Top_Header_Right_Add

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा जारी प्रेस विज्ञप्ती

तिलाठी कोइलाडी गाउँपालिकाद्वारा जारी प्रेस विज्ञप्ती

                                                                                                                                                                                                                                                                                                                     मितिः २०७७।०२।२८
                                                                                                                                                            प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
तिलाठी कोइलाडी गाउँपालिका मुलुकको राजनीतिक, कानुनी, साँस्कृतिक लगायत हरेक क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको कुरा यहाँहरुलाई अवगत नै छ । दशकौंसम्म विकास निर्माणमा पछाडि परेको विभिन्न साबिकका गाविसहरु मिलेर बनेको गाउँपालिकाको समग्र विकासका लागि हामी अहोरात्र खटिरहेका छौं । गाउँपालिकाको सबै वडाहरुमा सडकको स्तरोन्नति(माटो, ग्राभेल तथा ढलान कार्य), विपद् ब्यवस्थापन, सामाजिक तथा आर्थिक विकासका कार्य गर्नकालागि जनप्रतिनिधी तथा कर्मचारीहरु लागिपरेका छौं ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जनप्रतिनिधी तथा कर्मचारीहरुले अत्यधिक मिहिनेत साथ काम गरिरहेका छन् । यस्तो अवस्थामा भारतबाट आउने गरेका व्यक्तिहरुको होल्डिङ्ग सेन्टर संचालन, हेल्थ डेस्क संचालन गर्नुका साथै गाउँपालिका अन्तर्गत रहेका सबै वडाहरुमा कोभिड १९ सम्बन्धी जनचेतनामुलक माइकिङ समेत गरिरहेको अवस्थामा गाउँपालिकाका उपाध्यक्ष सुचिता कुमारी यादवले आफ्नो पदीय आचरणभन्दा बाहिर गएर विवादास्पद कार्य मात्र गर्ने गरिरहेकी छिन् । चुनाव जितेर आएपछि उपाध्यक्षले निर्वाह गर्नुपर्ने काम, कर्तब्य र दायित्व कहिल्यै निर्वाह नगरी सधैं ध्वंशात्मक प्रतिपक्षीको भूमिका मात्रै निर्वाह गरेकी छिन् । नेपाल सरकारले जारी गरेको चैत्र ११ गतेदेखिको लकडाउनको अवस्थामा कर्मचारीहरुले कसरी काम गरिरहेका छन्, उनीहरुले के कस्ता समस्या भोगिरहेका छन् जस्ता सबालमा कहिल्यै पनि उपाध्यक्षले कुनै पनि कर्मचारीसँग छलफल गरेकी छैनन् । बरु अहोरात्र खटिरहेका कर्मचारीहरुको मनोबल गिराउने काम मात्र गर्दै आएकी छिन् । कार्यालयमा आएर खाली हिसाब किताब खोज्ने, कर्मचारीहरुलाई धाकधम्की दिने, काममा बाधा उत्पन्न गर्ने जस्ता कार्य मात्रै गर्दै आएकी छिन् ।
आफ्नो गलत मानसिकताका कारण कलोलकल्पित तथा झुठा मनगढन्ते कुराहरुलाई लिएर सर्वोच्च अदालतमा समेत मुद्दा गरेकी थिइन् जुन खारेज भयो । गाउँपालिकाको कुनै पनि काममा आजसम्म सहयोग नगरेकी, सकारात्मक भावना नराखेकी उपाध्यक्ष यादवले नकारात्मक भावना र अरुको उक्साहटमा लागेर सधैं गाउँपालिकाको कामकाजमा बाधा उत्पन्न गर्दै आएकी छिन् । उपाध्यक्ष यादव आफू र उनका पति शिवनाथ प्रसाद यादवले समेत कहिले सह लेखापाललाई हात खुट्टा काटिदिने धम्की दिन्छन् भने कहिले अन्य कर्मचारीहरुलाई गाली गलौज गर्ने गरेका छन् । उपाध्यक्षका पति शिवनाथ प्रसाद यादवले सह लेखापाललाई दिएको धम्कीको विरोधमा जिल्ला प्रशासन कार्यालय सप्तरीमा उजुरी समेत दिइएको छ भने दोषी उपर कारबाही नगराएसम्म कर्मचारीहरुले उपाध्यक्षलाई बहिष्कार गर्ने निर्णय समेत गरेको छ ।

