• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कोरोनासँग खेलाँचीः लागू भएन स्वास्थ्य मापदण्ड

कोरोनासँग खेलाँचीः लागू भएन स्वास्थ्य मापदण्ड

राजविराज, २२ असोज। कोरोना संक्रमण नियन्त्रण गर्न समस्या पर्दै गएपछि सरकारले जनस्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको असोज १८ गते वसेको वैठकले स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो।

मन्त्रालयले तोकेका मापदण्ड विपरित मास्क नलगाउने तथा सामाजिक दुरी कायम नगर्ने प्रवृत्ति वढेपछि यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम वताउँछन् । तर, निर्णय कार्यान्वयको अवस्था भने चिन्ताजनक छ।

लामो समयको लकडाउन र निषेधाज्ञा खुलेपछि घरभित्र थुनिएका नागरिक यतिवेला ग्वारग्वार वजार निस्कन थालेका छन्। एक ठाउँ मात्र होईन, यो समस्या देशका अधिकांश ठाउँमा देखिएको छ। सप्तरी पनि यसवाट अछुतो छैन। सप्तरीमा हालसम्म १३ सय ५६ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमण भएका १७ जनाको मृत्यु भईसकेको छ भने १ हजार ९६ जना निको भएका छन्। जिल्लामा अझै पनि ७० महिला र १७३ पुरुष गरी २४३ जना सकृय संक्रमित छन् ।

तर, सदरमुकाम राजविराज लगायतका मुख्य वजारमा मान्छेको चहल–पहल थामिनसक्नु छ। मालपोत, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयमा समेत सेवा ग्राहीको भिडभाड छ । सामाजिक दुरी कायम गर्ने तथा मास्क लगाउने प्रचन कतै देखिएको छैन । मानिसको सहल पहल र स्वास्थ्य मापदण्टको वेवास्ता हेर्दा कोरोना संक्रमणको असर लकडाउनसँगै सकिएको होकी भन्ने आभास हुन्छ ।

सवारी साधनमा पनि जथाभावी मानिस चढाउने र ओराल्ने गरिएको छ । ठुला सवारी साधान खासै नचलेपनि म्याजिक, अटो लगायतका सवारी साधनमा सरकारले तोकेको मापदण्ड अपनाईएको छैन । मास्क तथा सेनीटाईजरको प्रयोग एवम् भौतिक दुरीलाई वेवास्ता गरिएको छ। राममार्गमा भने ट्राफिक प्रहरीको डरले यो प्रवृत्ति कहि कम देखिएको स्थानीयहरु वताउँछन् ।

स्वास्थ्य मापदण्ड अपनाउनु भनेको सरकार र प्रहरीका लागि हो भने झै प्रहरीको आँखा छल्ने प्रवृत्ति देखिएको राजविराजका धिरु झा वताउँछन् । यसले संक्रमणको जोखिम वढेको उनको भनाई छ । ‘लकडाउन खुलेपछि मान्छेको चहल पहल हेर्दा अत्यास लाग्दो छ’ उनी भन्छन्–‘यो अवस्था जारी रहे संक्रमणवाट कोहि पनि जोखिने अवस्था छैन।’

धारा प्रयोग विहिन
लकडाउन खुलेसँगै मानिसको चहलपहल वढेपछि राजविराज स्थित गजेन्द्र चौकमा सर्वसाधारणलाई नै लक्षित गरी सुविधासम्पन्न हात धुने धारा संचालनमा ल्याईएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि वेला–वेलामा सावुन पानीले हात धुनु पनि स्वास्थ्य मापदण्ड भित्र पर्छ ।

सेभ द चिल्ड्रेनको सहयोगमा सवल नेपालले संचालन गरेको उक्त धारा समेत अहिले प्रयोग विहिन भएको छ ।

गजेन्द्रनारायण सिंहको शालिक रहेको पार्कको वरिपरी ४ ठाउँमा ८ वटा धारा जडान गरिएको छ। धारामा हातको प्रयोग गर्नु नपर्ने गरी खुट्टाले पानी र ह्याण्ड वास प्रयोग गर्न सकिने ब्यवस्था छ। १ लाख ४० हजार रुपैयाँ खर्च गरी मोटर र ट्यांकी सहितको धारामा ह्याण्ड वास र सावुनको समेत ब्यवस्था गरिएको छ । तर, सुरु भएको १५÷२० दिन नपुग्दै धारा प्रयोग विहिन भएका छन् ।

ट्यांकीमा भएको पानी सकिएपछि पुनः मोटर संचालन गर्ने जनशक्तिको अभावका कारण धाराहरु प्रयोग विहिन भएको स्थानीहरु वताउँछन् । तर, सवल नेपालका सिनियर म्यानेजर अशोक साहले धारामा पानीको खासै समस्या नहुने वताए । ‘हामीले विहान वेलुका दुई पटक मोटर चलाएर ट्यांकीमा पानी भर्ने ब्यवस्था मिलाएका छौं’ उनले भने–‘धारा खुट्टाले खोल्नु पर्ने हो। सामान्य धारा झै हातले खोल्दा पानी नआएर त्यस्तो लागेको हुन सक्छ।’

चोक आसपासका वैंकहरु नियमित सञ्चालनमा आउन थालेपछि मोटर चलाएर ट्यांकीमा पानी भर्ने विषयमा समन्वय गर्ने तयारी समेत भईरहेको उनले वताए ।

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले जनताकै भलाईका लागि संचालनमा आएको धारालाई थप ब्यवस्थित गर्ने विषयमा सवल नेपालसँग समन्वय गर्ने वताए ।