• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका पहिलो संक्रमित डिस्चार्ज, खुशी हुँदै आइसोलेसनबाट बाहिरिए(फोटो फिचर)

अस्पतालमै भव्य स्वागत
सप्तरीका पहिलो संक्रमित डिस्चार्ज, खुशी हुँदै आइसोलेसनबाट बाहिरिए(फोटो फिचर)

राजविराज, २२ जेठ । सप्तरीका पहिलो कोरोना भाइरस संक्रमित युवा निको भएर विहीबार राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट डिस्चार्ज भएका छन् ।
डाक्नेश्वरी नगरपालिका वडा नम्वर–३ हटेल गाउँका १८ वर्षिय नसिम हुसेन २५ दिन अस्पतालको आइसोलेसनमा बसेर निको भई डिस्चार्ज भएका हुन् । अस्पतालबाट डिस्चार्ज भएका उनलाई अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दास, कोभिड १९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झासहितका स्वास्थ्यकर्मीहरुले फूल, माला, अबीर र खादा लगाएर स्वागत गरेका छन् । हातमा झोला बोकेका उनी खुशी हुँदै आइसोलेसनबाट बाहिर निस्किएका थिए ।
कोरोना पोजेटिभ आएपछि नसिम गत वैशाख २९ गते अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । उनको स्वाब संकलन गरी जेठ ११ र १७ गते पिसिआर परीक्षण गराउँदा नेगेटिभ आएको थियो । दुवै पटक परीक्षण गराउँदा नेगेटिभ आएकोले उनलाई भब्य स्वागत गर्दै डिस्चार्ज गरी घर पठाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
ती युवकमा कोरोना भाइरसको कुनै लक्षण देखिएको थिएन । गत वैशाख ९ गते १३ जनाको समूहमा सप्तरी आईपुगेका उनलाई डाक्नेश्वरी नगरपालिकाको पातो स्थित क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोना भाइरसलाई आफु जित्न सफल भएकोमा सहयोग गर्ने चिकित्सक, स्वास्थ्यकर्मी लगायत सबै पक्षलाई नसिमले धन्यवाद सहित आभार व्यक्त गरेका छन् । कोरोना भाइरसबाट नडराई सचेत एवम् सजग भएर सामना गरिए जित सुनिश्चित रहेको बताउँदै उनले भने ‘मलाई शुरुमा अलि डर त भयो तर पछि डराउनु हुँदैन, म जित्न सक्छु, मलाई केही भएको छैन भनी उच्च आत्मबलका साथ आइसोलेसनमा बसेँ, आज निको भएर घर फर्किदैछु, मेरो खुशीको सिमा नै छैन ।’
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवका अनुसार हाल सप्तरी जिल्लामा कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।