• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

एकआपसको दोषारोपणमै विस्फोटक वन्दैछ राजविराजमा कोरोना

एकआपसको दोषारोपणमै विस्फोटक वन्दैछ राजविराजमा कोरोना

राजविराज, १४ साउन । भारतवाट कोरोना संक्रमित भएर आएका एक ब्यवसायीका कारण राजविराजमा संकटपुर्ण अवस्था छ । संक्रमित भएर आएका ब्यक्ति राजविराज ६ का ७३ वर्षिय ब्यवसायीको कारोनाकै कारण मृत्यु भयो । उनको परिवार र सम्पर्कमा पुगेका ब्यक्ति हुँदै २९ जनामा संक्रमण फैलिएको छ भने वडा नं. ६ सवैभन्दा प्रभावित छ । उक्त वडामा मात्रै ब्यापारी मार्फत संक्रमित भएको संख्या आधा भन्दा वढि छ ।

एकपछि अर्को संक्रमित थपिन थालेपछि सिङ्गो राजविराज यतिवेला त्रासमा छ। संक्रमण समुदायमै फैलिएको पुष्टि भएपछि राजविराज नगरपालिकाले तत्कालै लकडाउनको पुर्ण कार्यान्वयन तथा जिल्ला सुरक्षा समितिले साउन ८ गतेदेखि नगर क्षेत्रभित्र निशेधाज्ञा जारी गरेको छ । जसका कारण लामो लकडाउन भोगेका राजविराजवासी पुनः घरभित्रै थुनिएका छन् ।

तर, यो अवस्था आउनका पछाडि को जिम्मेवार छ र कहाँ कमजोरी भयो ? भन्ने विषय भने अहिले पनि गौण छ । सम्वन्धित निकाय ‘तै चुप–मै चुप’ को अवस्थामा छन् । हुन त केहि राजनितिककर्मीले यसको छानविन गर्न समिति नै गठन गर्नु पर्ने माग पनि गरेका छन् । तर, उनीहरुको कुरालाई हालसम्म सम्वन्धित निकायले सुनुवाई गरेको छैन । वरु उनीहरु नै एकअर्कालाई दोस देखाउन थालेका छन् ।

कोरोना संक्रमणको अवस्था र नियन्त्रणका लागि भईरहेका प्रयासका विषयमा जानकारी लिन साउन १२ गते राजविराज आएका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साह समक्ष नेकपाका प्रदेश सदस्य सुखराम यादवले छानविन समिति गठन गरेर दोशीलाई कारवाही गर्न माग गरे ।तर, उनको कुरालाई कसैले पनि गम्भिरता पुर्वक लिएको छैन।

वरु स्वास्थ्य कार्यालयले जनप्रतिनिधि र जनप्रतिनिधिले सुरक्षा निकायलाई दोस देखाउन थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख दुनियाँलाल यादव भन्छन्–‘यो विषय हामीलाई समयमै जानकारी भएको भए अहिलेको अवस्था आउने नै थिएन ।’

उनका अनुसार पत्निको उपचारका लागि चैत ५ गते भारतको दरभंगा गएका ति ब्यवसायी जनप्रतिनिधिसँग समन्वय गरेर असार १५ गते राजविराज फर्किए । नियमानुसार उनीहरु क्वारेन्टाईनमा वस्नु पर्ने थियो । तर, घरमा आएर पनि खाद्य बीज भण्डार र ग्यासको डिलर संचालन गर्न थाले। विरामीको वारेमा जानकारी लिन आउने र ब्यवसायसँग सम्वन्धित ब्यक्तिहरुको आउजाउ र भेटघाट जारी नै रह्यो । यसैक्रममा असार ३० गते उनलाई स्वासप्रस्वासमा समस्या देखियो । मुटु लगायतका विभिन्न दिर्घ रोग लागेका उनलाई उपचारका लागि विराटनगर हुँदै धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याईयो। स्वाब परीक्षण गर्दा साउन १ गते राति उनलाई कोरोना संक्रमण पुष्टि भयो र त्यसको ३ घण्टा भित्रै उनको मृत्यु भयो ।

