राजविराज, ४ असोज। कोरोना संक्रमणको जोखिमलाई मध्येनजर गरी स्थानीय प्रशासनले सप्तरीका सम्पुर्ण मन्दिर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेपनि त्यसको अवज्ञा हुन थालेको छ।
वाहिरका मानिस नआएपछि आसपासका भक्तजनका कारण अधिकांश मन्दिरहरुहरुमा चहल पहल वाक्लिएको छ ।
हनुमाननगर कंकालिनी नगरपालिकाको कंकालिनी मन्दिर, छिन्नमस्ता गाउँपालिका स्थित छिन्नमस्ता भगवती मन्दिरलगायतमा भिडभाड वढ्न थालेको स्थानीयले जानकारी दिए । छिन्नमस्ता मन्दिरमा अहिले पनि दैनिक ५ सय भन्दा वढि मानिस पुजापाठमा सहभागि भईरहेको स्थानीयले वताएका छन् ।
मन्दिरको तीनतर्फका मुल गेट वन्द गरिएपनि धर्मशाला पछाडिको वाटो भएर मानिसको ओहोर–दोहोर चलिरहेको उनीहरु वताउँछन् । ‘मन्दिरका पीठाधिस महाकान्त ठाकुरले घर ओहोर–दोहोरका लागि प्रयोग गर्ने वाटोलाई दर्शनार्थीले प्रयोग गर्न थालेका छन्’ एक स्थानीयले भने–‘समयमै यसलाई नरोक्ने हो भने यो संख्या वढ्दै जाने निश्चित छ।’
छिन्नमस्ता मन्दिर संरक्षण समितिका सदस्य हेम कुमार चौधरीले पनि पछाडिको वाटो भएर दर्शनार्थीले पुजापाठ गरिरहेको स्विकार गरे । ‘हामीले रोक्ने प्रयास त गर्यौ तर सम्भव भएको छैन’ उनले भने–‘तर, धेरै टाढाका मान्छे छैनन्, ओल्लो–पल्लो गाउँकै मान्छे आउने गरेका छन् ।’ दैनिक ५ सय भन्दा वढि मानिसले अहिले पनि पुजापाठ गरिरहेको उनको भनाई छ ।
इलाका प्रहरी कार्यालय छिन्नमस्ताका सई रामवालक ठाकुरले भने मन्दिरमा खासै भिडभाड नभएको वताए । ‘मन्दिरका तीन वटा गेटमा प्रहरीले ड्युटि छ। हामीले कसैलाई पनि भित्र छिर्न दिएको छैन’ उनले भने–‘पछाडिको वाटो भएर छिर्ने पनि विहान वेलुकाको आरतीको सयमा छिर्ने हुन। खासै भिडभाड छैन।’
मन्दिरमा मान्छेको भिडभाड नहोस भनेर प्रहरी सचेत रहेको उनले जानकारी दिए ।