• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

छिन्नमस्ताको समग्र विकासका लागि युवाहरुको अभियान

छिन्नमस्ताको समग्र विकासका लागि युवाहरुको अभियान

राजविराज, २४ कात्तिक ।
प्रसिद्ध छिन्नमस्ता शक्तिपिठको नामले चिनिने छिन्नमस्ता गाउँपालिका सप्तरीको १८ स्थानीय तह मध्ये पछिल्लो समय सबै भन्दा विवादित र समस्या ग्रस्त स्थानीय तहका रुपमा चिन्न थालिएको छ । गाउँपालिका स्थापनादेखि हालसम्म यहाँ कहिले पनि समयमा गाउँ सभा सम्पन्न हुन सकेको छैन । बर्षैनी करौडौ बजेट खर्चिन्छन् तर हालसम्म आफ्नो यस गाउँपालिकाको आफ्नो कार्यालय भवन सम्म रहेको छैन ।
पछिल्लो तीन बर्षदेखि बर्षेनी अनियमितता तथा भ्रष्टाचारको आरोप लाग्ने गरेको गाउँपालिकामाथि अनियमितता सम्बन्धि आरोपका फेहरीस्तहरु पनि लामै छ । स्थायी कर्मचारीहरुको न्यून पदपूर्ति तथा करारमा रहेका स्थानीय कर्मचारीहरुको हालिमुहालीले अक्रान्त बन्न पुगेको यस गाउँपालिकाले आफु मातहतका शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारीहरुलाई दशै जस्तो चाडवाडका वेला पनि तलब सम्म खुवान नसक्नुले पनि गाउँपालिकाका पदाधिकारी तथा कर्मचारीहरुको अकमण्र्यतालाई छर्लङ्ग नै पारेको छ ।
यी याबत समस्याहरुले अक्रान्त छिन्नमस्ता गाउँपालिकाको अवस्था सुधार्दै विकसित र नमुना छिन्नमस्ता गाउँपालिका बनाउन चौतर्फि दवाव सृजना गर्ने उद्देश्यले पछिल्लो ५÷६ महिना यता बिभिन्न क्षेत्रमा सक्रिय यहाँका ५८ जना वढी युवाहरुले अभियान तहत बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन् ।
यसैक्रममा ‘सामाजिक रुपान्तरण युवाहरुको अभियान’ नामक व्यानरमा सोमवार युवाहरुले छिन्नमस्ता गाउँपालिकाको समग्र विकास तथा नमुना गाउँपालिका निर्माण सम्बन्धि बृहत अन्तरक्रिया नै आयोजना गरेका छन् । उक्त गाउँपालिका अन्तर्गत रहेका पूर्व मन्त्री, बिभिन्न राजनीतिक दलका नेता, वहालवाला सांसद, विधायक, पत्रकार, समाजिक अगुवा लगायतकाहरुलाई राखेर आयोजना गरेको उक्त कार्यक्रममा पटक–पटक पूर्व जानकारी हुँदा समेत गाउँपालिका अध्यक्ष सूर्यनारायण मण्डल (कुरुर)ले सहभागिता सम्म जनाएनन् । उपाध्यक्ष उशाकुमारी मण्डल कार्यक्रममा सहभागि भएपनि उल्टै स्थानीय पत्रकार तथा अगुवाहरुमाथि नै आरोप प्रत्यारोप गर्दै हिडिन् ।
गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष तथा बहुसंख्यक पदाधिकारीहरु हालको जनता समाजवादी पार्टीबाटै आवद्ध रहेका छन् । यद्यपी कार्यक्रममा सहभागि पार्टीका प्रादेशिकदेखि लिएर केन्द्रीय तहसम्मका नेताहरुले यहाँ जननिर्वाचित प्रतिनिधिहरु पर्टी समेतलाई अटेर गर्दै आफ्नो मनपरी गर्ने गरेको सार्वजनिक रुपमै आरोप लगाए । यद्यपी आमजनमानस भने आफुहरुले पार्टी माथि विश्वास गरेर दिएको भोटको दुरुपयोग भएको भन्दै पीडा पोख्दै थिए ।
समाजिक रुपान्तरणका लागि युवाहरुको अभियानका संयोजक कृष्णकुमार मण्डलको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान सभा सदस्य एवम् पूर्व मन्त्री उमेशकुमार यादवले जातीयताको चंगुलबाट राजनीतिलाई ननिकाले सम्म विकासीय अवस्थामा खासै परिवर्तन ल्याउन गा¥हो हुने टिप्पणी गरे । चुनावका वेला राम्रो र योग्य उम्मेदवार भन्दा जातीयता र जातीय समिकरणलाई आधार मानेर भोट गर्ने परिपाटी विकासका लागि घातक रहेको बताउँदै पूर्व मन्त्री यादवले जातीयता र जातीय समिकरणबाट माथि उठेर जनप्रतिनिधि चयन गर्न आमजनमा अपिल समेत गरे । छिन्नमस्तासहित समग्र सप्तरीको विकासका लािग आफु मन्त्री हुँदा र अहिले पनि विना कुनै भेदभाव तत्पर रहेको प्रतिवद्धता समेत उनले व्यक्त गरे ।
विशिष्ट अतिथि प्रदेश सभा सांसद नेत्रविक्रम साहले भिजनको अभावमा छिन्नमस्ताको विकासले गति लिन नसकेको बताए । उनले जननिर्वाचित प्रतिनिधिहरुले अवका दिनहरुमा पनि सक्रिय हुन आह्वान समेत गरे । युवााहरुको भूमिकाको सराहना गर्दै प्रदेश सांसद साहले छिन्नमस्ता र सप्तरीको विकासका निम्ति आफु जतिसुकै वेला जस्तो सुकै सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा जसपा नेता सत्यनारायण यादव, दिनेशकुमार यादव, केदार यादव, किशोरकुमार यादव, नेकपाका जयप्रकाश यादव, तेजनारायण यादव, विरेन्द्र यादव, नेपाल पत्रकार महासंघका उपाध्यक्ष श्यामसुन्दर यादव, पूर्व अध्यक्ष धिरेन्द्र प्रसाद साह लगायतकाहरुले छिन्नमस्ता गाउँपालिकामा देखिएको समस्या समग्र विकासका लागि निकै चुनौतिपूर्ण बन्दै गएको भन्दै यसका निम्ति जनप्रतिनिधिहरुले आफ्नो गैर जिम्मेवार रवैया त्यागेर जिम्मेवार बन्नुपर्नेमा जोड दिए ।
उक्त अवसरमा पूर्व मन्त्री उमेशकुमार यादव, प्रदेश सांसद नेत्रविकक्रम साह, समाजिक अभियन्ता ई.सूर्यनारायण यादव, पत्रकार श्यामसुन्दर यादव तथा स्थानीय अगुवा पंकज मल्लिकलाई सम्मान समेत गरिएको थियो ।