राजविराज, १२ साउन। राजविराजमा कोरोना संक्रमण समुदायमै फैलिदा पनि त्यसको रोकथाम र नियन्त्रणका लागि आवश्यक जनशक्ति र श्रोत/साधनको अभाव देखिएको छ ।
पिसिआर परिक्षणका लागि भिटिएम तथा स्वास्थ्यकर्मीका लागि मास्क, सेनिटाईजर लगायतका अत्यावश्यक सामग्री पनि सहज रुपमा उपलब्ध हुन सकेको छैन । यसैगरी, जनशक्ति र श्रोतसाधनकै अभावका कारण गजेन्द्रनारायण सिंह अस्पतालको उपचार र आईसोलेन ब्यवस्थापन पनि प्रभावित छ ।
कोरोना संक्रमणको असर, वाढि पहिरोको जोखिम तथा त्यसको रोकथाम र नियन्त्रणका विषयमा जानकारी लिन सोमवार राजविराज आएका प्रदेश २ का मुख्यमन्त्री लालवावु राउत र सामाजिक विकास मन्त्री नवलकिशोर साह समक्ष यस विषयमा सम्वन्धित कार्यालयका प्रमुखहरुले जानकारी गराए ।
जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियाँलाल यादवले सप्तरीमा सधैंभरी भिटिएमको अभाव हुँदा पिसिआर परिक्षण चुस्त रुपमा अघि वढ्न नसकेको वताए । पछिल्लो पटक प्रदेश सरकारले उपलब्ध गराएको १ हजार भिटिएम पनि सकिने अवस्थामा रहेकाले तत्कालै ५ हजार भिटिएमको ब्यवस्था मिलाई दिन उनले मुख्य मन्त्री र सामाजिक विकास मन्त्रीको ध्यानाकर्षण गराए । ‘कोरोनाको संक्रमण जुन हिसावले समुदायमा फैलिएको छ, त्यसलाई नियन्त्रण गर्न परिक्षण वढाउनुको विकल्प छैन’ उनले भने–‘तर, भिटिएम लगायतका सुरक्षा सामग्रीको अभाव छ, तत्कालै त्यसको ब्यवस्था मिलाई दिन म आग्रह गर्छु ।’
यसैगरी, पिसिआर परिक्षण लगायतका अन्य ब्यवस्थापनका लागि जिल्लाका विभिन्न स्थानमा पुग्न गाडि तथा आमा समुह र स्वयम् सेवीकाहरुलाई परिचालनका लागि आवश्यक पर्ने वजेटको पनि अभाव भएको उनले वताए ।
यसैगरी गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रणजीत कुमार झाले अहिले रहेको जनशक्तिका भरमा अस्पतालको सेवा र १७८ वेडको आईसोलेसन संचालन गर्न समस्या भएकाले थप जनशक्ति ब्यवस्थापन गर्न माग गरे ।
‘अहिले हामीसँग जम्मा ८ जना डाक्टर र १२ जना नर्स गरी जम्मा २० जना मात्र स्थाई जनशक्ति छ, करारमा भएका अन्य केहि जनशक्तिको भरमा काम गर्नु परेको छ’ झाले भने–‘महिनौदेखि पैसा नआएर तलव समेत दिन सकेको छैन, तलवको ग्यारेन्टि नै नभएका करारका कर्मचारीलाई अस्पताल र आईसोलेसन जा भनेर पठाउनु परेको छ ।’
अस्पतालकै लागि जनशक्ति अभाव रहेका वेला १७८ वेडको आईसोलन पनि तिनै जनशक्तिले सम्हाल्नु पर्दा अझै समस्या भएको उनले वताए । ‘३/४ दिन अघि इमर्जेन्सी वार्डका विरामीमा समेत कोरोना देखिएपछि १४ जना स्वास्थ्यकर्मी क्वारेन्टाईनमा छन’ उनले थपे–‘यस्तो अवस्थामा हामीले कसरी काम गर्ने ?’
साउनको सुरुवात देखि नै आईसोलेसनमा खानाको पैसा अभाव भएको झाले जानकारी दिए ।