राजविराज, २४ कात्तिक ।
प्रतिबन्धित लागु औषध ओसार पोसार गर्दै गरेको आरोपमा आइतबार अबेर साँझ सप्तरी प्रहरीले मोटरसाईकल सहित दुई जना युवाहरुलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले गराएको जानकारी अनुसार सिमावर्ती भारतीय बजारवाट मोटरसाईकलमा लागु औषध लग्दै गरेको अवस्थामा सप्तकोसी नगरपालिका–२ का ३५ बर्षीय ब्रिटिस थापा र वडा नम्बर १ बस्ने ३० बर्षीय भुमिराज थापालाई यसरी पक्राउ गरिएको हो ।
भारतीय सिमानासँग जोडिएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१४ रम्पुरा मल्हनियाँस्थित बेरियाघाट सडक खण्डबाट दुवैजना अभियुक्तलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी रम्पुरा मल्हनियाँबाट प्रहरी साहायक निरीक्षक रामनजी यादव नेतृत्वको टोलीले स८प ९०९५ नम्बरको बाईकमा गईरहेका दुबै अभियुक्तको तलासी गर्दा उनीहरुको साथमा रहेको कालो झोलाबाट लागु औषध तथा नगद फेला परेपछि दुबै जनालाई नियन्त्रणमा लिईएको हो ।
अभियुक्तहरुको झोलाबाट प्रतिबन्धित लागु औषधहरु डाईजील्याब ५० एम्पुल, फेनारगन ५० एम्पुल तथा लुपिजेसिक ५० एम्पुल फेला परेको प्रहरीले जनाएका छ । प्रहरीको अनुसार उनीहरुको साथवाट ७० हजार नगद समेत बरामद् गरिएको छ । दुबै जना अभियुक्त माथि लागु औषध ऐन अन्तर्गत कारवाही प्रक्रिया अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालयको प्रेस विज्ञप्तीमा उल्लेख छ ।