• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

लकडाउन खुल्ला गरिएको छैन, अवज्ञा गर्नेलाई कार्वाही हुन्छः सिडिओ

लकडाउन खुल्ला गरिएको छैन, अवज्ञा गर्नेलाई कार्वाही हुन्छः सिडिओ

राजविराज, २८ जेठ । विगत केही दिनयता सप्तरी जिल्लामा लकडाउनको अवज्ञा गरी बजारहरु पूर्ण रुपमा खुल्न थालेपछि पुनः प्रहरी लकडाउन पालना गराउन सक्रिय भएका छन् ।
नेपाल सरकारद्वारा जारी लकडाउनको अवज्ञा गरी बजार खुल्न थालेका कारण बजारमा चहल–पहल बढेपछि सप्तरी प्रशासनले पुनः नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेको हो । जिल्लाको राजविराज लगायत मुख्य बजारमा रहेका पसल–व्यवसायहरु पूर्ण रुपमा खुल्ला भएपछि भींडभाड बढ्दै गएकोले लकडाउन पालना गराउन प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले जानकारी दिएका छन् ।
जिल्लामा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या बढ्दै गईरहेको अवस्थामा आम नागरिकलाई थप स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दैै उनले भने ‘अत्यधिक भींडभाडले कोरोनाको जोखिम बढाउनसक्ने सम्भावना छ, त्यसैले नेपाल सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न गराउन आग्रह छ ।’ सप्तरीमा केही दिनदेखि बजार पूर्ववत रुपमा सञ्चालन हुँदै आएको थियो भने प्रहरी उपस्थिति समेत नदेखिएकोले आमजनता लकडाउन खुल्ला भएको सन्देश गएको छ नि ? भनी जिज्ञासामा प्रमुख जिल्ला अधिकारी आचार्यले भने ‘हामी बजार पसल खोल्न छुट दिएका छैनौं, नेपाल सरकारको आह्वान अनुसार लकडाउन सबैले पूर्ण रुपमा पालना गरौं ।’
विहान ७ बजेदेखि ११ बजेदेखि बजार पसलहरु खोल्न समय तालिका निर्धारण गरिएको भनी व्यापारीहरुको बुझाई छ नि ? भने प्रश्नमा प्रमुख जिल्ला अधिकारीले आचार्यले बजार पसल खोल्नकालागि सप्तरी उद्योग वाणिज्य संघले हामीलाई आग्रह गरे पनि अनुमति चाहीं नदिएको बताए । खाद्यान्न, तरकारी लगायत अति आवश्यक बाहेकका पसलहरु मात्र सामाजिक दूरीको पालना गर्नुका साथै अनिवार्य मास्क, सेनिटाइजर लगायतको प्रयोग गरी खोल्न पाउने जानकारी दिँदै उनले भने ‘अति आवश्यक बाहेकका पसलहरु खोल्न पाईदैन, यदी लकडाउनको पालना नगरेको पाईएमा नियमानुसार जोसुकैलाई कार्वाही गरिनेछ ।’