• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

धान बाली लगाउने बेलामा रसायनिक मल नपाएर निराश बनेका किसानले गहुँ बाली लगाउने समयमा पनि त्यसै प्रकारको नैराश्यता व्यहोर्नु पर्ने सम्भावना प्रबल भएको छ ।

धानबालीका बेलामा मल नभएपछि बंगलादेशबाट पैंचोमा मल ल्याईने भनि सरकारी स्तरबाट बताईएको थियो । रसायनिक मलको अभावका बाबजुद पनि किसानले धान बाली त भित्र्याए । तर, गहुँ लगाउने समयमा पनि रसायनिक मलको अत्तोपत्तो नदेखिएका कारण अवस्था उस्तै हुने पो हो कि भन्ने चिन्ता बढेको छ । धानपछि मंसिरको पहिलो साता गहुँबालीको सिजन सुरु हुन्छ । यस हिसाबले रसायनिक मलको आवश्यकता यति बेला नै पर्ने हो । तर, मलका लागि कृषि सामग्री कम्पनीमा जाँदा मल नरहेको जवाफ दिन थालिएका कारण किसानमा चिन्ता थपिएको हो ।

बंगलादेशबाट पैंचोमा मल आयात गर्ने भनिएपनि त्यसको प्रकृया नै अहिलेसम्म अधुरै रहनाले कहिले मल आउने हो भन्ने यकीन गर्न नसकिने अवस्था रहेको सरोकारवालाहरुको कथन रहेको छ । अहिले स्टकमा रहेको रसायनिक मलले नपुग्ने भएका कारण पर्याप्त मलको व्यवस्था भएन भने त्यसको घाटा किसानले नै प्रत्यक्ष रुपले व्यहोर्नुपर्ने हुन्छ । सरकारले किसानका समस्यालाई हेर्ने तथा कृषिको उत्थानकालागि काम गर्ने भनि बताईरहँदा भनार्ई र गराईमा रसायनिक मलको अभावले तालमेल नरहेको प्रमाणित गरेको मान्न सकिन्छ ।

किसानले हरेक पटक बाली लगाउने समयमा केही न केही समस्यासित जुध्नु परिरहेकै छ । समस्या बढ्दै गएका कारणले नै नेपालको कृषि क्षेत्र ओह्रालो लाग्दै गएको हो । कहिले मल त कहिले सिँचाईको अभाव अनि कहिले बीउको अभाव रहँदै आएको कुरा प्रति स्वयम् किसान नै भुक्तभोगी रहने गरेका छन् । उनीहरुको समस्या समयमा समाधान भएन भने त्यसले नैराश्यता ल्याउनेमा आशंका छैन ।

समय बितिसकेपछि सरकारले किसानकालागि केही व्यवस्था गर्यो भने पनि त्यो निरर्थक हुने निश्चित छ । समस्या आउनुभन्दा पहिले नै त्यसको समाधानका बारेमा सोचिएन भने समय बितिसकेपछिको काम त मृत्युपछिको औषधीसरह हुन्छ नै । यही कुराको तालमेल नमिलेका कारणले किसानले यसपालि धान बाली लगाउने समयमा धोका पाए अब गहुँको अवस्था पनि उस्तै हुने सम्भावना बढेको छ । यस्ता समस्याका बारेमा समयमै नसोच्ने हो भने नेपालमा कृषिको उत्थान कसरी सम्भव होला ?