राजविराज, ७ साउन। कोरोना संक्रमणका कारण साउन १ गते एक जना ब्यापारीको मृत्यु तथा परिवार र सम्पर्कमा पुगेका गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएपछि राजविराजमा त्रास वढेको छ ।
मृतकको परिवारका ५ जना सदस्य, २ जना कामदार र २ जना छिमेकी समेतलाई कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार छिमेकी ५३ वर्षिय पुरुष र ४८ वर्षिय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि कान्ट्याक्ट ट्रेसिङ्गवाट फेला परेका संक्रमितको संख्या ९ पुगेको हो।
प्रथम चरणमा परिवार तथा दोश्रो चरणमा कामदार र छिमेकी हुँदै कोरोना तेश्रो चरणमा प्रवेश गरेको स्थानीयको आशंका छ। समुदायमा संक्रमण फैलिएको आशंकाले उनीहरु त्रसित छन । तर, संक्रमित ब्यक्तिको मृत्यु भएको ६ दिन वितिसक्दा पनि सम्वन्धित निकायले सर्वसाधारणलाई वस्तुगत अवस्थाका विषयमा ढुक्क पार्न सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले सोमवारसम्म कन्ट्याक्ट ट्रेसिङ्गमार्फत ५३ जनाको स्वाव परिक्षण गरेको छ । उनीहरु सवै ब्यापारी र उनको परिवारसँग प्रत्यक्ष सम्पर्कमा पुगेका ब्यक्ति हुन। ति मध्ये ९ जनाको रिपोर्ट पोजेटिभ आएको र केहिको रिपोर्ट आउन वाँकी नै रहेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवले वताए ।
दोश्रो चरणमा संक्रमित कामदार र छिमेकीको सम्पर्कमा पुगेकासहित करिव ६० जनाको मंगलवार स्वाव संकलन गरिएको छ । उनीहरुको पनि रिपोर्ट आउन वाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। ‘मृतक आफै पनि जनसम्पर्कमा रहने ब्यक्ति हुन। त्यसमाथि औषधी र ग्याँसको डिलर समेत भएकाले सम्पर्कमा पुगेका ब्यक्तिको पहिचान र परिक्षणलाई हामीले फराकीलो पारेका छौं’ उनले भने–‘तर, परिक्षणवाट नदेखिएसम्म कोरोना समुदायमा पुगेको भन्न मिल्दैन, अवस्था झन विग्रन सक्छ।’
स्थानीयवासी भने मंगलवारको स्वाव परिक्षणको रिपोर्ट आउँदासम्म समुदायमा थप प्रभाव पर्न सक्ने भन्दै चिन्तित छन् । ‘वजार पुर्ण रुपमा खुलेको छ, मान्छेको ओहोर हेर्दा कोरोनाको असर नै नभएको भान हुन्छ’ राजविराज–७ का वुद्धिजिवी छेदी यादव भन्छन्–‘यो अवस्थालाई ध्यानमा राखेर सम्वन्धित निकायले तत्काल लकडाउनलाई कडाई गरी परिक्षणको दायरा वढाउनु पर्छ।’
सर्वसाधारण मात्र होईन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पुर्व सिचाई मन्त्री उमेर कुमार यादवले पनि वर्तमान अवस्थालाई मध्येनजर गर्दै लकडाउनलाई कडाई गर्न र परिक्षणको दायरा वढाउन माग गरेका छन् । तर, स्थानीय प्रशासनको तर्फवाट यस विषयमा हालसम्म कुनै प्रतिक्रिया आएको छैन । जिल्ला स्वास्थ्य कार्यालयले भने मंगलवार संकलन गरिएको स्वावको रिपोर्ट आएपछि लकडाउनलाई कडाई गर्ने वा निस्चित क्षेत्रलाई सिल गर्ने भन्ने विषयमा निर्णय हुने जनाएको छ ।
राजविराज नगरपालिकाले भने माईकिङ्ग गरी वुधवारदेखि वजार÷पसल वन्द गर्न तथा अत्यावस्यक काम वाहेक घर वाहिर ननिस्कन आग्रह गरेको छ ।
कसरी फैलियो कोरोना
रिपोर्ट अनुसार विरामी अस्थामा रहेकी मृतककी पत्निलाई गत चैत ५ गते उपचारका लागि भारतको दरभंगा लगिएको थियो । उपचारपछि असार १५ गते उनीहरु घर फर्किए। नियमअनुसार भारतवाट फर्केपछि उनीहरुलाई क्वारेन्टाईनमा राख्नुपर्ने थियो । तर, न त सिमानामा कसैले रोकटोक ग¥यो न त क्वारेन्टाईनमा राखियो ।
समाजमा नाम चलेका र प्रतिष्ठित ब्यक्ति भएका कारण ब्यापारीको परिवार ‘होम क्वारेन्टाईन’ भनेर घरमै वसेको स्थानीयवासीले जानकारी दिए । स्वास्थ्य कार्यालय, जनप्रतिनिधि तथा प्रहरी÷प्रशासनले समेत उनीहरुलाई क्वारेन्टाईनमा राख्ने विषयमा ध्यान नदिएको स्थानीयको आरोप छ । ‘उनीहरु स्वभाविक रुपमै भारतवाट नेपाल आए, अनि घरमा वसेर ब्यापार गर्न थाले’ वुद्धिजिवी छेदी यादव भन्छन्–‘यति हुँदासम्म सम्वन्धित क्षेत्रका जनप्रतिनिधि, राजनितिक दलका नेता, स्वास्थ्यकर्मी र प्रहरी÷प्रशासनले ध्यान दिनुपर्दैन ? सवैले वेवास्ता गरेपछि विरामी भेटन जाने आफन्त र छिमेकी तथा काम गर्न जाने कर्मचारी हुँदै कोरोनाको संक्रमण फैलिएको स्थानीयको वुझाई छ ।
साउन १ गते अचानक ब्यापारीको कोरोनाका कारण मृत्यु भएको हल्ला चलेपछि मात्रै स्वास्थ्य परिक्षणका लागि कुदाकुद भएको स्थानीयहरु वताउँछन् ।
हामीलाई जानकारी नै थिएनः स्वास्थ्य कार्यालय
जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले भने ब्यापारीको परिवार भारत गएको र त्यहाँवाट फर्केर घरमै वसेको विषयमा जानकारी नै नदिईएको दावी गरे । ‘स्वास्थ्य जस्तो सम्वेदनसिल विषयमा पनि केहिलेकाही राजनिति हुन्छ, त्यहिवाट समस्या पनि सुरु हुने हो’ यादवले भने–‘हामीले पहिला देखि नै होम क्वारेन्टाईनको विषयमा विरोध गरेका छौं, तर उनीहरुको विषयमा हामीलाई जानकारी नै दिईएन।’
केहि जनप्रतिनिधि र राजनितिक दलको आडमा उनीहरु घरमा वसेको र ब्यापारीको मृत्यु भएपछि मात्रै आफुहरुलाई त्यस विषयमा जानकारी आएको उनले वताए ।
आरोप निराधार होः मेयर यादव
राजविराज नगरपालिकाका मेयर शम्भु यादवले भने सर्वसाधारणले लगाउने गरेको आरोप निराधार भएको प्रतिक्रिया दिए । कोरोना संक्रमण रोक्ने जिम्मेवारी जनप्रतिनिधि, प्रशासन र स्वास्थ्य कार्यालयको मात्र नभएर समुदायको पनि हुने भएकाले छिमेकी र गाउँलले जिम्मेवार हुनु पर्ने उनको भनाई छ । भारतवाट आएपछि सम्वन्धित ब्यक्तिले नै सम्वन्धित स्थानीय तहमा सम्पर्क गर्नु पर्नेमा त्यस्तो नगरी आफुखुसी आएर घरमा वसेका कारण त्यो विषयमा जनप्रतिनिधिलाई जानकारी नभएको यादवले प्रष्ट्याए । ‘छिमेकीले पनि हामीलाई जानकारी गराएनन्’ उनले थपे–‘मान्छे मरिसकेपछि मात्रै सवै कुरा वाहिर आयो।’
ब्यापार गर्ने छुट थिएनः जिल्ला प्रशासन कार्यालय
जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरले भने भरखरै उपचार गराएर आएको र चेकअपका लागि गईरहनु पर्ने भएकाले होम क्वारेन्टानमा वस्न दिईएपनि ब्यापार गर्ने छुट नदिईएको वताए । उनले भने– ‘वडा अध्यक्ष प्रेम यादवको भनाई अनुसार उनीहरुलाई होम क्वारेन्टाईनमा वस्न दिए पनि ब्यापार गर्ने छुट थिएन। तर, केहि कमजोरी भएको जानकारी हामीलाई पनि आएको छ ।’