• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

नेताको घाँटी थिचेर विकास निर्माणका काम गराउनु पर्छः सांसद समिम

नेताको घाँटी थिचेर विकास निर्माणका काम गराउनु पर्छः सांसद समिम

राजविराज, १९ असोज। सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ (क) का सांसद मो. समिमले नेताहरुको घाँटी थिचेर विकास निर्माणका काम गराउनु पर्ने वताएका छन् ।

सोमवार रुपनी गाउँपालिका स्थित किसान बचत तथा ऋृण सहकारी संस्थाको ११ औं साधारण सभा उद्घाटनका क्रममा उलने यस्तो वताएका हुन । ‘नेताले काम गरेनन् भन्दै गालि गरेर मात्र हुँदैन’ उनले भने–‘अव नेताको घाँटि समातेर काम गराउने हिम्मत पनि जनताले जुटाउनु पर्छ ।’

नेता एक्लैको चाहानाले मात्रै बिकास हुन नसक्ने बताएका उनले गाली मात्रै गर्ने संस्कारको आलोचना गरे । ‘नेतालाई गालि गरेर विकास हुने भए सवै जना वसेर गालि गर्न हुन्थ्यो’ उनले थपे–‘नेता मात्रै खराब हुदैन। त्यो अनुसारको संस्कार जनतामा पनि जाग्नु पर्यो ।’

समिमले आफनो संसदिय विकास कोषको रकमवाट सडक, पुल, नदि नियन्त्रण लगायतका बिकासिय काम गरेको वताए । ‘त्यो पैसा खर्च विवरण पारदर्शी छ’ उनले भने–‘बजेट दुरुपयोग गरेको थाहा पाए कसैलाई छोड्दिन।’

आफ्नो निर्वाचन क्षेत्र मध्ये पनि सबैभन्दा बढी तेरहौतामा बिकासका काम गरेको उनले वताए । सहकारी संस्थाहरु प्रति पनि आफनो सद्भाव रहेको बताउँदै उनले एम्बुलेन्स सेवा र सहकारीको प्रगति हुने कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाए ।

आफुले भ्रष्टाचार गरेको कसैले प्रमाणित गरिदिए तुरुन्तै पदबाट राजीनामा दिने घोषण पनि उनले गरे । ‘कुनै पनि योजनामा पिसि माँगेको प्रमाण भए दिनोस, म अहिले सांसद पदवाट राजिनामा दिन तयार छु’ उनले भने– ‘तर, एक जनाले आफुलाई इमान्दार प्रमाणीत गर्दैमा सवै सुधार हुन्छ भन्ने पनि नसोच्नोस।’

आफुले निरन्तर जनताको सेवक भएर काम गर्न चाहेको वताएका उनले बिकास निर्माणका काममा जुनसुकै अवस्थामा पनि आफुसँग कुरा गर्न सकिने वताए ।

संस्थाका अध्यक्ष आनन्द प्रसाद मेहताको अध्यक्षतामा आयोजित साधारण सभामा प्रदेश २ को भुमी ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको सहकारी प्रमुख ओम नारायण झा, जिल्ला सहकारी संस्थाका संचालक सिताराम मेहता, पत्रकार महासंघ शाखा सप्तरीका सदस्य बृजमान तामाङ, रुपनी गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य बेचन प्रसाद साह, हाम्रो कृषि सहकारी संस्थाका सचिब शैलेन्द्र प्रसाद यादव, सहकारीका पुर्व अध्यक्ष श्याम चौधरी, हरी मेहता लगायतकाले शुभकामना मनतब्य व्यक्त गरे।

कार्यक्रममा संस्थाका संचालक समिति सदस्य तारिणी प्रसाद चौधरीले आब २०७७/०७८ को लागि ४ करोड ३७ लाखको बार्षिक कार्यक्रम तथा बजेट प्रस्तुत गरे । अध्यक्ष मेहताले बार्षिक प्रतिबेदन प्रस्तुत गरे । संस्थाका प्रबन्धक चेत नारायण मेहताद्वारा संचालित कार्यक्रमको स्वागत सह प्रबन्धक संगिता कुमारी चौधरीले गरिन । कार्यक्रममा संस्थामा योगदान गरेको भन्दै पुर्व अध्यक्ष श्याम कुमार चौधरी, अरुण कुमार मेहता, गितादेवी यादवलाई प्रदेश सभा सदस्य समिमले दोसल्ला ओढाएर सम्मान गरे।

सहकारी प्रमुख झालाई दोसल्ला ओढाएर सम्मान गर्दै रुपनिदेवी मन्दिर र मुर्ति अंकित मायाको चिनो प्रदान गरीएको थियो ।