ । परिस्थिति सधैं एकसमान हुँदो रहेन छ भन्ने कुरालाई यसपालिको यो असहज स्थितिले दर्शाएको छ । कोरोना संक्रमण बढेको अवस्थामा सबैको मनमष्तिष्कमा थेरथोर त्रास कायम रहेकै हुनु पर्दछ । यसको प्रभावबाट विद्यार्थीवर्ग पनि अछुतो नहोलान् । तथापि कठिनाईबाट आत्तिने, हतास हुने र भाग्ने भन्दा पनि यसको सही तरिकाले सामना गर्नु नै उत्तम पनि हो ।

संक्रमणबाट सुरक्षित रहने विषयमा उच्च साबधानीका साथ परीक्षामा सहभागी भई सही तबरबाट प्रश्नहरुको हल गर्नेतिर प्रयत्न जारी राख्नु नै फलदायी हुनेमा शंका नरहला । असजिलो परिस्थितिमा पनि परीक्षामा सहभागी हुनुभएका सबैमा सफलताको शुभकामना ।