राजविराज, २० असोज। कोरोना संक्रमण सुरु भएसँगै देशका अधिकांश अस्पतालमा स्वास्थ्य सेवा प्रभावित भएको छ । कतै कोरोनाको डरले स्वास्थ्यकर्मीले नै विरामी नहेर्ने समस्या छ भने कतै स्वास्थ्यकर्मी नै कारोना संक्रमित भएपछि जनशक्ति अभावमा उपचार सेवा प्रभावित छ।
यो समस्या सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा समेत देखिएको छ । एकातर्फ अस्पतालमा आवश्यक्ता अनुसारको जनशक्ति नभएर सेवा प्रभावित छ भने अर्कोतर्फ भएका स्वास्थ्यकर्मी पनि क्लिनिकमुखी हुँदा अस्पतालको गुणस्तर खस्केको भन्दै स्थानीयले गुनासो गरिरहेका छन् ।
गुनासो वढ्दै जाँदा युवाहरुको एउटा समुहले अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रणजीतकुमार झा विरुद्ध आन्दोलन नै सुरु गरेको छ । झाले सरकार र स्वास्थ्य मन्त्रालयको निर्देशनलाई समेत वेवास्ता गरेर क्लिनीक सञ्चालन गरेको उनीहरुले आरोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ०७७ साउन १३ गते परिपत्र जारी गरी एक चिकित्सक–एक स्वास्थ्य संस्थाको अवधारणा कार्यान्वयनलमा ल्याउन भनेको छ। सो परिपत्रमा स्वास्थ्य संस्थाका प्रमुख र कार्यकारी प्रमुखको जिम्मेवारीमा रहेका सवैले निजि प्राक्टिस गर्न नपाउने उल्लेख छ ।
तर, डा. रणजीत झाले अधिकांश समय क्लिनिकमा दिने र अस्पतालमा समय कम दिदा सेवा प्रभावित भएको आन्दोलकारी मध्येका युवा कृष्ण यादवले वताए ।
परिपत्रको विषयमा डा. झासँग कुरा गर्दा समेत वेवास्ता गरेपछि आफुहरुले आन्दोलन सुरु गरेको उनको भनाई छ । युवाहरुको समुहले झा विरुद्ध नाराजुलुस समेत गरेका थिए । ‘अस्पतालको अवस्था सुधार गर, जनता झुक्याउन पाईदैन, एक अस्पताल–एक स्वास्थ्यकर्मी’ भन्दै उनीहरुले नारावाजी पनि गरे। तर, त्यो विषयमा सुनुवाई नभएको अर्का युवा श्याम यादवले वताए ।
अस्पतालका निमित्त मेसु डा. झाले भने अस्पतलाको अवस्था र आफनो कृयाकलाप युवाहरुले आरोप लगाएको जस्तो नभएको दावी गरे । तथापी युवाहरुले जिम्मेवार ब्यक्तिलाई झक्झक्याउनु राम्रो पक्ष भएकाले त्यसलाई आफुले सकारात्मक रुपमा लिएको पनि झाको भनाई छ।
‘मेरो अधिकांश समय अस्पतालमा वित्छ। विहान वेलुका मात्र होईन, राती पनि नभनी मैले अस्पतालमा सेवा दिएको छु’ उनले भने–‘त्यसमाथि सरकारले तोकेको समय विहान ९ वजेदेखि साढे तीन वजेसम्म मैले अस्पताल छोडेकै छैन ।’ अस्पतालवाट फुर्सद निस्केको थोरै समय र सरकारले तोकेभन्दा फरक समयमा क्लिनिकका १/२ जना विरामी हेर्दैमा त्यसलाई इस्यु वनाउन चै नहुने उनको धारणा छ ।
‘क्लिनिक पहिलैदेखि सञ्चालन थियो। एकै पटक वन्द गर्ने अवस्था नभएकाले फोन गरेर वोलाउँदा उपयुक्त समय भए १/२ जना विरामी हेर्दिने गरेको मात्रै हो’ उनले थपे–‘अस्पताकै सेवा प्रभावित हुने गरी क्लिनिकमा मैले काम गरको छैन।’
युवाहरुको आन्दोलन क्लिनिक सञ्चालनको विषय देखाएर अन्यत्रै केन्द्रित रहेको उनको वुझाई छ। आफु निमित्त मेसु हुनुभन्दा अघिदेखि नै अस्पतालमा केहि समस्या रहेको र त्यसलाई समाधान गर्न खोज्दा असर चाहि वाहिर देखिएको उनले दावी गरे । ‘अस्पतालमा केहि समस्या छन्, जसलाई नदेखे झै गर्यो भने स्वास्थ्य सेवा सञ्चालन गर्ने अवस्था नै छैन’ उनी भन्छन्–‘त्यहि विषयमा मैले कडाई गरे। अस्पताल भित्र गरेको कामको प्रतिक्रिया वाहिर देखियो ।’