राजविराज, २७ असोज । जनता समाजवादी पार्टी नेपालका नेता राजेन्द्र महतोले नेपालको संविधान सर्वस्वीकार्य हुन नसकेकाले आफुहरु त्यसका लागि संघर्षमा रहेको वताएका छन् ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ५ मा पार्टीका नेता स्व. धर्मनारायण रायको श्रद्धाञ्जली सभामा उपस्थित हुन आएका महतोले जनताका समस्या समाधानमा सहयोगी वनेपछि मात्रै संविधानको सर्वस्वीकार्यता पुष्टि हुने तर्क गरे ।
संविधानले देशभरिका आदिवासी, जनजाती, मधेशी र सिमान्कृत जनताको आवाज वोल्न नसकेको र उनीहरुका समस्या समाधानमा योगदान नगरेको दावी गरे । ‘त्यसैले हामी संविधान संशोधन गरेर सर्वस्विकार्य वनाउने प्रयासमा छौ र आन्दोलन गरिरहेका छौं’– उनले भने ।
महतोले देशलाई अग्रगामी दिशामा आघि वढाउन मुलुकका ठूला दुई पार्टी असफल भएको वताए । ‘अब हामी तेस्रो विकल्पको खोजीमा छौं’ उनले भने–‘जनता समाजवादी पार्टीले त्योे रिक्ततालाई पूरा गर्नेमा म विस्वस्त छु ।’
जनताले कांग्रेस र कम्युनिष्टका सरकारलाई पटक–पटक टेस्ट गरिसकेको वताएका उनले जनअपेक्षा अनुसार काम गर्न नसकेकै कारण ति पार्टी असफल भएको वताए ।
श्रद्धाञ्जली सभामा जसपा नेता अनिलकुमार झा, प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, नेताहरु मृगेन्द्रकुमार सिंह यादव, केशब झा, मनिष सुमन, सूर्यनाथ यादव, शम्भु झा, सतिश सिंह, दयानन्द गोइत लगायतले सम्वोधन गरेका थिए ।