श्यामसुन्दर यादव
राजविराज, ३० जेठ । निरंकुश पञ्चायती शासन व्यवस्था अन्त्य भएको लगभग तीन दशक वितिसकेको छ तर अझैं गाउँहरुमा पञ्चायती र क्रुर अमानवीय दण्ड दिने कार्य रोकिएको छैन ।
यस्तै मानवता विरोधी र हैकमवादी शैलीको उदाहरण बनेको छ सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर–४ को बेल्ही चपेना गाउँ । उक्त गाउँका सदा (मुसहर) समुदायका पाँच जना दलित युवाहरुलाई चोरीको आरोपमा विहीबार १८ वर्षिय अर्जुन सदा, १४ वर्षिय जैनु सदा, १६ वर्षिय जिबछ सदा, १८ वर्षिय कन्तलाल सदा, र १७ वर्षिय दुर्गे सदा सामुहिक रुपमा निर्घात कुटिएका हुन् । यतिमात्र होइन, उनीहरुलाई जरिवाना समेत तिराउन लगाईएको छ ।
स्थानीय एक व्यक्तिको पम्पिङ्गसेट चोरी गरेको आरोपमा सामुहिक भेला बोलाई युवाहरुलाई बाँसको छडीले निर्घात कुटपीट गर्दै जरिवाना तिराउन लगाईएको पीडितहरुले जानकारी दिएका छन् । वडा अध्यक्ष हेमनारायण साहको उपस्थितिमा युवाहरुलाई बाँसको छडीले प्रत्येक युवालाई भ्याएसम्म जोडले ११ पटक हिर्काउने तथा अभिभावकहरुबाट २ हजार ५ सय रुपैयाँ जरिवाना तिराउन लगाईएको छ ।
वडा कार्यालय अगाडि रहेको कृषि सेडमा राखिएको पञ्चायतीमा स्थानीय जनप्रतिनीधि, राजनीतिकर्मी, वुद्धिजिवी, युवा समेतको सहभागिता रहेको पञ्चायतीमा उनीहरुलाई निर्ममतापूर्वक कुट्ने र जरिवाना तिराउने निर्णय गरिएको थियो । कुटपीटको सजाय दिईसकेर ती युवाहरुलाई वडा कार्यालयमै थुनेर राखिएको थियो । लकडाउनको अवस्थामा सदा परिवारलाई दैनिक छाक टार्न समस्या रहेकोले उनीहरुले साहु महाजनकोमा गहना जेबर बन्धकी राखेर रकम जुटाएका थिए । वडा कार्यालयमा रकम बुझाएपछि ती युवाहरुलाई मुक्त गरिएको थियो । उनीहरुमध्ये दुई जना युवा भागेका छन् । यद्यपी उनीहरुका अभिभावकले जरिवाना तिरिदिएको छ तर बाँसको छडीको कुटाई भने बाँकी नै रहेको जनाईएको छ ।
यसरी युवाहरुले चोरे पानी तान्ने पम्प
लामो लकडाउनका कारण घरमा उनीहरुलाई छाक टार्न समस्या थियो । लकडाउन खुकुलो भएपछि वस्तीका युवाहरु काममा निस्किएका थिए । युवाहरुको एउटा समूह नजिकैको गाउँ सिम्राहामा निर्माण सम्वन्धी काम गर्न गएका थिए । काम सकेर घर फर्किरहेको अवस्थामा बाटोमा स्थानीय बेचन मण्डलको खेतमा जडान गरिएको पानी तान्ने पम्म खोलेर वस्तीमा ल्याए ।
अभिभावकहरुले पानी तान्ने पम्प चोरी गरेर ल्याएको थाहा पाएपछि युवाहरु फिर्ता गर्न दवाब दिए । त्यसपछि उनीहरुले आफुहरुले पम्प ल्याएको स्वीकार गर्दै खेतमै मोटर पुर्याई दिए । चोरी गरेको मोटर फिर्ता गरेपछि विहीबार वडा कार्यालय अगाडिको सेडमा पञ्चायती बोलाईएको थियो । सोही पञ्चायतीमा सदा युवाहरुलाई निर्घात कुटपीट र नगद जरिवाना गरिएको थियो ।
के भन्छन् पीडित युवाहरु
आफुहरुले पानी तान्ने पम्प चोरी गरेको स्वीकार गरेका छन् । सोच विचार नगरी चोरी गरिएको मोटर फिर्ता गरिसकेर गल्ती स्वीकार गर्दा पनि निर्घात कुटपीट र नगद जरिवाना गरेको पीडित युवाहरुले गुनासो गरे । पञ्चायतीमा आफुहरुले जतिसुकै अनुनय विनय गर्दा पनि कसैले दयाभाव नदेखाएको जैनु सदाले बताए । ‘हाम्रा अभिभाकहरुले केही बोल्न खोज्दा उनीहरुका अगाडि केही जोर चलेन, बोल्न खोज्नेलाई समेत कुट्ने प्रयास भयो’ उनले भने ‘त्यत्रो भेलामा हामीले सहनु बाहेक कुनै विकल्प नै थिएन, हाम्रालागि एक शब्द बोलिदिने कोही भएन ।’
सदा वस्तीका अभिभावकहरुको भनाई
आफुहरुले वर्षौदेखि पीडित रहँदैआएको र अझैं पनि पीडा सहनुपर्ने नियती नै बनिसकेको स्थानीय ७० वर्षिय नन्दिनी सदाले बताए । किशोरावस्थादेखि नै अन्याय अत्याचार विरुद्ध आफु संघर्ष गर्दैआएको जानकारी दिँदै उनले भने ‘पञ्चायती शासनकालमा पनि हामी सदाहरुमाथि यस्तै आरोप तथा दमनहरु सहनुपर्ने अवस्था थियो, आज पनि उस्तै छ, हाम्रालागि सत्य कुरा पनि बोलिदिने कोही भएन ।’ आफै भोट दिएर जिताएका जनप्रतिनिधीहरु समेत सहारा नबनिदिँदा मन खिन्न भएको दुःखेसो सुनाउँदै उनले युवाहरु चोरी गरेको थियो भने कानूनी रुपमा कार्वाही नगरी चरम यातना र रकम जरिवाना गर्नु घोर निन्दीय भएको बताए । ‘पञ्चायतीले धर्म पनि लियो र धन पनि लियो, दुईटै सजाय नहुनुपर्ने थियो’ वयोवृद्ध नन्दिनीले थपे ‘गाउँगाउँमा सरकार आएको भन्छन् तर हामीले त अझैं अनुभूती गर्न पाएका छैनौं ।’
के भन्छन् वडा अध्यक्ष
राजगढ गाउँपालिका वडा नम्वर–४ अध्यक्ष हेमनारायण साहले युवाहरुलाई कुटपीट र जरिवाना भराउने निर्णय सामुहिक रुपमा पञ्चायतीबाट गरिएको प्रतिक्रिया दिएका छन् । कुटपीट र जरिवाना गर्ने कार्यमा आफ्नो सहमती वा संलग्नता नरहेको बताउँदै उनले भने ‘जे भएको हो, समाजको निर्णय हो ।’
राष्ट्रिय
पञ्चायती व्यवस्था हट्यो तर पञ्चायती हटेन
बाँसको करचीले निर्मम कुटिए पाँच सदा युवा, ऋण काढेर तिर्न लगाईयो जरिवाना