• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मिथिलाञ्चलको महत्वपूर्ण पर्व छठ सुरु भएको छ । पारिवारिक कल्याण तथा सुख शान्तिको कामनाका साथ मनाईने यस पर्वको आफ्नै बैशिष्ठ्य छ । मधेशी समूदायका हिन्दूले मनाउने गरेको छठमा अहिले पहाडी समूदाय मात्र नभई मुश्लिमले पनि यो पर्व मनाएको भेटिन थालेको छ ।

यस दृष्टिकोणबाट यो पर्व सहिष्णुताको प्रतीक पनि बनेको छ । विशेषतः सूर्योपासनाको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिएर छठको ब्रत पूरा भएको मानिन्छ । पूर्वीय आध्यात्म दर्शनमा सूर्योपासनाको विशेष महत्व रहेको छ । सूर्य देवताका मुख समेत मानिन्छन् । चराचर जगतको अस्तित्व रक्षामा सूर्यको भूमिका विशेष रहेको छ ।

समस्त वनस्पति तथा प्राणी जगतको रक्षामा सूर्य देव निर्णायक रहेका छन् । एक दिन पनि सूर्य नउदाउँदाको अवस्था कति भयावह बन्ला भन्ने कल्पना गर्न पनि गाह्रो छ । तिनै देवको पूजन गरिने छठ पर्वलाई विशेष महत्व तथा श्रध्दाका साथ हेरिने गरेको हो । यस पर्वको अर्को विशेषता भनेको शुद्धता नै हो । किसानले उत्पादन गरेका सामग्री नै यसमा प्रयोग गरिने भएका कारण यसको सम्बन्ध सोझै कृषि कर्मसित जोडिएको छ ।

हाम्रै बासस्थान रहेको भूमिको माटोबाट बनेका भाँडा, खेतबारीको बाँसबाट तयार गरिएका माटाका छिटी, चंगेरा, सुप्ली तगायतका सामग्री तथा खेतबारीमा उब्जाईएका उखु, बेसार, सकरकन्द, भोगटे लगायतका वनस्पति र फलफूल तथा किसानले नै उब्जाएको गहुँबाट बनाईएका ठेकुवा, खजुरी, पेडुकिया, भुसुवा जस्ता परिकार चढाएर मनाईने छठले हाम्रै जनजीवन सित तादात्म्य राख्दछ ।

जातीय बन्धन तथा उँचनीचको सोचबाट उन्मुक्त यो पर्व साँच्चिकै समानता अनि सद्भाव र एकताको सन्देशवाहकका रुपमा समेत रहेको मानिन्छ । धनी तथा गरिब बीचको भेदलाई चिर्दै सबै समान रुपले हेरिने छठ पर्व साँच्चिकै विशेषता नै विशेषताबाट सुशोभित पर्व हो । मुलुकमा आएको ऐतिहासिक परिवर्तनका बाबजुद पनि विभेद निर्मूल हुन सकेको छैन । कतै जात, कतै लिंग, कतै धनी र गरीबका रुपमा एक अर्कालाई हेर्ने होच्याउने तथा विभेद गर्ने प्रचलन हटि नसकेको अवस्थामा छठ पर्वले यस प्रकारको सोचलाई पूर्णतः परित्याग गरी दिएको अनुभूत हुन्छ ।

यस वर्षको छठ विगतका झैं समूहमा एकतृत भएर मनाउन सहज नरहेको अवस्था छ । कोरोना संक्रमण बढ्दो अवस्थामा रहेका कारणले नै यस्तो अप्ठ्यारो अवस्था सिर्जना भएको हो । असहजतामा पनि स्वास्थ्यको ख्याल गर्दै संक्रमणबाट जोगिने उपायको अबलम्बनका साथ छठ मनाऔं । यस पर्वले दिएको सन्देशलाई व्यवहारमा उतार्न सकौं । सबैमा छठको मंगलमय शुभकामना ।