राजविराज, ५ साउन। पहाडी भेगमा लगातारको वर्षाका कारण सप्तकोशी नदीमा पानीको वहाव वढेको छ ।
सोमवार साँझ ९ वजे पानीको वहाव २ लाख ४२ हजार ६ सय १० क्युसेक मापन गरिएको छ । कोशी ब्यारेजका ५६ मध्ये ४० वटा ढोका खुल्ला गरिएको कोशी नियन्त्रण शाखाले जनाएको छ ।
सोहि समयमा वराह क्षेत्रमा पानीको वाहव २ लाख ६६ हजार २५० क्युसेक मापन भएको र वाढि वढ्ने क्रम जारी नै रहेकाले ब्यारेजमा वाढिको वहाव अझै वढ्ने देखिएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले जल तथा मौसम विज्ञान विभागलाई उध्रित गर्दै कोशी नदि चतरा वाढि मापन केन्द्रमा जल सतहले सतर्कता तह पार गरेको र वढ्दो क्रममा रहेकाले राति १२ वजेसम्म ब्यारेजमा खतरा तह आसपास पुग्न सक्ने जनाएको छ । प्रशासनले मंगलवार विहानसम्म नदि तटिय क्षेत्रका वासिन्दालाई सतर्कताका साथ रहन पनि आग्रह गरेको छ ।
१९६२ सालमा निर्माण भएको कोशी ब्यारेजमा निर्माणताका १२ लाख क्यूसेक पानीको वहाव क्षमता थियो । तर वालुवा र ग्रेगर जम्मा भएका कारण अहिले १ लाख ५० हजार क्युसेक पानीको वहाव पुुगे खतराको संकेत स्वरुप पुलको दुवै तर्फ रातो झण्डा र रातो वत्ति वालेर खतराको संकेत गर्ने गरिएको छ ।