राजविराज, २९ असोज। सप्तरीको छिन्नमस्ता गाउँपालिकाका कर्मचारीको लापर्वाही कारण सेवाग्राहीले दुःख पाउन थालेका छन्।
प्रमुख प्रशासकिय अधिकृत असोज महिनाको अग्रिम हाजिरी गरेर घर वसेको र अन्य कर्मचारी समेत कार्यालय समयमा नभेटिदा सेवाग्राहीको कामकाज प्रभावित हुँने गरेको छ ।
कार्यालयमा उपलब्ध कर्मचारी भने प्रमुख प्रशासकिय अधिकृत र अन्य जिम्मेवार कर्मचारीलाई देखाएर पन्छिने गरेका छन् ।
कार्यालय स्रोतका अनुसार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज थापा असोज महिनाको अग्रिम हाजिर गरेर झापाको कमल गाउँपालिका स्थित घरमा वसेका छन् । अन्य कर्मचारी पनि हप्ता/पन्ध्र दिनमा कार्यालय आएर हाजिर गर्ने र घर फर्किने गर्न थालेपछि सेवाग्राही हैरान हुने गरेको पाईएको छ ।
कोरोनाको संकटपुर्ण अवस्थामा नागरिकको सेवामा खटिनु पर्ने र योजना वनाउनु पर्ने कर्मचारीहरु एकै पटक हाजिर गरेर घर वस्न थालेपछि गाउँपालिकाको अवस्था भद्रगोल भएको स्थानीय राजनितिककर्मी जयप्रकाश यादवले वताए । हरेक महिना ४/५ दिन कार्यालयमा आउने र वाँकी समय घरमै वस्ने अधिकृत थापा एक साताअघि कार्यालय आएका वेला असोज महिनाभरीको हाजिर गरेर गएको उनको भनाई छ।
‘यो समस्या उनको मात्र होईन, अन्य कर्मचारीहरु पनि यसैगरी चलिरहेका छन्’ उनी भन्छन्–‘यस्तो भएपछि गाउँपालिकाको अवस्था के होला ?’ कर्मचारीको लापर्वाहीकै कारण गाउँपालिका अहिले भगवान भरोसामा चलिरहेको उनी वताउँछन्।
गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल (कुडुर), प्रतिपक्ष दलका नेताहरु र स्थानीय नागरिक समेतले कोरोना नियन्त्रण र अन्य विभिन्न शिर्षकमा भएको खर्चको विवरण उपलब्ध गराउन दवाव दिन थालेपछि थापाले कार्यालयमा समय कम दिन थालेको उनको वुझाई छ। यादव भन्छन– ‘कार्यालयमा वसेपछि हिसाव सार्वजनिक गर्न दवाव पर्ने भएकाले उनी भागेर हिडेका हुन।’

गाउँपालिलकाका प्रशासकिय अधिकृत महेश शर्माले पनि प्रमुख प्रशासकिय अधिकृत थापा अग्रिम हाजिरी गरेर घर गएको स्विकारे । ‘यो भन्दा अघि त सरले त्यस्तो गर्नुहुन्नथ्यो। तर यस पटक पहिलै हाजिर गरेर जानु भएछ’ उनले भने–‘मैलेपनि अरुको मुखवाट सुनेपछि मात्रै थाहा पाए।’ कर्मचारीहरु घर वसेर एकै पटक हाजिर गर्ने चलन भने गाउँपालिकामा पुरानै रोग भएको उनले वताए ।
‘म विष्णुपुर गाउँपालिकावाट सरुवा भएर आएपछि केहि समय निमित्त प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारीमा पनि रहे’ उनले भने–‘अधिकांश कर्मचारी कार्यालय नआउने तर, आएपछि एकै पटक हाजिर गरेर जाने चलन रहेछ।’ त्यस विषयमा आफुले कडाई गर्न खोज्दा सवै कर्मचारी मिलेर आफैलाई एक्ल्याएको उनको अनुभव छ । त्यो परम्परा अहिले पनि कायमै रहेको उनले वताए ।

प्रमुख प्रशासकिय अधिकृत थापाले पनि गत शुक्रवार नै आफु घर आएको र असोज महिनाको अग्रिम हाजिर भएको स्विकारे । तर, नियतवस नभई गल्तिले त्यस्तो भएको भन्दै उनले स्पष्टिकरण दिए । ‘असार साउनमा कोरोनाका कारण लामो समय कर्मचारीले घर वसेर काम गरेका हुन। अवस्था सामान्य भएपछि त्यतिवेलाको हाजिर नगर्ने भन्ने भएन। सवैले हाजिर गर्दा मैले पनि हाजिर गरे। तर भदौ महिनामा गर्नु पर्ने १०/१२ दिनको हाजिर असोजमा भएछ। गरिसकेपछि जानकारी भयो । असोजमा पनि हाजिर गर्नै पर्ने भएकाले त्यो हाजीरी मैले त्यतिवेला काटिन। मिस्टेकले हाजिरी भएको सोहि मितिमा म यतिवेला घर आउनु पर्ने भयो। तर, त्यो हाजिरीको विषय मेरो ध्यानमै रहेन। मान्छे नहुँदा पनि हाजीरी भएपछि अरुले भन्नु स्वभाविक हो’ उनले भने–‘तर, त्यो हाजिरी नियतवस नभई गल्तिले भएको हो । त्यति वेलै हाजिर काटुन पर्ने थियो, त्यसो नगरेर गल्ति गरेको मलाई महँसुस छ।’