राजविराज, १० साउन। जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले नेपालद्वारा सुगौली सन्धिको आधारमा सीमा निर्धारित गरी हालै प्रकाशित गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा आपत्ति जनाएको छ ।
जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ०७७ साउन १० गते सोह्र वर्ष पुरा गरी सत्र वर्ष प्रवेशको उपलक्ष्यमा केन्द्रिय अध्यक्ष जयकृष्ण गोईतद्वारा जारी गरिएको प्रेस विज्ञप्तीमा नयाँ नक्सा वारे यसरी आपत्ती जनाईएको छ ।
‘सुगौली सन्धिद्वारा ‘तराई’ नेपाली शासनबाट मुक्त भएको इतिहासको एउटा महत्वपूर्ण अध्याय हो । सन् १९५० को भरत–नेपाल तथा ब्रिटेन–नेपाल बीच काठमाण्डौंमा सम्पन्न भएको दुबै सन्धिहरुको धारा–८ को आधारमा ‘स्वतन्त्र तराई’ अर्थात तराई स्वतन्त्र राष्ट्र भएता पनि नेपाली शासकद्वारा तराई राष्ट्रमाथि बलपूर्वक शासन गर्दै आएकोले ०६१ साउन १० देखि हामी तराई राष्ट्रको मुक्तिको निम्ति वलिदानीपूर्ण संघर्ष गर्दै आएको कुरा सर्वविदितै छ’ विज्ञप्तीमा भनिएको छ–‘हाम्रो आपत्तीलाई बेवास्ता गर्दै नेपालद्वारा सुगौली सन्धिको आधारमा सीमा निर्धारित गरी हालै प्रकाशित गरिएको नेपालको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सामा हाम्रो ‘स्वतन्त्र तराई राष्ट्र’ मेचीदेखि महाकालीसम्म र महाभारत पर्वत श्रृंखलादेखि भारतको सिमानासम्मको भु–भागलाई समावेश गरिएको छ । अतः तराई राष्ट्रलाई नेपाली औपनिवेशिक शासनबाट मुक्त गराई तराईयनको राष्ट्रिय स्वाधीनता, स्वशासन र आत्म–स्वभिमान पुनस्र्थापित गराई तराईको समुन्नत विकास र समृद्धि निम्ति सम्पूर्ण तराईवासीहरु एकतावद्ध भई सबै खाले संघर्षलाई नयाँ उच्चाईमा उठाउनका निम्ति हामी हार्दिक अपील गर्दछौं ।’
स्वतन्त्र तराईको मुक्तिका लागि सहादत प्राप्त गर्ने, नेपाली शहीद, राजा त्रिभूवन, महेन्द्र र बीरेन्द्र, नेताहरु विशेश्वर प्रसाद कोइराला, गणेश मान सिंह र मनमोहन अधिकारी, नेपाली कवि आदिको सालिक ढाल्ने, निलम्बित राजा ज्ञानेन्द्र, तत्कालीन राष्ट्रप्रमुख तथा प्रधान मन्त्री गिरजा प्रसाद कोइरालाको पुत्ला जलाउने सवैलाई मोर्चाले वीर योद्धाको रुपमा सम्मान गरेको छ ।
यसैगरी, तत्कालीन नेकपा(एमाले) का महासचिव माधव कुमार नेपाल, तत्कालीन नेकपा (माओवादी) का अध्यक्ष पुष्प कमल दहाल (प्रचण्ड) र नेपाली सेनाका सहायकरथी दिलीप शम्शेर राणाको पुतला जलाउने, नेकपा (माओवादी), नेकपा (एमाले) र नेपाली काँग्रेसको कार्यालयमा आगो लगाने तथा स्वतन्त्र तराईमा सरकारी कार्यालयमा ‘मधेश सरकार’ लेखि स्वतन्त्र मधेशको उद्घोष गर्नेहरु प्रति पनि मोर्चाले सम्मान गरेको छ ।