राजविराज, ३१ जेठ । जनता समाजवादी पार्टीका वरिष्ठ नेता एवम् सांसद राजेन्द्र महतोले मधेशी जनताले सेना बनेर सिमा रक्षा गरिरहेको भन्दै देश बेचुवाहरुको खोजी हुनुपर्ने बताएका छन् ।
शनिवार बसेको प्रतिनिधि सभाको बैठकमा नेपालको नयाँ नक्सा सम्वन्धी प्रस्तावमा समर्थन गर्दै उनले यस्तो बताएका हुन् । राष्ट्रियताको सवालमा मधेशी जनतामाथि पटक–पटक आशंका गर्ने गरेकोप्रति आक्रोश व्यक्त गर्दै उनले भने ‘मधेशीहरु त सिमामा सेना बनेर सिमाको रक्षा गर्दैआएको छ, मधेशीहरुको राष्ट्रियतामाथि प्रश्न नउठाईयोस्, बरु देश बेचुवाहरुको खोजी गरी सार्वजनिक गरियोस् ।’
वर्तमान संविधान सबैको हुन नसकेको भन्दै हिमाल, पहाड र मधेशको हुनुपर्नेमा सांसद महतोले बताए । ‘जब संविधान संशोधनको कुरा आउँछ तब पीडा हामीलाई हुन्छ, सयौं जनताले ज्यान गुमाएको छ तर अझैं यो संविधान मधेशी, आदिवासी, दलित, जनजाती, थारु, राई, लिम्बु, मगर लगायतका उत्पीडित उपेक्षित जनताको बन्न सकेन’ उनले भने ‘भूमी मात्र राष्ट्रियता होईन, जनता पनि हो, असन्तुष्टिका बावजुद हामीले नयाँ नक्सा सम्वन्धी प्रस्तावमा समर्थन गरेका हौं ।’
देशको राष्ट्रियताको सवालमा आफुहरु एकजुट रहेको बताउँदै सांसद महतोले कागजमा नक्सा कोरेर मात्र नभई वास्तविकतामा जमिन फिर्ता ल्याउनुपर्नेमा जोड दिए । नेपाल–भारत बिचको सम्वन्ध सदियौंदेखि रहँदैआएको चर्चा गर्दै उनले भने ‘दुई देशको सम्वन्ध दुई देश बिचका जनता बिचको सम्वन्ध हो, दुई देश बिच वार्ता र सम्वादको माध्यमबाट विवाद समाधान गर्नुपर्दछ ।’