राजविराज, ३ असार । कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकार गम्भीर नभएको भन्दै सप्तरीका युवा विद्यार्थीहरुले राजविराजमा प्लेकार्ड सहित बुधबार प्रदर्शन गरेका छन् । सरकारलाई गम्भीर बन्न आग्रह गर्दै उनीहरुले राजविराज स्थित गजेन्द्र चौकमा प्रदर्शन गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामको नाममा १० अर्ब रुपैयाँ खर्च गरेको देखाइए पनि जिल्लाका क्वारेन्टाइनहरु अव्यवस्थित रहनुका साथै विकास निर्माणको नाममा आएको बजेट समेत दुरुपयोग भईरहेकोले आफुहरु सचेत गराउनकालागि प्रदर्शन गरेको संयोजक प्रतिष्ठा यादवले जानकारी दिईन् । प्रदेश सरकार तथा स्थानीय सरकार समेत जनताप्रति गम्भीर नरहेको गुनासो गर्दै उनले भनिन् ‘बाढीको पानी बगे झैं रकम खर्च भएको छ तर वास्तविक धरातलमा भने परिणाममुखि देखिदैन ।’
‘सरकारलाई नै स्यानिटाइज गर्नुपर्ने, अब अति भो’ लगायतका नाराहरु लेखिएको प्लेकार्डसहित युवा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनहरु व्यवस्थित हुनुपर्ने लगायतका माग विद्यार्थीहरुले राखेका छन् ।
विद्यार्थीहरुले सरकारी बजेटको फजुल नियन्त्रण गर्न र बन्दाबन्दीलाई पूर्ण रुपमा कार्यान्वय गराउनेतर्फ पनि ध्यान पुर्याउन सरकारलाई ध्यानाकर्षण गराएका छन् । आफुहरुको आग्रहलाई वेवास्ता गरिए देशैभरि शान्तिपूर्ण आन्दोलनलाई सशक्त रुपमा अगाडि बढाउने उनीहरुले चेतावनी दिएका छन् ।
