• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

‘छठको मौलिकता माथि आधुनिकता हावी’

छठ पर्व भव्यता साथ सम्पन्न
‘छठको मौलिकता माथि आधुनिकता हावी’

राजविराज ।
केराको बोट तथा अशोकका हाँगाले सजाउने छठको घाट अचेल कितृम फुल लत्ति तथा झिलमिले लाईटहरुले सजन थालेका छन् । घाटमा महिला दिदी बहिनीहरुले गाउने गितको साटो आधुनिक गित र डिजेका धुनमा श्रधालुहरु रम्न थालेका छन् । श्रद्धा र भक्तिको ठाउँमा फेशन हावी भएको छ । बढ्दो आधुनिकताका बीच छठ पर्वको मौलिकता पनि कमजोर हुँदै गएको छ ।

मिथिलाञ्चल लगायत तराई क्षेत्रमा परम्परागत लोक पर्व छठ उदाउँदो सूर्यलाई अर्घ दिदै शनिबार भव्यतापूर्वक सम्पन्न भएको छ । धार्मिक आस्था, सामाजिक सद्भाव, जातीय विविधता लगायत विविध कारणले यस पर्वलाई निकै महत्वका साथ हेर्ने गरिन्छ ।

कुनै वेला तराईमा मात्र मनाउने गरिएको छठ पर्वलाई अचेल तराई मात्रै नभई राजधानि काठमाण्डौसहित मुलुक भरी नै अत्यन्त महत्वका साथ हेर्न थालिएको छ । दशै र तिहारपछि नेपालीहरुको ठूलो पर्व भनेर छठलाई समेत चिनाउन थालिएको छ ।

यद्यपी यस पर्वको विकास र विस्तार भएपनि यसको मौलीकतामा भन्ने कमी आएको प्रति जानकारहरु चिन्ता समेत व्यक्त गर्दछन् ।

‘आधुनिकताको ठुलो छाप परेको छ, छठ पूजामाथि’, मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र भन्छन्, ‘आधुनिकताले नविनता ल्याएको छ, तर मौलिकता भने कताकतै पछाडी छुटेको अनुभव गरेको छु ।’

बाल्यकालमा आमा बुवासँग गर्दै आएको छठ, त्यस पछि आफ्ना छोराछोरीसँगको छठ र हाल नातिनातीनीसँग मनाउने गरिएको छठमा ठुलो परिवर्तन देखिएपनि हालसम्म त्यस्तो नाकारात्मक प्रभाव भने नाआएको उनको ठम्याई छ । उनले भने, ‘त्यस्तो नाकारात्मक प्रभाव त मैले महशुस गरेको छैन्, तर हराउँदै गएको मौलिकताप्रति सचेत हुनुपर्ने खाँचो छ ।’

६२ बर्षीय शिवहरीप्रसाद भट्टराई पछिल्लो ४ दशकदेखि सप्तरीलाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका छन् । आफुले त्यति वेलादेखि नै छठका बारेमा विषेश रुपले रिर्पोटिङ्ग गर्दै आएको बताउँदै उनले भने, ‘त्यतिवेलाको छठमा एउटा समानता थियो, समावेशिताको सन्देश थियो तर अहिले कतै–कतै समानता, समावेशिताउपर आधुनिकता हावी हुँदै गएको छ ।’ आफ्नो कथनलाई पुष्टि गर्दै उनी भन्छन्, ‘घाट सजाउनेदेखि लिएर आधुनिकताकाकारण बढ्दै गएको अनावश्यक खर्चहरुले छठ पर्वले दिने समानाको सन्देशमा कताकतै कमि आएको छ ।’

सप्तरीको तिलाठी कोईलाडी–१ बस्ने ७० बर्षीय योगेन्द्र झाको भनाई पनि उस्तै छ । उनी भन्छन्, ‘आधुनिकता बढदै गएको छ, तर गाउँघरमा भने उल्लास र आत्मीयतामा कताकतै कमि आएको देखिन्छ ।’

छठ पूजाको मौलिकतामा ठूलो ह्रास आएको अर्का सञ्चारकर्मि श्यामसुन्दर यादव बताउँछन् । कला संस्कृतिलाई बिट बनाएर पछिल्लो एक दशकदेखि पत्रकारिता गर्दै आएका यादव भन्छन्, ‘धार्मिक आस्थासँगै जातीय विविधता र समाजिक सद्भावको सन्देश प्रवाह गर्ने पर्व हो यो तर बढ्दो आधुनिकताले यसको मौलिक महत्वमा कमि आएको छ ।’

