बृजमान तामाङ
धनगढी, २७ जेठ । सिराहाको धनगढी नगरपालिकामा बहालवाला कर्मचारी निर्माण उपभोक्ता समितिको पदाधिकारी भएको पाएको छ ।
नगरपालिकाको वडा नम्बर १४ स्थित मदन भण्डारी स्मारक पर्यटकीय ( राईरैनी) योजनाको उपभोक्ता समितिको पदाधिकारीमा नियम बिपरित कर्मचारीहरुको संलग्न भएको पाईएको हो । मदन भण्डारी स्मृति माध्यमिक विद्यालय अम्बासका प्रधानाध्यापक महेश्वर प्रसाद मण्डल सचिब र राहत शिक्षिका रेखा कुमारी राई कोषाध्यक्ष उक्त उपभोक्ता समितिमा रहेको रहस्य खुलेको छ ।
यसैगरी सोही विद्यालय ब्यबस्थापन समितिको अध्यक्ष सुवास हमाल, निर्माण उपभोक्ता समितिको अध्यक्ष छन् । धनगढी नगरपालिकाका वडा नम्बर १४ का वडा अध्यक्ष ठरेन्द्र बहादुर राईले कार्यबिधिलाई चुनौती दिदै बहालवाला सरकारी कर्मचारी एबम् सर्वजानिक पदधारण गरेको व्यक्ति रहेको उपभोक्ता समिति गठन गरेको छ ।
प्रदेश नम्बर २ को शसर्त अनुदानको २५ लाखको लागतमा बन्न लागेको पर्यटकीय स्मारकको योजनामा कमाउने प्रलोभनमा कार्यबिधीको उल्लंघन गरेर उपभोक्ता समिति गठन गरेको श्रोतको दाबी छ । नगरपालिकाको उपभोक्ता गठन कार्यबिधी अनुसूची २ दफा १ बमोजिम जनप्रतिनिधि, दलका पदाधिकारी, बहालवाला सरकरी कर्मचारी, शिक्षक उपभोक्ता समितिमा बस्न पाईने छैन भनी उल्लेख छ ।
कार्यबिधिको धज्जी उडाउदै बाहालवाला शिक्षक र विद्यालय ब्यबस्थापन समितिको अध्यक्षलाई निर्माण उपभोक्ता समितिमा चयन गरेको भन्दै स्थानीयबासीले बिरोध जनाएका छन् । स्थानीयका अनुसार उपभोक्ता समितिका सचिब प्रधानाध्यापक मण्डल नगरपालिका बाहिरका र कोषाध्यक्ष शिक्षिका राई वडा बाहिरका हुन् । उपभोक्ता समिति गठनमा समेत छलकपट गरेको देखिएको छ ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष हमाल, प्रधानाध्यापक मण्डल र शिक्षिका राईको बास्तबिकता लुकाउने प्रयास भएकोले उक्त उपभोक्ता समिति गठन रहस्यमय रहेको आशंका गरिएको छ । यसबारे नगरप्रमुखसँग बुझ्ने प्रयास गर्दा सम्पर्क हुन सकेन ।