बिरेन्द्र बजार, ०३ मंसिर ।
सप्तरीको कंचनरुप नगरपालिका वडा नम्बर ८ बाट १० जना जुवाडेलाई प्रहरीले रंगेहात पक्राउ गरेका छन् ।
स्थानीय विशाल टेण्ट हाउसमा तास खेल्दै गरेको अबस्थामा १ लाख ४० हजार ६ सय तीस रुपैया नगदसहित सोमबार उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरूमा कंचनरुप नगरपालिका ८ का ४४ बर्षीय बिरेन्द्र कुमार गुप्ता, ३९ बर्षीय बिनोद कुमार यादव, ६८ बर्षीय भरत प्रसाद गुप्ता, ४२ बर्षीय जीवन प्रसाद गुप्ता, २३ बर्षीय प्रमोद कुमार महतो छन् । यसैगरी कंचनरुप नगरपालिका ४ का ५० बर्षीय राजेन्द्र ठाकुर, ४८ बर्षीय भागवत साह, २१ बर्षीय जयन्द्र बिक्रम साह, ४९ बर्षीय संजिव कुमार साह र भारत जिल्ला सुपोल ग्राम पंचायत १० बस्ने २३ बर्षीय संतोष गुप्ता छन् ।
तास खेल्दै गरेको भनी गोप्य सुचना पाएपछि ईलाका प्रहरी कार्यालय कंचनपुरका प्रमुख डिएसपी नरेश कुमार सिंहको नेतृत्वमा गएको प्रहरी टोलिले तास खेल्दै गरेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । तासको खालबाट १७ बुक तास, १ लाख, ४० हजार, ६ सय ३० नगद र बिभिन्न खाले १० थान मोबाइल सेट समेत बरामद् गरेको ईलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
जुवाडेहरुलाई ईलाका प्रहरी कार्यालय कंचनपुरको नियन्त्रणमा राखी मुलुकी फौजदारी संहिता ऐन २०७४ बमोजिम करबाही प्रक्रिया अगाडि बढाएको डिएसपी सिंहले जानकारी गराए । मुलकी फौजदारी संहिता ऐन २०७४ मा पहिलो पटक पक्राउ परेकालाई ३० हजार जरिमाना र ३ महिना कैद हुने ब्यबस्था रहेको छ ।