• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सामूहिक पूजाले कोरोना जोखिम बढाउँदै, न सामाजिक दूरी नत मास्कको प्रयोग

सामूहिक पूजाले कोरोना जोखिम बढाउँदै,  न सामाजिक दूरी नत मास्कको प्रयोग

राजविराज, २१ जेठ । विश्वभरी कोभिड–१९ कोरोना भाइरसको महामारीबाट जोगिन सावधानीहरु अपनाईरहँदा सप्तरीसहित तराई–मधेशका जिल्लाहरुमा कोरोनाको पूजा गर्ने होडबाजी चलेको छ ।
गाउँ तथा टोलका महिलाहरुले लकडाउनको समेत धज्जी उडाउँदै हुलका हुल बनाएर सामाजिक दूरीसम्म कायम नगरी बिना मास्क कोरोनालाई देवीको रुपमा पूजाआजा गर्न थालेका हुन् । हल्लैहल्लाको पछि लागेर महिलाहरुले गाउँ–टोलका महिलाहरु डालामा लड्डु, केरा, पान, सुपारी, दही, चिउरा, अगरबत्ती ईत्यादी राखेर डिहबार (ग्राम देवता)कहाँ गई अराधना गर्दै नदी, गाउँको सिमाना वा खुल्ला ठाउँमा गई पूजाआजा गर्ने लहर चलेको छ ।
कोरोनालाई देवी मानेर पूजाआजा गरी हाम्रो गाउँ–टोलमा प्रवेश नगर्नु भनी विन्ती गरेपछि कोरोना नआउने हल्ला अनुसार नै महिलाहरुले पूजाआजा गर्न थालेका छन् । कतिपय टोलका महिलाहरुले नदीमा गई दियो समेत बाल्ने गरेको एक महिला बताउँछन् । उनका अनुसार ‘एक महिलाले सपनामा कोरोना आएर मलाई पूजा गर्नु अनि म गईहाल्छु’ भनी हल्ला चलेपछि तराई मधेशका गाउँहरुमा कोरोना पूजनको होडबाजी चलेको हो ।
हालसम्मको प्राप्त जानकारी अनुसार मधेशका केही स्थानहरुमा कोरोनालाई ‘बाबा’ त ‘माता’ इत्यादी भनी सम्वोधन गरी पूजाआजा गर्ने गरिएको छ । लकडाउनमा घरबाट ननिस्किनुपर्ने अवस्था रहँदा पनि त्यसलाई तोडेर महिला कोसौं दूरी तय गरेर पूजाआजामा व्यस्त भएका छन् । पूजामा सहभागी सप्तरीको राजविराज नगरपालिकाकी रानी देवी साह भन्छिन् ‘देउता रिसाएर कोरोना भाइरस आएको हो कि भनेर हामीले कोरोनाको पूजा गरेका हौं, सबैले पूजा गर्न थालेकोले मैले पनि गरेको हुँ ।’
चिकित्सकको सुझाव
यस्तै हल्लैहल्लाको पछि लागेर पूजा गर्ने महिलाहरुको जमात दिनानुदिन बढ्दै गईरहँदा पनि सम्वन्धित सरोकारवाला निकायले रोक्नुपर्ने चिकित्सकहरुको तर्क छ । कोरोना भाइरसबाट जोगिनकालागि लकडाउनको पूर्ण पालना गरी सतर्कता अपनाउनुपर्नेमा अन्धविश्वास एवम् हल्लैहल्लाको पछाडि लागेर जोखिम बढाएको राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालका कोभिड–१९ व्यवस्थापन संयोजक डा. रणजित कुमार झा बताउँछन् ।
‘भेला भएका महिलाहरुले सामान्य सामजिक दूरी समेत कायम नगरी मास्कसम्म नलगाएर सिङ्गो गाउँटोल नै कोरोना भाइरस सार्न सक्ने सम्भावना बढेको छ’ उनी भन्छन् ‘हालसम्म समुदायमा कोरोना भाइरस विस्तार नभएको अवस्थामा अविलम्ब यस्ता भ्रम एवम् अन्धविश्वासी कार्यलाई रोक्नु जरुरी छ, यस्ता गलत कार्यले करिब सवा तीन महिनाको लकडाउनको कष्टप्रद अवस्थालाई पलभरमै भत्काएर कोरोना सार्ने माध्यम बन्न सक्ने जोखिम बढेको छ, देवी देउताको नाममा कोरोना जोखिम बढाउने कार्य अविलम्ब बन्द होस् ।’ यस्तो विषमपूर्ण अवस्थामा समाजका अगुवा एवम् शिक्षितवर्गले पहलकदमी लिएर कोरोनाको जोखिमबाट जोगाउन तत्काल पहल थाल्न तथा सुरक्षाकर्मीहरुले समेत यस्ता कार्य गरेकोमा देखेमा अविलम्ब रोक्न डा. झाको आग्रह छ ।
इतिहास एवम् संस्कृतिविद्को भनाई
देवी–देवताको नाममा भईरहेको कोरोना पूजन कार्यले कोरोना महामारी निर्मूल हुने जनविश्वास गलत रहेको ईतिहासविद् प्राध्यापक डाक्टर पिताम्बरलाल यादव बताउँछन् । मिथिला–मधेशको हाम्रो ग्राम्य जिवन लोकआस्थामा विश्वास राख्ने गरेको जानकारी दिँदै उनी भन्छन् ‘गाउँटोलमा कुनै आपत–विपत आउँदा डिहबार तथा देउतालाई पूजा गर्ने गरिन्छ तर कोरोना विश्वभरी नै फैलिएको छ, त्यसैले पूजै गरेर कोरोना भगाउने कार्य उपयुक्त एवम् विज्ञानसङ्गत छैन, यद्यपी पूजा गर्नु नै छ भने सामाजिक दूरी, मुखमा मास्क, बढीमा पाँच जना भन्दा बढीको समूह हुनुहुँदैन ।’ समाजमा सचेतना अझंै आवश्यक रहेको स्थानीय तहहरुले समेत यसतर्फ ध्यान दिनुपर्ने डा. यादवको भनाई छ ।