• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

अस्ताउँदो सूर्यलाई अर्घ, आज उदाउँदो सूर्यको पूजासहित छठ समापन

छठको भव्यता
अस्ताउँदो सूर्यलाई अर्घ, आज उदाउँदो सूर्यको पूजासहित छठ समापन

राजविराज, ०५ मंसिर ।
लोक आस्थाको पर्व छठको मुख्य दिन शुक्रबार अस्ताउँदो सूर्यको आराधना गर्दै सप्तरीसहित मुलुकभर भव्यता साथ छठ पर्व मनाईएको छ ।

बुधबारैबाट सुरु भएको यो पर्व चार दिनसम्म मनाईन्छ । पर्वको तेस्रो दिन शुक्रबार सांझ पख अस्ताउँदो सूर्यलाई आराधना गर्दै अर्घ दिईएको छ । आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ ।

तराई–मधेश–मिथिलाञ्चल हुँदै पछिल्लो समय मुलुकका अन्य क्षेत्र र समुदायमा समेत लोकप्रियता पाएका लोक आस्था पर्व छठ पूजालाई मैथिल र मधेशी समुदाय निकै भव्यता साथ मनाउने गर्दछन् ।

कोरोना संक्रमणको त्रास, लामो लकडाउन तथा बन्दा बन्दीका कारण सर्वसाधारणहरु निकै समस्यामा भएपनि छठ पर्वको रौनकता र भव्यतामा भने खासै कमी देखिएको छैन । जिल्ला प्रशासन कार्यालय सप्तरीले एक साता अघि नै प्रेस–विज्ञप्ती जारी गरी पोखरी तथा नदीलगायतका जलाशयहरुमा सामुहिक छठ मनाउनु भन्दा आफ्नै घर आँगन तथा पायक पर्ने नजिकको स्थानमा समाजिक दूरी कायम गर्दै छठ पर्व मनाउन सर्वसाधारणमा आग्रह गरेपनि त्यसको प्रभाव खासै देखिएको छैन ।

राजविराजस्थित भगवती पोखरी, कल्टु दास पोखरी, तुरन्ती पोखरीलगायतका जलाशयहरुमा विहानैदेखि सर्वसाधारणहरु छठको घाट बनाउने काममा सक्रिय देखिएका छन् । पोखरीहरुमा अन्य वर्षहरु जस्तै सामुहिक छठ घाट निर्माण गर्नुका साथै सामुहिक छठपर्व मनाईएको छ । त्यस्तै सदरमुकाम बाहिर कोशी ब्यारेज लगायतका जलाशय क्षेत्र एवम् बिभिन्न गाउँमा रहेका पोखरीहरुमा समेत सामुहिक छठ मनाईएको जानकारी प्राप्त भएको छ ।

कात्तिक शुक्लपक्षको षष्ठी तिथिमा मनाईने यो पर्व चार दिनसम्म मनाईन्छ । कार्तिकको चतुर्थी तिथिदेखि नै यो पर्व विधिवत प्रारम्भ हुने गर्दछन् । छठ पर्वको अन्तिम दिन कार्तिक शुक्ल सप्तमी तिथिको बिहान उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको विधिवत रुपमा समापन गरिन्छ ।

पहिलो दिन अर्थात चतुर्थी तिथिका दिनलाई स्थानीय भाषामा अरबा–अरबाइन वा नहाई–खाई भनिन्छ । यो दिनमा ब्रतालुहरुले नदी पोखरी तलावलगायत जलाशयमा गई नुहाईधुवाई गरेर शुद्ध भई चोखो खाना खाने गरिन्छ । ब्रतालुले भोजनमा माछामासु लसुन प्याज र कोदो जस्ता वस्तु परित्याग गरी यसै दिनदेखि ब्रत बस्ने गरेको स्थानीय संध्यादेवी झा बताउँछिन् ।

पञ्चमी तिथि अर्थात दोश्रो दिनलाई खरना भनिन्छ । खरना छठ पर्वको अघिल्लो दिन भएकाले यो दिन ब्रतालुहरु दिनभरि निर्जला ब्रत बस्ने र साँझपख नुहाएर चोखो भई पूजा कोठामा माटोको नयाँ चुल्हो स्थापना गरी प्रसाद बनाउने गरिन्छ । प्रसादका रुपमा विशेषगरी पाकेको केरा र सख्खरबाट बनाईएको खीरलाई लिईन्छ । त्यसपछि गाईको गोबरले लिपपोत गरी अरबा चामलको पीठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरेर ब्रतीले राति चन्द्रोदयपछि खीर चढाई प्रसादको रुपमा ग्रहण गर्ने गरिन्छ । यो दिन पछि ब्रतालुले पूर्ण ब्रत लिईनुपर्ने परम्परा रहँदैआएको छ ।

षष्ठीका दिन अर्थात तेश्रो दिन गहुँ र चामल ओखल जाँतो वा ढिकीमा कुटान–पिसान गरी पिठोबाट बिभिन्न गुलियो खाद्य साम्रगी बनाईन्छ । छठ पूजाका सामग्री तयार पर्दा विशेष चनाखो रहनुपर्ने हुन्छ । पूजा सामग्री चोखो र शुद्ध हुनुपर्दछ जुठो हुन गएमा अनिष्ट हुने जनविश्वास रहँदैआएको छ । त्यसैले पूजा सामग्री तयार पार्दा महिलाहरुले निक्कै सतर्कता अपनाउनुपर्ने हुन्छ । छठका लागि तयार पारिएको पूजा सामग्री जुठो भएमा चर्मरोग हुने जनविश्वास रहेको छ ।

सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, मूला, गाँजर, बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा सहितका सामग्रीहरु बाँसबाट बनाईएको नाङ्गलो, कोनिया, ढक्कीमा राखेर छठी मातालाई अर्घ दिनका लागि तयार गरिन्छ । साथै माटोको हात्तीको समेत अनिवार्यता रहने गर्दछ ।

षष्ठी तिथिका दिन साँझ ब्रतालुले अस्ताउन लागेको सूर्यलाई अर्घ दिनका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेल आराधना गर्ने गर्छन् । पर्वको चौथो अर्थात अन्तिम दिनलाई पारन भनिन्छ । यो दिन बिहान उषा कालमा ब्रत गर्नेहरु पुनः जलासयमा पुगी प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरिन्छ ।