• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

छठ पर्व ः कसैका लागि आस्था, कसैलाई रोजगारको अवसर

छठ पर्व ः कसैका लागि आस्था, कसैलाई रोजगारको अवसर

राजविराज, ०३ मंसिर ।
सप्तरीको तिलाठी कोईलाडी–२ लौनियाँका राजकुमार मरिक(डोम)को परिवारलाई अचेल भ्याईनभ्याई छ । ६ जनाको परिवार पछिल्लो एक महिनादेखि दिनरात काम गरिरहँदा पनि माग बमोजिमको सामग्री तयार गर्न नसकेको राजकुमार बताउँछन् ।

‘छठ पर्वका लागि ठुलो संख्यामा नाङ्गलो, ढकिया, कोनिया लगायतका सामग्रीहरुको माग छ’, विहिवार विहान आफ्नो घर अगाडी काम गर्दै भेटेका उनले भने, ‘भोली(विहिवार) साँझ सम्म जसरी भएपनि सवै ग्राहकहरुलाई चाहिए जतिको सामग्री पु¥याउनु पर्ने हुन्छ ।’

तिलाठी, बेल्ही, लौनियाँ, सरकारपुर लगायतका नजिकका बस्तिहरुमा रहेका आफ्ना एक सय जति ग्राहकहरुलाई अझै बाँसका सामानहरु उपलब्ध गराउन बाँकी नै रहेको राजकुमार सँगै काम गरिरहेकी उनकी आमा मंगली मरिकले सुनाईन् ।

‘बिहान २ बजेदेखिनै काम थाल्छौ’, मंगलीले भनिन्, ‘छोरा, बुहारी, नाती नातिनी सबै मिलेर काम गरिरहेका छौ, आज(बिहीबार) रातभर जागेर भएपनि सबै समान बनाउनुपर्ने हुन्छ ।’ ८ दिन अघि नै गाउँकै एक जना किसानबाट २५ वटा बाँस किनेर ल्याएको उनले बताईन् ।

राजकुमार मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने प्रायःजसो डोमहरुलाई अचेल व्यस्तता बढेको छ । छठ पर्वका लागि बाँसका सामग्रीहरुको माग बढेका कारण डोमहरुलाई यसरी भ्याईनभ्यााई भएको हो ।

तिलाठी कोईलाडी–७ मंसापुरका असर्फी मरिक छठका बेला आफुहरुको चल्ती आउने गरेको बताउँछन् । ‘यति बेला त निकै चल्ती हुन्छ हाम्रो’, उनले भने, ‘हाम्रो रोजगार भने १२ महिने चल्ने होईन, हाम्रो रोजगारको मुख्य सिजननै छठ पर्व हो ।’

यतिवेला प्रति डोम परिवार ५ देखि २५ हजार सम्म कमाउने गरेको उनको भनाई छ । एउटा कोनियाँ डेढ सयदेखि २०० रुपैयाँ सम्म विक्ने गर्दछन भने ढकियाका लागि हाल २५० देखि ४०० सय सम्म तिर्नुपर्ने बाध्यता रहेको स्थानीय अरुणकुमार मण्डल बताउँछन् । त्यस्तै नाङ्गलो मूल्य हाल २०० देखि ४०० सम्म रहेको छ ।

हुनेखानेहरुका लागि रमाईलो मात्रै होईनन्, अति विपन्न तथा पिछडिएकाहरुको लागि रोजगार समेत लिएर आउने गरेको हुँदा छठको महत्व अझै बढेको मैथिली साहित्य परिषद्का अध्यक्ष सतिशकुमार दत्त बताउँछन् । यस पर्वले अति पिछडिएका डोम, चमार लगायतका जाति हुन् वा कुम्हाले, मालि जस्ता विपन्नहरु सबैका लागि रोजगार र आम्दानी ल्याउने गरेको उनको भनाई छ ।

डोम जस्तै कुम्हालेहरुका लागि पनि छठ ठुलो व्यापारिक अवसर हो । सप्तरीको हनुमाननगर बजार घर भएका ४५ बर्षीय श्यामलाल पण्डितले भने, ‘खेतबाट माटो ल्याउने, चाक चलाउने, माटोका काच्चा भाँडाहरु आगोमा पकाउने र भाडो पूर्ण रुपमा तयार भएपछि त्यसलाई बजार ल्याएर बेच्ने, पछिल्लो महिना दिन यता हाम्रो लागि नियमित दिनचर्या नै यहि हो ।’

कुम्हालेले बनाउने हात्ती, घैला, दीपलगायतका सामग्री विना छठ पूजा सम्भव हुँदैन् । हाल बजारमा १ सयदेखि २ सय ५० रुपैयाँ सम्म घैला, हात्ती लगायतका सामग्रीहरु बिक्री हुने गरेको अर्का यूवा कुम्हाले रामचन्द्र पण्डितले जानकारी गराए । तर वर्षको एक सिजन मात्रै कमाई हुने गरेका कारण आफुहरु पेशा नै संकटमा परेको उनको गुनासो छ ।

रोजगार, आम्दानी र हर्षोल्लासका निम्ति मात्रै नभई तराई क्षेत्रमा बसोबास गर्ने मैथिल मधेशी समुदायमा कथित छुवाछुत प्रथा कायमै रहेको वेला छठ पर्वले समाजिक सदभाव र जातीय विविधताको सन्देश समेत प्रवाह गर्ने गरेको राजविराजस्थित बैष्णवी काली मन्दीरका मूल पुजारी पण्डित राजिव झा बताउँछन् ।

डोमले बनाएको बाँसका सामग्री, कुम्हालेले बनाउने माटोका समानहरु, चमारले बजाउने बाजा, मालिले ल्याएको फुल तथा बिभिन्न सामग्रीको अपरिहार्यतालाई छठ पर्वले दिने समाजिक सद्भाव तथा जातीय विविधताको सन्देशका रुपमा ग्रहण गर्न सकिए यसले पक्कै पनि कथित जातीय विभेद र छुवाछुतलाई अन्त्य गर्न सार्थक हुने पण्डित झाको भनाई छ ।