• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

शुरु भयो राजविराजमा कोरोना परीक्षण प्रयोगशाला

पहिलो लटमा २२ जनाको स्वाब परीक्षण हुँदै
शुरु भयो राजविराजमा कोरोना परीक्षण प्रयोगशाला

राजविराज, २५ जेठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा कोभिड–१९ परीक्षण प्रयोगशालामा स्वाब परीक्षण कार्य आइतवारदेखि शुरु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा प्रदेश २ को सामाजिक विकास मन्त्रालयबाट खटिएको टोलीद्वारा रियल टाइम पिसिआर मेसिन जडान कार्य तथा डेमो गरिसकेपछि औपचारिक परीक्षण कार्य थालिएको हो । राजविराज नगरपालिका स्थित क्वारेन्टाइनबाट २२ जनाको स्वाब संकलन गरी परीक्षण शुरु गरिएको छ ।
संकलित स्वाब अबेर राती परीक्षणको प्रक्रियामा राखिएकोले आजै रिपोर्ट आउने अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् । अन्यत्रबाट स्वाब रिपोर्ट आउन एक हप्तासम्म लाग्ने गरेकोले राजविराजमै परीक्षण कार्य शुरु भएकोले अब सहज हुने उनको भनाई छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासका अनुसार प्रयोगशालामा माइक्रो बायोलोजिष्ट, मेडिकल टेक्नोलोजिष्ट, ल्याब टेक्नेसियन, ल्याब असिस्टेन्ट र सहयोगी समेत गरी १० जना जनशक्ति परिचालित भएका छन् । प्रदेश नम्वर २ को सामाजिक विकास मन्त्रालय जनकपुरले गजेन्द्रनारायण सिंह अस्पतालकालागि पिसिआर मेसिन पठाई आवश्यक व्यवस्थापनको समेत प्रबन्ध मिलाएको छ । अस्पताल परिसरमा रहेको प्रयोगशाला भवनमै सञ्चालन हुने उक्त मेसिनमा ९६ ओटा क्यासेट लाग्ने अर्थात एक पटकमा ९६ जनाको स्वाब परीक्षण गर्नसक्ने क्षमता रहे पनि शुरुमा केही कम स्वाबको स्याम्पल परीक्षण गर्दै दायरा समेत विस्तारै बढाईदै लगिने अस्पतालका कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झाले जानकारी दिएका छन् ।
राजविराजमा प्रयोगशाला नहुँदा स्वास्थ्य कार्यालय सप्तरी र अस्पतालमा संकलन गरिएका स्वाब धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईदैआएको थियो । उनका अनुसार त्यहाँबाट स्वाब रिपोर्ट आउन १० दिनसम्म लाग्ने गरेकोले परीक्षण कार्यले गति लिन नसकेकोमा अब राजविराजमै परीक्षण हुने भएपछि कोरोना पहिचान कार्यमा तीब्रता पाउनुकासाथै जिल्लावासीलाई सहज समेत हुनेछन् ।
सप्तरी जिल्लामा भारतबाट आएका एक हजार ८ सय २ जनालाई क्वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिएका छन् । धरान र बिराटनगर पठाईएको तीन सय ७२ जनाको स्वाब रिपोर्ट आउन बाँकी रहेको छ ।