राजविराज, २ भदौ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा मंगलवार पुष्टि भएका ११ जना कोरोना संक्रमित मध्ये ८ जना एकै परिवारका भएको खुलेको छ ।
वडा नम्बर ९ हनुमाननगर बजारका स्थानीय ब्यापारीको परिवारका ३ महिलासहित आठ जनामा मंगलबार कोरोनो संक्रमण पुष्टि भएको नगरपालिकाले पुष्टि गरेको छ । यो परिवारका २८ बर्षीय पुरुषमा यसअघि नै संक्रमण देखापरेको थियो । उनकै कन्ट्याक्ट ट्रेसिङ्गका आधारमा आज ८ जनाको संक्रमण पुष्टि भएको मेयर शैलेस साहले जानकारी दिए ।
व्यवसायी परिवारका ६५, ५५, ३८, ३६ र १० बर्षीय पुरुष तथा ५०, ३० र २४ बर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै उक्त परिवारका ९ जना सदस्य कोरोना संक्रमित भएका छन् । सबैलाई होम आइसोलेसनमा राखिएको छ ।
यसअघि नै कोरोना पुष्टि भएका युवकको पनि ट्राभल हिस्ट्रि फेला परेको छैन । उनी अधिकांश समय पसलमै बस्ने गरको पाईएको छ । पसलमै आउने ग्राहकवाट उनलाई कारोना सरेको अनुमान गरिएको नगरपालिका कार्यालयले जनाएको छ ।
मंगलवार सहित सप्तरीमा कोरोना संक्रमितको संख्या ६८३ पुगेको छ भने मृतकको संख्या ३ छ । सोमवार साँझसम्म ४८ महिलासहित ४६० जना कोरोना जितेर घर फर्किसकेका छन् ।
सम्वन्धित समाचार
हनुमाननगर कंकालिनीमा ११ जनालाई कोरोना संक्रमण, सप्तरीमा संक्रमितको संख्या ६ सय ८३