जनप्रतिनिधिले स्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायलाई जानकारी नदिएकै कारण सहज रुपमा संक्रमण फैलिएको र ब्यवसायीले जिवन गुमाउनु परेको उनको ठहर छ ।

जनप्रतिनिधिले भने प्रारम्भिक चरणमा ब्यवसायीको परिवार भारतवाट फर्किएर होम क्वारेन्टाईनमा वसेको विषय आफुहरुलाई जानकारी नै नभएको वताईरहेका थिए । तर, पछिल्लो समय वडा नंं. ६ का अध्यक्ष प्रेम यादवले उनीहरु आएको तीन दिनपछि आफुले जानकारी पाएको वताउन थालेका छन् ।

राजविराज नगरपालिकाका मेयर शम्भु यादवले भने कोरोना संक्रमण फैलनुका पछाडि सुरक्षा निकायको पनि कमजारी भएको वताए। साउन १२ गते मुख्यमन्त्री राउत समाजिक विकासमन्त्री साह तथा सिडिओसहित सुरक्षा निकायका प्रमुखहरु समेत सहभागि रहेको कार्यक्रममा उनले भने–‘कोरोना संक्रमण नियन्त्रणका सवालमा सुरक्षा निकाय असक्षम भयो।’ साउन ११ गते मात्रै राजविराज ९ वाट जनप्रतिनिधिले भारतवाट आएका ६ जनालाई घरवाट क्वारेन्टाईनमा पठाएको प्रसंग उठाउँदै यादवले भने–‘सुरक्षा निकायलाई जानकारी नै नभई उनीहरु कसरी प्रवेश गरे ?’

राजविराज नगरपालिकाले लकडाउन पुर्ण कार्यान्वयनका लागि गरेको निर्णय कार्यान्वयनमा समेत सुरक्षा निकायले असहयोग गरेको उनको गुनासो थियो ।

सुरक्षा निकायका तर्फवाट भने हालसम्म यस विषयमा कुनै धारणा आएको छैन ।

तर, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अवधेश झाले भने राजविराजमा कोरोना फैलनमा सम्वन्धित कार्यालय, जनप्रनिधि र सुरक्षा निकाय सवैको कमजारी रहेको वताए । ‘भारतबाट आउने नेपालीका लागि सप्तरीको कुनौली नाका सर्तसहित खुला गरिएको छ । नेपाली सेनाको व्यवस्थापनमा रहेको सीमामै रहेको होल्डिङ सेन्टरमा त्यतावाट आउनेलाई राख्ने ब्यवस्था छ। उनीहरुको विवरण राखेर सम्बन्धित पालिकाले आफ्नो क्वारेन्टाइनमा लैजाने ब्यवस्था थियो’ उनले भने–‘राजविराज–६ का व्यापारी सिधै घरमा आएको पाईएको छ, उनका लागि त्यो सर्त किन लागु भएन ?’

‘होल्डिङ्ग सेन्टरको जिम्मेवारी लिएको नेपाली सेना, ७८ किलोमिटरको सिमा छेकेर वसेको सशस्त्र प्रहरी र शान्ति सुरक्षार्थ इलाका र चौकी खडा गरेर वसेको नेपाल प्रहरीले यस्को जिम्मेवारी लिनु पर्दैन’ कटाक्ष गर्दै उनले भने–‘सम्वन्धित वडाका अध्यक्षले तीन दिन पछि मात्री ब्यापारी घर आएको वताएका छन् । त्यसपछि उनलाई क्वारेन्टाईमा किन नलगेको ?’

भारतबाट आएका व्यापारीलाई सीमाबाटै क्वारेन्टाइनमा लान नसक्नुले नै राजविराजमा कोरोना संक्रमण फैलिएको उनले वताए ।