• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

जिवन शैली

रविन्द्र र अञ्जली बिच विना दाइजो विवाह सम्पन्न

हलुवाई समाजका अध्यक्ष भन्छन् ‘उदाहरणीय विवाह’
रविन्द्र र अञ्जली बिच विना दाइजो विवाह सम्पन्न

राजविराज, ४ असार । सामाजिक विकृतिको रुपमा रहेको दाइजो प्रथालाई चुनौती दिँदै सप्तरीको राजविराज नगरपालिका वडा नम्वर–६ का युवा रविन्द्र कुमार साह बुधबार वैवाहिक बन्धनमा बाँधिएका छन् ।
बेलका नगरपालिका वडा नम्वर–१ मा मौसाको घरमा सानैदेखि बसोवास गर्दै आएकी अञ्जली कुमारी साहसँग उनी वैवाहिक बन्धनमा बाँधिएका हुन् । लक्ष्मण साह हलुवाई र माया देवीका कान्छो रविन्द्र र शंकर प्रसाद साह र अनोखा देवी साहकी कान्छी छोरी अञ्जली बिच राजविराज स्थित थानगाछीको गोविन्द गणिनाथ मन्दिरमा विवाह सम्पन्न भएको छ ।
लकडाउनको अवस्था रहेकोले आफ्नै पारिवारिक व्यक्ति तथा दुलही पक्षका अभिभावकको मात्र उपस्थिति थियो । आ–आफ्ना अभिभावकका साथ दुलही–दुलही मन्दिरमा उपस्थिति भई हिन्दू परम्परा अनुसार गोबिन्द गणिनाथलाई साक्षी राखी विवाह गरेका छन् ।
केही महिना अघिसम्म रेडियोमा समाचार वाचकको रुपमा कार्य गरिसकेका रविन्द्र फिजिक्समा बीएससी उतीर्ण गरी राजविराज स्थित महेन्द्र विन्देश्वरी बहुमुखि क्याम्पसमा सामाजिक शास्त्रमा स्नातकोत्तर अध्ययनरत छन् । बेहुली अञ्जली भने कक्षा १२ अध्ययनरत छिन् । अञ्जलीको स्थायी घर भारतको अन्धरामण्ठ रहे पनि तीन–चार वर्षकै उमेरदेखि बस्दैआएकोले मौसा दिलीप प्रसाद साह मौसी द्रोपदी देवी साहले विवाह सम्पन्न गराएका छन् । एमआइएस अपरेटर (नासु) पदमा कार्यरत रविन्द्रले ससुराली पक्षबाट एक रुपैयाँ पनि नलिई विहे गर्न पाउँदा आफुसहित परिवारजन खुशी रहेको बताए । आफुले मिडियामा कार्यरत रहँदा विभिन्न कार्यक्रमहरुमा सहभागी हुँदा त्यतिबेलादेखि नै बिना दाइजो विवाह गर्ने सोच मनमा आएको चर्चा गर्दै उनले भने ‘सम्पूर्ण शिक्षित युवाहरुले दाइजो विरुद्ध संकल्प लिएर अगाडि बढे दाइजो कुप्रथा अन्त्य हुने निश्चित छ ।’
हलुवाई जातिको नगर माइन्जन समेत रहेका रविन्द्रका बुवा लक्ष्मण स्थानीय हटियामा खादबीजको पसल सञ्चालन गर्दैआएका छन् । दाइजो समाजको कलङ्कको रुपमा रहेको तथा दाइजोकै छोरीहरुमाथि हिंसा भईरहेको वास्तविक तथ्यलाई महशुष गर्दै आफुले छोरा रविन्द्रको विहेमा एक रुपैयाँ पनि नलिई विवाह गर्ने संकल्प राखेको र त्यो संकल्प साकार भएको उनले बताए । छोरी र बुहारीमा कुनै अन्तर नरहेको बताउँदै उनले भने ‘मैले शुरुदेखि सोचेको थिएँ कि छोराको विहेमा एक रुपैयाँ पनि लिन्न तर त्यही भयो, म लगायत सम्पूर्ण अत्यन्तै खुशी छौं ।’
शुरुमा विवाह खर्च वापत केही लिन आग्रह भए पनि त्यसलाई वेवास्ता गर्दै दुलही पक्षलाई केही पनि नलिई पूर्ण आदर्श विवाह गर्ने प्रस्ताव गरेपछि अञ्जलीका अभिभावकले सहर्ष स्वीकार गरे । यहाँसम्म कि दुलहाले लगाउने लुगा समेत आफै सिलाएको कोटपैन्टमा विवाह स्थल थानगाछी पुगेका थिए । बिना तडक–भडक बिना जमघट केही घण्टामै विवाह सम्पन्न भएको छ ।
वैवाहिक बन्धनका अवसरमा उपस्थित हलुवाई समाज नेपालका केन्द्रिय अध्यक्ष शत्रुध्न साह, कोषाध्यक्ष शिबजी प्रसाद साह लगायतका पदाधिकारीहरु दुलहा–दुलहीलाई आशिर्वाद दिँदै उक्त विवाहको सराहना गरेका छन् । ‘न्यूज टुडे’सँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष शत्रुध्नले भने ‘हलुवाई समाजकालागि यो उदाहरणीय विवाह हो, हामीले हलुवाई जातीबाट दाइजो लेनदेनलाई पूर्ण रुपमा निर्मूल पार्ने अभियानमा छौं, शिक्षित युवाहरुले यस्ता विवाहबाट प्रेरणा लिनुपर्दछ ।’
लक्ष्मण नगरकै माइन्जन भएकोले अरुलाई उपदेश दिनुभन्दा आफैबाट दाइजो विरोधी अभियानलाई अगाडि बढाएको उनले बताए । हलुवाई जातिमा विस्तारै शिक्षाको स्तर माथि उक्लिन थालेको जानकारी दिँदै अध्यक्ष साहले भने ‘शिक्षित युवाहरुले लेनदेन अर्थात दाइजोको नाममा भईरहेको खरिदविक्री जस्ता जघन्य कार्य अविलम्व अन्त्य हुनु जरुरी छ ।’