राजविराज, २५ जेठ । जिल्ला प्रशासन कार्यालय सप्तरीद्वारा आइतवार नेपाल पत्रकार महासंघ शाखा सप्तरीलाई स्वास्थ्य सुरक्षा सम्वन्धी सामग्री उपलब्ध गराईएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले दैनिक रिपोर्टिङ्गमा खटिने पत्रकारहरुको सुरक्षाकालागि केएन ९५ एक सय थान, ग्लोभ्स एक सय थान र स्यानिटाइजर ५० बोतल उपलब्ध गराएका हुन् । उक्त सामग्री नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गालाई हस्तान्तरण गरेका छन् । पत्रकारहरुकालागि स्वास्थ्य सुरक्षा सम्वन्धी सामग्री उपलब्ध गराएकोमा उनले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिएका छन् ।
सोही अवसरमा प्रमुख जिल्ला अधिकारी आचार्यले उपस्थित पत्रकारहरुसँग परिचय गर्दै जिल्लाको विविध पक्षहरुबारे जानकारी लिएका छन् । गृह मन्त्रालयबाट उनी चार दिन अघि सरुवा भएर सप्तरी आएका हुन् । नव आगन्तुक सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरे समेतले पत्रकारहरुसँग परिचय गरेका छन् । कार्यक्रममा प्रशासन कार्यालयका प्रवक्ता आनन्द ठाकुर समेतको उपस्थिति थियो ।