• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

थप सावधानी अपनाउनुपर्नेमा लकडाउनको उल्लंघन

थप सावधानी अपनाउनुपर्नेमा लकडाउनको उल्लंघन

गत चैत ११ देखि सरकारले घोषणा गरेको लकडाउन अहिलेसम्म पनि कायमै छ । कोरोना संक्रमण नियन्त्रणकालागि लकडाउन घोषणा गरिएपछि यसबाट जनजीवनमा सकस त आएकै छ । यसका साथसाथै धेरैको रोजगारीमाथि पनि संकट आएको छ । कोरोना महामारीले विश्वव्यापी रुपमा लाखौलाई प्रभावित तुल्याएको छ ।
धेरैले मृत्यु बरण गर्नु परिसकेको छ । नेपालमा पनि कोरोना संक्रमणबाट निकै प्रभावित हुन थालेका छन् । यस्तो बेलामा सामाजिक दूरी कायम राख्नाका साथै सुरक्षाका उपायमा ध्यान दिन जरुरी छ । सामाजिक दूरी कायम राख्नकालागि नै लकडाउनको घोषणा गरिएको भए पनि केही दिन यता राजविराजमा लकडाउनको व्यापक उल्लंघन हुन थालेको छ ।
सप्तरीमा पनि कोरोना संक्रमितहरु बढेको बढ्यै छन् । यस्तो समयमा अझै बढी साबधानी अपनाउनु पर्नेमा हाटबजारमा भिड लाग्न थालेको छ । सरकारले लकडाउन कायमै राखेको समयमा राजविराजको अवस्था हेर्दा लकडाउन छ भन्ने पत्याउन गाह्रो हुने अवस्था छ । सबै प्रकारका पसल व्यवसाय सञ्चालनमा रहेको र मानिसको आवागमन व्यापक हुन थालेका कारण लकडाउन छ भनेर पत्याउने अवस्था नरहेको हो । बजारमा किनमेलकालागि निस्कनेहरु मध्ये कतिपयले मास्क समेत नलागाएको,पसलमा सेनिटाईजर नराखिकनै पसल सञ्चालन गरेको जस्ता कारणले संक्रमण तिब्र रुपमा फैलने जोखिम बढेर गएको छ ।
बजार तथा सार्वजनिक स्थलमा सुरक्षाकर्मीको संख्या पनि पातलिँदै गएका कारणले मानिसहरु निर्बाध रुपले आबागमन गरिरहेको देखिन्छ । स्थानीय प्रशासनले लकडाउन फिर्ता नलिएको बताईरहँदा त्यसको पालना गराउने मामिलामा चाहिँ कतै उदासिनता देखाईरहेको त छैन भन्ने आशंका समेत बढ्दो छ । लकडाउन फिर्ता लिने वा त्यसको स्वरुपमा परिवर्तनको घोषणा नै नभईकन किन यसरी मानिसको हुल बजारमा निस्कन थालेको छ अनि सुरक्षाका उपायय पनि नअपनाई जथाभावी हिँडडुल भईरहेको छ भन्ने विषयमा चासो राख्ने दायित्व प्रशासनको पनि हो ।
राजविराजमा अहिले बजारमा देखिने भिडभाडले यहाँ संक्रमण तिब्र गतिमा फैलने जो कोहीले सहजै अनुमान लगाउन सक्ने भएका कारण यस बारेमा प्रहरी प्रशासनको सक्रियता जरुरी देखिन्छ । संक्रमण फैलन समय लाग्दैन तर,फैलिसकेपछि त्यसको नियन्त्रणकालागि ठूलो मिहिनेतको आवश्यकता पर्दछ । सर्वसाधारणको स्वास्थ्यसित जोडिएको यस्तो सम्बेदनशील विषयमा पनि हेलचेक्रयाइँ गरिन्छ यदि भने कोरोना संक्रमण नियन्त्रणकालागि सरकारले लिएको संकल्प कसरी पूरा हुन सक्ला ?