• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
अस्पताल निर्माणले ल्याएको खुशी

सप्तरीको कंकालनी नगरपालिकास्थित भारदहमा सुबिधासम्पन्न अस्पताल निर्माण हुने भएपछि त्यस भेगका जनतामा उत्साह थपिएको छ । आफ्नै गाउँठाउँमा उपचार सहज तरिकाले पाउने भएपछि जनतामा खुशी तथा उत्साहको जागरण हुनु स्वाभाविकै पनि हो । उसै पनि सप्तरीमा स्वास्थ्य उपचारका मामिलामा अहिले पनि निकै समस्या नरहेको होईन ।

सदरमुकामका जनताले समेत वर्षौदेखि उपचारकालागि विराटनगर, धरान, काठमाण्डौं तथा भारतका दरभंगा, पटना, दिल्ली लगायतका शहरमा धाउनुपर्ने बाध्यता दसकौंदेखि कायमै छ । त्यसमाथि ग्रामीण भेगका जनताकालागि त गम्भीर विरामी पर्दा पनि स्थानीय स्वास्थ्य संस्थाकै भरमा रहनुपर्ने धेरैको बाध्यता थियोे ।

सरकारले जनताको जीवन रक्षाको दायित्व लिएपछि उपचारै नपाएर मर्नुपर्ने अवस्था पनि रहनु हुन्न । अहिले भारदहमा निर्माण गरिने अस्पताललाई सुबिधासम्पन्न बनाउन सकियो भने यसले सदरमुकामस्थित अस्पतालको भारलाई घटाउन पनि सहयोग मिल्ने निश्चितै छ ।

प्रदेशका सामाजिक विकास मन्त्रीले यो अस्पताल निर्माणको कार्य पूरा गरी स्तरीय सेवा प्रदान गर्ने व्यवस्था मिलाउन प्रदेश सरकार पछि नपर्ने प्रतिबद्धता समेत व्यक्त गरेका कारण जनता त्यो कामले साकार रुप लिन सकोस् भन्ने प्रतिक्षामा रहेका छन् । बुधबार त अस्पतालको नयाँ भवन निर्माणको कार्यक्रम अन्तर्गत प्रथम चरणको काम शिलान्यासबाट थालनी भएको छ । यो काम जति छिटै पूरा हुन्छ जनताले उत्तिकै छिटो उपचार सेवा पाउन सक्ने भएका कारण यसको निर्माणमा बिलम्ब नहोस् भन्ने तर्फ पनि चासो राख्न जरुरी छ ।

हामीकहाँ निर्माणको थालनी भएर पनि धेरै काम लामो समयदेखि अधुरै रहने प्रबृत्ति रोग जस्तै बढेको छ । त्यसैले जनतामा अस्पताल शिलान्यासका समयमा देखिएको खुशीलाई साकार रुप दिनकालागि प्रदेश सरकारको मात्र मुख नताकी स्थानीय सरकारले पनि आफ्नो क्षेत्रबाट सबै प्रकारको सहयोग अपेक्षित छ ।