राजविराज, ३ साउन। नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारीहरुको शनिवार वसेको वैठकले कोरोना परीक्षणको दायरा व्यापक बनाउन सरकारसँग माग गरेको छ ।
बैठकले परीक्षणको दायरा बढाउँदै युद्धस्तरमा काम गर्न माग गरेको कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाए ।
पौडेलले जारी गरेको विज्ञप्ति अनुसार वैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ ।
वैठकले कोरोनाको जोखिम सामना गर्न हालसम्म गरिएका तयारीको समिक्षा गरेको छ । समय पर्याप्त पाएर पनि पर्याप्त तयारी नगरिनुलाई अत्यन्तै दुःखद रूपमा लिंदै बैठकले संक्रमण दोस्रो चरणमा प्रवेश गरेको स्थितिलाई गम्भीरतापूर्वक लिएर परिक्षणको दायरा तत्काल व्यापक रुपले बढाएर युद्धस्तरमा कार्य गर्न सरकारलाई अपील गरेको छ ।
आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन पार्टीले नेपाल सरकारलाई हरसम्भव सघाउने निर्णय गरेको छ । स्वास्थकर्मीहरुको उच्च मानवीय भावना र समर्पणले कोरोना विरुद्धको संघर्षमा सफलता मिल्ने विश्वाससाथ बैठकले देशभरिका स्वास्थकर्र्मीहरुप्रति उच्च सम्मान प्रकट गरेको छ । पीपिई, परिक्षण कीट र भेन्टिलेटर लगायत अत्यावश्यक सामग्री अझैसम्म नपुग्दा परेको मनोबैज्ञानिक तनाव तत्काल अन्त्य गर्न यथाशीघ्र ती सामग्रीको बन्दोबस्त गर्न बैठकले सरकारलाई अपील गरेको छ ।
अहोरात्र कार्य गरिरहेका सुरक्षाकर्मी एवं निरन्तर सुसूचित गरिरहेका संचारकर्मीहरुलाई संक्रमणको जोखिमबाट सुरक्षित राख्ने अत्यावश्यक प्रबन्ध मिलाउनपनि सरकारलाई माग गरिएको छ । लक डाउन पालना गर्दै संयम, एकता र उच्च सतर्कता राख्न बैठकले सबैलाई अपील गरेको छ ।
यसैगरी, स्वास्थ सामग्री खरिदमा बजार मूल्य भन्दा बढी राज्यकोषको रकम निकासा गराएर गरिएको भ्रष्टाचार र अनियमिततामा संलग्नहरुलाई पदमुक्त गर्न अपील गर्दै बैठकले अनिवार्य छानवीन र कार्वाहीको बिषयमा ढिलाइ नगर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ भने देश बाहिर अप्ठ्यारोमा परेर घर फर्कन चाहेका र सिमानामै आइपुगेर प्रवेश चाहिरहेका नेपालीलाई ब्यवस्थित रुपले क्वारेन्टाइनमा राख्ने तयारी गरेर देश भित्रिन दिने ब्यवस्था मिलाउन सरकार समक्ष माग गरिएको छ ।
ज्यालादारी श्रमिकहरु धेरैकोमा अझ पनि राहत नपुग्दा जीवन कष्टकर बनेको ध्यानाकर्षण सरकारलाई गराउँदै बेरोजगार र शहरी क्षेत्रमा डेरा गरि बसेका विद्यार्थीहरुका लागिपनि तत्काल राहत घोषणा गर्न बैठकले माग गरेको छ । साना ठुला सबै ब्यवसायीको ब्यवसायमा लक डाउनले पु¥याएको असर दृष्टिगत गरेर थप राहतको प्याकेज ब्यवहारिक ढंगले ल्याउन बैठकले माग गरिएको छ ।
अत्यावश्यक खाद्यान्नको आपूर्ति देखि उत्पादनसम्मको ब्यवस्थालाई जोखिममुक्त ढंगले सहजीकरण गर्न÷गराउन बैठकले सरकारको ध्यानाकर्षण गराएको छ । लक डाउनले गर्दा कृषि क्षेत्र र किसानलाई परेको मर्कामा आवश्यक राहत घोषणा गर्न बैठकले सरकार समक्ष माग गरेको छ । आ–आफ्नो प्रदेशमा विशेष समन्वयको भूमिका बढाउन प्रदेश सरकारहरुलाई एवं वडा र टोलसम्म जनसम्पर्कमा पुगेर हरतरहले नागरिक पंक्तिलाई यो संकटमा सहयोग पु¥याउन स्थानीय सरकारहरुलाई अपिल गरिएको छ ।
बिदेशमा रहेका सबै नेपालीको स्थितिप्रति चिन्ता व्यक्त गर्दै बैठकले विशेष ध्यान पु¥याउन सरकारलाई आग्रह गरेको छ । बेलायत र अमेरिकामा कोरोना संक्रमणले मृत्यु भएका नेपालीहरुको परिवारजनप्रति समवेदना व्यक्त गर्दै बैठकले नेपाली डायस्पोरालाई आपसी एकता र भाइचाराको भावनाले आजको संकट सामना गर्न अपील गरेको छ । विश्वभरिनै कोरोनाले गर्दा जीवन गुमाएका हजारौं मानिसप्रति बैठकले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
प्रतिकूल स्थितिमा एकता र सतर्कताका साथ मानवीय सेवाको उच्च भावनाले निरन्तर कार्य गर्न बैठकले देशभरिका पार्टी सदस्य र शुभचिन्तक एवं बिदेश स्थित नेपाली जनसम्पर्क समितिमा रहेका सबैलाई अपील गरेको छ ।
कोरोनाको जोखिमसँग जुध्न बैठकले एक विज्ञ समूह निर्माण गरेर निरन्तर समुहको परामर्शमा कार्य गर्ने निर्णय गरेको छ । पार्टीका सबै केन्द्रीय सदस्य, संघीय र प्रदेश सांसदहरु एवं सबै तहको नेतृत्वलाई आफ्नो जिम्मेवारीको क्षेत्रमा विशेष रुपले कार्य गर्न बैठकले निर्देशन गरेको छ ।