• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

क्वारेन्टाईनमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीको गुनासो: २६ घण्टादेखि खान पाएनौं

निमित्त मेसु भन्छन्– होटल वन्द भएकाले पकाएर खान दिने मान्छे भेटिएन, फास्टफुड खुवायौं
क्वारेन्टाईनमा रहेका डाक्टर तथा स्वास्थ्यकर्मीको गुनासो: २६ घण्टादेखि खान पाएनौं

राजविराज, १० साउन। क्वारेन्टाईनमा रहेका सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुले २६ घण्टादेखि खान नपाएको गुनासो गरेका छन् ।

अस्पतालको इमर्जेन्सी वार्डमा उपचाररत तिलाठि कोईलाडि गाउँपालिका २ का ४८ वर्षिय एक बिरामी पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई शुक्रवारदेखि क्वारेन्टनमा राखिएको छ । विष सेवनका कारण ति पुरुष तीन दिन अघि उपचारका लागि अस्पताल भर्ना भएका थिए।

उनलाई कोरोना देखिएपछि सिल गरिएको इमर्जेन्सी वार्डको सेवा भने राती १२ वजेपछि सुचारु गरिएको छ ।

इमर्जेन्सीमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक कक्षमा कार्यरत ४ जना डाक्टर र पारमेडिक्स स्वास्थ्यकर्मी सहित १४ जनालाई क्वारेन्टाइमा राखिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित झाले बताए । उनीहरुलाई राजविराजकै एक होटलमा राखिएको छ ।

शुक्रवार साँझ ८ वजेदेखि देखिनै क्वारेन्टाईनमा राखिएका उनीहरुले शनिवार विहान १० वजेसम्म पनि खानाको ब्यवस्था नभएको गुनासो गरे ।

‘कतिपय डाक्टर र स्वास्थ्यकर्मी हिजो विहान ८ वजेदेखि नै ड्युटिमा थिए, त्यहि क्रममा क्वारेन्टाईनमा आउनु पर्यो’ एक डाक्टरले भने–‘कसैलाई पनि अहिलेसम्म खानेकुरा उपलब्ध भएको छैन ।’ राती चाउचाउ र विहान चिया र विस्कुटका भरमा सवैलाई राखिएको उनीहरुको गुनासो छ ।

अस्पतालका निमित्त मेसु झाले भने रातीको समय भएकाले होटलमा खाना नपाएको तथा पकाएर ख्वाउने ब्यक्ति समेत फेला नपरेपछि फास्टफुडको ब्यवस्था मिलाईएको वताए । शनिवार विहान उनीहरुलाई अर्को ठाउँमा सारेर वस्ने र खाने सम्पुर्ण ब्यवस्था मिलाईएको उनको भनाई छ ।