गाउँ सभाबाट अनुमोदन गरिएका योजनाहरु सञ्चालन गर्दा निर्णय बेगर योजना सञ्चालन गरी करोडौं रुपैयाँ भ्रष्टाचार ग¥यो भनी गलत आरोप लगाउने उपाध्यक्ष सुचिता कुमारी यादवले आफैले अनुगमन गरी योजना ठीक ढंगले सञ्चालन भएको भन्दा उनको नियत स्पष्ट भएको छ । आफैले अनुगमन गरेको योजनाहरुमा भ्रष्टाचार भएको भन्नु र आफूलाई केही पनि थाहा नहुनु भनी अभिब्यक्ति दिने उपाध्यक्षको मानसिकता र नियत यसैबाट स्पष्ट हुन्छ । विगतमा ५ करोड ६१ लाख रुपैयाँ भ्रष्टाचार गर्यो भनी भ्रामक र कपोलकल्पित कुराहरु पत्रकार सम्मेलनबाट उपाध्यक्ष यादवले आरोप लगाएकी थिइन् । उक्त योजनाहरुको बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महालेखा परीक्षकको कार्यालयको लेखा परीक्षण टिमले छुट्टाछुट्टै स्थलगत अनुगमन गर्दा कुनै पनि प्रकारको भ्रष्टाचार नभएको पाइएको थियो ।
आफू अनुकूल नभए सानो सानो कुरामा पनि कर्मचारीहरुसँग निहुँ खोज्ने उपाध्यक्ष मानसिकता नै नकारात्मक रहेको छ । आफू निकटका ब्यक्तिहरु रहेको उपभोक्ता समितिको काम समेत नहेरी कार्यालयमै बसी बसी अनुगमन प्रतिवेदनमा हस्ताक्षर गर्ने गरेकी उपाध्यक्ष यादवले अरु उपभोक्ता समितिले काम सम्पन्न गरेको महिनौं दिनसम्म आग्रह गर्दा पनि अनुगमन गर्न जाँदैनन् । जसले गर्दा पछिल्लो दिनमा विवाद हुँदा उपभोक्ता समितिका पदाधिकारीले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
लकडाउनको कारण मारमा परेका किसानको खेतमा रहेको गहुँ रिपर मेसिन मार्फत कटान गर्ने, सबै वडाहरुमा डिसइन्फेक्टेन्ट औषधि छर्किने कार्य, गैर नाफामूलक घुम्ती पसल सञ्चालन, एफएम मार्फत कक्षा सञ्चालन, ब्यवस्थित रुपमा क्वारेन्टीन सञ्चालन, कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको परिचालन, जिल्लास्थित सरोकारवालाहरुसँगको समन्वय तथा सहकार्य जस्ता योजना तथा कामहरुका कारण जिल्लामा राम्रो काम गरिरहेको भनी तिलाठी कोइलाडी गाउँपालिकाले चौतर्फी प्रशंसा पाइरहेको छ । दिन रात केही नभनी कर्मचारीहरु कोभिड १९ रोकथाम तथा नियन्त्रणको क्षेत्रमा प्रतिबद्ध भएर काम गरिरहेको अवस्थामा कर्मचारीहरुको मनोबल बढाउनुको साटो उपाध्यक्ष यादवले विभिन्न खाले दबाव दिने गरेकी छिन् । अनावश्यक कुरामा पनि कर्मचारीहरुलाई मानसिक तनाब दिने गरेकी छिन् । कामको क्रममा कस्तो समस्या छ के गरिदिनु पर्छ भनी कर्मचारीहरुसँग सोध्नु भन्दा पनि कर्मचारीलाई मानसिक रुपमा प्रताडित गर्ने काम मात्र गर्ने गरेकी छिन् ।
सरकारले तोकेको गुणस्तर र मापदण्ड बमोजिम चार सय बेड क्षमताको दुई वटा क्वारेन्टीन सञ्चालन गरिरहेको अवस्थामा अझ सुधार गर्नुपर्ने कुरालाई औंल्याउनुभन्दा पनि क्वारेन्टीनमा बसेका ब्यक्तिहरुलाई उक्साउने, भड्काउने काम उपाध्यक्ष यादव र निजका पतिले गर्दै आएका छन् ।
गाउँपालिकाले टेन्डर बाहेक कुनै पनि उपभोक्ता समितिबाट विकास निर्माणको काम गरिरहेको छैन । कोभिड १९ को सन्दर्भमा अर्थ मन्त्रालयले विभिन्न शीर्षकको बजेट रोक्का गरी कोरोना रोकथाम तथा नियन्त्रणमा लगाउन परिपत्र गरेपछिका दिनमा कुनै पनि नयाँ काम गाउँपालिकाले सुरु नगरेको अवस्था छ । यस्तो अवस्थामा उपाध्यक्ष यादवले विभिन्न ठाउँमा माटो तथा ग्राभेलको काम कुन योजनाबाट र कहाँको पैसाबाट गरिरहेकी छिन् सो कुरा उनले स्पष्ट पार्नु आवश्यक छ ।
उपाध्यक्ष संयोजक हुने प्रावधान रहेको न्यायीक समितिको काम सुस्त छ । न्यायकालागि सयौं जनाले दिएको निवेदन त्यतिकै थन्किएको छ । यस सम्बन्धमा पटक पटक भन्दा पनि वेवास्ता गरिरहेकी छिन् । उपाध्यक्षले गर्नुपर्ने काम, कर्तब्य निर्वाचित भएदेखि हालसम्म पनि गरेकी छैनन् । कार्यालयको काम कारबाहीमा सहजता ल्याउने, सहजीकरण गर्ने भन्दा पनि कार्यालयलाई हानी नोक्सानी हुने, बदनामी हुने जस्ता कामहरु मात्र उपाध्यक्षले गर्दै आएकी छिन् ।
सह लेखापाललाई बारम्बार धम्की दिने गरेकाले उनी कार्यालयमा आएर काम गर्न डराएका छन् । जसले गर्दा गाउँपालिकाको काम काज सहज ढंगबाट हुनमा कठिनाई उत्पन्न हुने गरेको छ । उपाध्यक्ष यादवका पति शिवनाथ प्रसाद यादवले यस गाउँपालिकाका सह लेखापाललाई हात खुट्टा काटिदिने धम्की दिएको र सो को विरोधमा कर्मचारीहरुले कारबाही गर्न दिएको निवेदन उपर अबिलम्ब कारबाही गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीलाई ध्यानाकर्षण गराउँदछु ।

सतिश कुमार सिंह
अध्यक्ष

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer