राजविराज, ६ साउन। नेपाल पत्रकार महासंघ सप्तरीले समाचार संकलन तथा सम्प्रेषणको विषयमा पत्रकारहरुमाथि अवरोध एवम् दुर्व्यवहार गर्ने कार्यको भर्त्सना गरेको छ। महासंघका जिल्ला अध्यक्ष जितेन्द्र खड्गाले मंगलवार एक प्रेस विज्ञप्ती जारी गरी त्यस्तो घट्नाको भर्त्सना गरेका हुन्।
केहि दिनको अन्तरालमै एभिन्युज टेलिभिजनका सप्तरी सम्वाददाता बैद्यनाथ यादव तथा माउन्टेन टेलिभिजनका सप्तरी सम्वाददाता दिवाकर साहलाई दुव्र्यवहार गरिएको घटनामा महासंघले आपत्ति प्रकट गरेको छ। समाचार संकलन एवम् सम्प्रेषणमा अवरोध श्रृजना गर्ने कार्य सह्य नहुने विज्ञप्तीमा उल्लेख छ। विगत केही दिनयता सम्प्रेषित समाचार तथा सामाजिक सञ्जालहरुमा सम्प्रेसण गरिएका विषयहरुप्रति व्यापक जनगुनासो बढेकोले सो सन्दर्भमा सम्बन्धित सञ्चारकर्मीहरुलाई समेत महासंघले सचेत गराएको छ।
सत्यतथ्यमा आधारित भई पत्रकार आचारसंहिताको अनिवार्य रुपमा पालना गदै पत्रकारिताको भूमिका निर्वाह गर्न अपील गरिएको छ।
समाचारको विषयमा चित्त नबुझे निरुपणको कानूनी उपायहरु अवलम्वन गर्ने बाटो हुँदाहुँदै बाधा, अड्चन पुर्याउने कार्यमा संलग्न व्यक्तिहरुलाई कडा कार्वाही गर्न महासंघले स्थानीय प्रशासनसँग माग गरको छ।