• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

कृषि

उत्पादित आँपले बजार नपाउँदा किसानहरु मारमा

सप्तरीमा यसवर्ष आँप उत्पादनमा व्यापक वृद्धि
उत्पादित आँपले बजार नपाउँदा किसानहरु मारमा

राजविराज, २१ असार । सप्तरी जिल्लामा यसवर्ष आँप उत्पादनमा वृद्धि भए पनि समुचित बजार नपाउँदा आँप कृषकहरु मारमा परेका छन् ।
आँपको राजधानी भनेर चिनिने यस जिल्लामा उत्पादित आँपले बजार नपाउँदा कृषकहरु मारमा परेका हुन् । गत वर्ष आँप कम फलेकोमा यो वर्ष कुल ८ हजार हेक्टर क्षेत्रफलमा ९६ हजार मेट्रिक टन आँप उत्पादन भएको छ ।
यो वर्ष अत्यधिक आँप उत्पादन भए पनि बिक्रीकालागि समुचित बजार नपाउँदा आफुहरु मारमा परेको सुरुङ्गा नगरपालिकाकी पार्वती चौधरीले दुःखेसो सुनाईन् । लकडाउनका कारण यातायातका साधनहरु समेत नचल्दा सस्तोमा आँप बिक्री गर्नु परेको बताउँदै उनले भनिन् ‘गत–विगतका वर्षहरुमा प्रति किलो ८० रुपैयाँसम्म बिक्री हुने गरेकोमा यो वर्ष प्रतिकिलो ३० रुपैयाँमा आँप बिक्री गर्नुपर्ने बाध्यता छ ।’
यस्तै दुःखेसो रहेको छ अर्का आँप कृषक रामबहादुर चौधरीको पनि । लकडाउनले गर्दा यो वर्ष आँप अत्यधिक उत्पादन भए पनि आँप बाहिर पठाउनसक्ने अवस्था नरहेकोले आफुहरुलाई समस्या भएको उनले बताए । आँप उत्पादक कृषकहरुकालागि यातायात आपूर्ति सहज बनाउनुपर्नेमा जोड दिँदै कृषक चौधरीले भने ‘उत्पादित चाँडै बिक्री नहुँदा कुहिन थालेकोले सस्तोमा बेच्नुपर्ने अवस्था छ, अझै यातायात सहज हामीहरुलाई सहज हुनेथियो ।’
अघिल्लो वर्ष करिब ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा ७ हजार मेट्रिक टन आँप उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख राजेन्द्र प्रसाद यादवले बताए । अघिल्लो वर्ष मजुरा लागेदेखि नै हावाहुरी र असिनाले आँपमा क्षति पु¥याएपनि यस वर्ष मौसमले साथ दिएसँगै ८ हजार हेक्टर क्षेत्रफलमै आँप उत्पादन भएको उनले जानकारी दिए ।
यस अघिका वर्षहरुमा सप्तरीमा उत्पादित आँप काठमाण्डौं, पोखरा, नारायणगढ, विराटनगर र धरान लगायतका सहरहरुमा निर्यात हुँदैआएको थियो ।