पछिल्लो राजनीतिक परिवेशमा पहाड मधेशलाई जोड्न यस पर्वले ठूलो भूमिका खेलेकोमो कुनै दुईमत नरहेको उनको भनाई छ । यद्यपी तराई मधेशमा वसोवास कथित उच्च तथा तल्लो जात जाति बीच दिने आपसि सद्भाव र विविधताबाट यो पर्व टाढिदै गएको उनी बताउँछन् ।

‘डोमले बनाएको नाङ्गलो, कोनियाँ, ढकिया, कुम्हालेको हात्ती, मालिले ल्याउने पूmल, चमारले बजाउने बाजा छठ पर्वमा यी सबैको आ–आफ्नै महत्व रहेको छ’, यादव भन्छन्, ‘तर बढ्दो आधुनिकतासँगै डोमले बनाउने नाङ्गलो, कोनियाँको ठाउँ प्लास्टिक, स्टील तथा तामाका सामग्रीहरु प्रयोग गिरिनु, चमारको बाजाका ठाउँमा डिजे साउण्ड बजाउनु, मालिको फुलको ठाउँमा रेडिमेड प्लास्टिकका फुल लत्तिहरु प्रयोग हुनु छठको मौलिकतामाथि ठूलो प्रभाव हो ।’

चार दिनसम्म चल्ने यो पर्व सूर्यको उपसाना र पूजा पाठ गरिदै मनाईन्छ । षष्ठी तिथीमा यो पर्व मनाउने गरेका हुनाले यसलाई छठ पर्व भनिन्छ । यस पर्वका बारेमा बिभिन्न प्रकारका किन्वदन्तीहरु रहेका छन् ।

पौराणिक मान्यताअनुसार द्वापर युगमा पाण्डवद्वारा जुवामा आफ्नो सबै थोक हारे पश्चात पाण्डव पत्नी द्रौपदीले छठ पर्व राखेकी थिईन् । व्रत पश्चात उनीहरुले आफ्नो सबै थोक पाएको र युद्धमा समेत सफल भएको मान्यता रहेको छ ।

यस पर्वको अर्को प्रसंग अनुसार यसको वैज्ञानिक महत्व पनि रहेको छ । षष्ठी तिथिको एक विषेश खगोलीय महत्व रहेको खगोल विद्हरुको भनाई रहेको छ । यस तिथिमा सूर्यको परावैगनिक किरण पृथ्वीको सतहमा सामान्य भन्दा अधिक आउने गरेकाले मानव जिवनमा यसले निकै नै प्रभाव पर्ने भएकोले यस प्रभावबाट मुक्तिका लागि छठ पर्वको प्रारम्भ गरिएको मान्यता पनि एक पक्षको रहेको छ ।

यस पर्वका अवसरमा गरिने परम्परा तथा पर्वको विधिले गर्दा उक्त परावैगनी किरणको सम्भाव्य प्रभावलाई न्यूनिकरण गरिने जन विश्वास समेत रहेको छ । पोखरी वा नदी अगाडि बस्नु, बाँसका डालि तथा ढाकीहरुमा बिभिन्न प्रकारका वनस्पतीहरुको जारो राख्नु जस्ता क्रियाकलापले समेत उक्त तथ्यलाई प्रष्ट पारेको जानकारहरुको मान्यता रहेको छ ।

४ दिनसम्म मनाईने यो पर्व भाइ टिकाको तेस्रो दिनबाट प्रारम्भ हुन्छ । यस पर्वको पहिलो दिन सिंधे नुन, घूँ, अरुवा चामल र लौकाको तरकारी बनाएर खाने परम्परा रहेको छ । यस दिनलाई मिथिला क्षेत्रमा नहाई खाई वा अरवा अरवाईन भनिन्छ । छठ पर्वको दोश्रो दिन साँझ ब्रतालुहरुले घरमा पूजापाठ गरि खरना मनाउने परम्पार रहि आएको छ । पर्वको तेश्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व समाप्त हुने गरेको छ ।